Skip This
गौतम बुद्ध क्रिकेट रंगशालामा ३० महिनाभित्र १० हजार क्षमताको प्यारापिट बन्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
भरतपुर महानगर प्रमुख रेनु दाहाल र कम्पनीका विकास गौतमबीच सम्झौतापत्र आदान–प्रदान गर्दै
२o८१ असार २४ सोमबार o७:११:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गौतम बुद्ध क्रिकेट रंगशालामा ३० महिनाभित्र १० हजार क्षमताको प्यारापिट बन्ने

बिबिआर जेभीले पायो रंगशालाको पहिलो चरणको काम गर्ने ठेक्का

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o७:११:oo

राष्ट्रिय गौरवको आयोजनामा समावेश गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र ललितपुरको निर्माण कम्पनी हिमालयन कालिञ्चोक बिबिआर जेभीबीच आइतबार सम्झौता भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीका विकास गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

महानगर प्रमुख रेनु दाहाल र कम्पनीका गौतमले सम्झौतापत्र आदान–प्रदान गरेका छन् । सम्झौताअनुसार सम्झौता भएको दिनबाट रंगशालाको पहिलो चरण निर्माण कार्य ३० महिनाभित्र सक्नुपर्नेछ । ०८३ पुस २२ सम्म पहिलो चरणका काम सक्नुपर्ने उल्लेख गरिएकोछ । रंगशाला निर्माणको लागत भ्याट र पिएससहित ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बताए ।

महानगरले रंगशाला निर्माणका लागि दोस्रोपटक बोलपत्र आह्वान गर्दा १२ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । जसमध्ये बिबिआर जेभी कम्पनीलाई छनोट गरिएको अर्यालले बताए । ‘हामीले सात दिनको सूचना निकालेका थियौँ । प्रक्रियामा चित्त नबुझेका कम्पनीहरूले यो अवधिभित्रमा उजुरी दिएनन् । त्यसपछि सम्झौता भएको हो,’ अर्यालले भने । गत १७ फागुनमा महानगरले ३० दिनको म्याद राखेर रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । 

त्यसवेला एउटा मात्रै कम्पनीले बिड गरेपछि त्यो प्रक्रिया विवादित बन्यो । महानगरले सो प्रक्रियालाई रद्द गरी पुनः ३ जेठमा पुनः टेन्डर आह्वान गरेको थियो । जसमा बिबिआर जेभी छनोट भएको हो । गत २३ कात्तिकमा मन्त्रिपरिषद्को बठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सहकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो । सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत रंगशालालाई प्राथमिकतामा राखेको थियो । 

बजेट कहाँबाट आउँदै छ ? 
रंगशाला निर्माण गर्न आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको मेयर रेनु दाहालले बताइन् । भरतपुर महानगरपालिकाले पनि रंगशालाको अधुरो काम पूरा गर्न भनेर आगामी वर्षका लागि चार करोड ३० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । संघीय सरकारले २५ करोड र बागमती प्रदेश सरकारले १० करोड छुट्याउनेछन् । यही आर्थिक वर्षमा बागमती प्रदेश सरकारको पाँच करोड रकम विनियोजन गरेको र थप दुई करोड छुट्टिएको आचार्यले बताए । प्रदेश र केन्द्र सरकारकै साझेदारी र सहकार्य गरेर महानगरपालिकाले रंगशाला निर्माण गर्ने महानगरपालिका प्रमुख रेनु दाहालले बताउँदै आएकी छिन् ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले यो रंगशाला निर्माणको काम थालेको थियो । फाउन्डेसनले ०७५ माघमा भरतपुर–१६ मा रहेको २० बिघा १९ कट्ठा जमिनमा रंगशाला निर्माण गर्ने गरी सम्झौता गरेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जमिनमा रंगशाला निर्माण गर्दै गर्दा आर्थिक अभाव भएपछि फाउन्डेसनले हात झिकेको हो ।०७८ साउन २२ मा आर्थिक अभाव देखाउँदै फाउन्डेसनले रंगशाला निर्माणको काम रोकेको थियो ।

काम रोकिँदा रंगशालाको निर्माण काम लगभग ३९ प्रतिशत सकिएको फाउन्डेसनको दाबी थियो । गत २३ कात्तिकमा मन्त्रिपरिषद्को बैठकले रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सरकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।

कस्तो बन्नेछ रंगशाला ?
सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण कार्य अगाडि बढाएको थियो । फाउन्डेसनले काम गर्न नसक्ने भएपछि यसको स्वामित्व लिन भरतपुर महानगरलाई आग्रह गरेको थियो । अहिले बन्ने रंगशाला फाउन्डेसनको डिजाइनभन्दा फरक संरचनामा बन्ने जनाएको छ । ‘धुर्मुस–सुन्तली फान्डेसनले कमलफूल आकारमा बहुपक्षीय रंगशालाका रूपमा यसको परिकल्पना भएको थियो,’ महानगरअन्तर्गत सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यले भने, ‘पहिलो चरणमा बन्ने रंगशाला १५ हजार दर्शक अट्ने क्षमताको मात्र निर्माण हुनेछ ।’

उनका अनुसार रंगशालामा मैदानसहित पाँचवटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, दुईवटा तीन–तीन तलाको टावर बनाइनेछ । नयाँ सम्झौताअनुसार १० हजार क्षमताको प्यारापिट निर्माण हुनेछ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण कार्य रोक्नुअघि पाँच हजार क्षमताको प्यारापिट निर्माण भइसकेको छ । 

थप बजेट रकमान्तर गर्ने बागमतीको निर्णय

बागमती प्रदेश सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई करिब दुई करोड रुपैयाँ बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निर्माणाधीन रंगशालाका लागि एक करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षका लागि सो रकम भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको हो ।
प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच गत ०८० कात्तिक २१ गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट ७५ करोड रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो । सम्झौताअनुसार आइतबार बागमती प्रदेश सरकारले एक करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले रंगशाला निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट पठाइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । थप गरिएको एक करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्ने गरी रकमान्तर गरिने उनले बताए । 

एमालेका मन्त्रीहरू सहभागी भएनन्
मन्त्रिपरिषद् बैठकमा एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरू सहभागी भएनन् । केन्द्रीय सत्तासमीकरणबाट बाहिरिइसकेका एमालेका मन्त्रीहरूले सरकारबाट राजीनामा दिएका छैनन् । एमालेले समर्थन फिर्ता लिएको छैन । बैठकमा एमालेका पाँचैजना मन्त्री अनुपस्थित रहे । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित माओवादी केन्द्रका चारजना र एकीकृत समाजवादीका तीनजना मन्त्री उपस्थित रहेका थिए । बैठकमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य पनि अनुपस्थित रहेका थिए । सोमबार बिहान १० बजे राजीनामा बुझाउने तयारी गरेका एमालेका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा उपस्थित भएनन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सोमबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर राजीनामा बुझाउने तयारी भएको जानकारी दिए ।