Skip This
ललितपुर सुन तस्करी अनुसन्धानमा सिआइबीको प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असार २४ सोमबार o७:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर सुन तस्करी अनुसन्धानमा सिआइबीको प्रवेश

क्रिप्टोमार्फत भुक्तानी, सुन गाल्न प्रयोग भएका चारवटा फ्ल्याट फेला

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o७:o६:oo

ललितपुरबाट अवैध सुनसहित पक्राउ परेका भारतीय नागरिकको ‘कनेक्सन’ चिनियाँ तस्करसँग रहेको खुलेपछि घटनाको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रवेश भएको छ । तस्करी घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार र शनिबार चलाएको अपरेसनमा दुई नेपालीसहित चार भारतीय नागरिक पक्राउ परेका थिए । यसक्रममा प्रहरीले सुन गाल्ने उद्देश्यले प्रयोग गरिएको चारवटा फ्ल्याटसमेत फेला पारेको थियो । पक्राउ परेकामध्ये भारत महाराष्ट्र साङ्ले आडवारी थानाका २८ वर्षीय युवराज विभुतेको सम्बन्ध चिनियाँ तस्करसँग रहेको खुलेपछि अनुसन्धानमा सिआइबीसमेत सहभागी भएको हो ।

सिआइबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले ललितपुरबाट सुनसहित पक्राउ परेका अभियुक्तको सम्बन्ध चिनियाँ तस्करसँग रहेको खुलेपछि घटनाको अनुसन्धान सिआइबीबाट भइरहेको बताए । ‘ललितपुर प्रहरीले अवैध सुनसहित केही भारतीय नागरिक पक्राउ गरेको थियो । सुन गाल्न प्रयोग भएको चारवटा फ्ल्याट पनि फेला परेको थियो । घटना संगठित प्रकृतिको देखिएपछि ललितपुर प्रहरीले सिआइबीको सहयोग माग्यो । नभन्दै पक्राउ परेका अभियुक्तको सम्बन्ध चिनियाँ तस्करसँग रहेको प्रारम्भिक अनुसन्धानबाट देखियो,’उनले भने ।

प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका अभियुक्तले तस्करी गरिएको सुनको मुल्य क्रिप्टो करेन्सी(युएसडिटी)मार्फत भुक्तानी गर्दै आएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ७५ हजार अमेरिकी डलर क्रिप्टोमार्फत चिनियाँ नागरिकलाई भुक्तानी गरेको खुलेको छ । यसक्रममा चिनियाँ नागरिकसँग वी च्याट र ह्वाट्स एपमा भएका संवाद फेला परेका छन् । ललितपुर परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले पक्राउ परेका अभियुक्तले कारोबार क्रिप्टोमार्फत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘सुन तस्करीमा संलग्न भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूले तस्करी गरिएको सुनको भुक्तानी क्रिप्टोमार्फत दिने गरेको खुलेको छ । त्यसो हुँदा घटनामा संलग्न अभियुक्त ठूलै गिरोहको सदस्य रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । नयाँ तथ्य खुल्दै जालान्,’ उनले भने ।

प्रहरी परिसर ललितपुरले शुक्रबार ललितपुर महानगरपालिका– १४ ताल्चीखेलबाट विभुतेलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले ताल्चीखेलमै सुन गाल्न प्रयोग गरिएको फ्ल्याट फेला परेको थियो । फ्ल्याटबाट सुन गाल्ने र जाँच गर्ने मेसिन, जोख्ने तराजुलगायत सामग्री बरामद भएको थियो । उनकै बयानपछि प्रहरीले घटनामा संलग्न भारत महाराष्ट्र साङ्ले आडबारी थानाका २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिशेष विभुते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ का २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुर महालक्ष्मी नगरपालिका– ८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ गरेको थियो । 

उनीहरूकै बयानपछि घटनामा अर्का भारतीय नागरिक पृथ्वीराज विभुते र विजय सम्पत खिलारी पनि पक्राउ परेका छन् । प्रहरीले सुन गाल्न प्रयोग गरिएका थप तीनवटा फ्ल्याट पनि फेला परेको छ । प्रहरीले काठमाडौं टोखा नगरपालिका– ५ मैत्रीचोकमा पनि फ्ल्याट फेला पारेको हो । त्यस्तै, ललितपुरको पाटन र ताल्चीखेलमा अर्को थप फ्ल्याट फेला परेको छ । सबै फ्ल्याटमा सुन गाल्ने, जाँच गर्ने मेसिन र जोख्ने तराजु फेला परेका छन् । 

‘पक्राउ परेका अभियुक्तले सुन गाल्न प्रयोग गरेको चारवटा फ्ल्याट फेला परेका छन् । फ्ल्याटमा सुन गाल्ने मेसिन, जोख्ने तराजु, जाँच गर्ने मेसिन फेला परेका छन् । सामान्य व्यवसाय गर्ने व्यापारीलाई सुन गाल्न यति धेरै फ्ल्याट र थरीथरीको मेसिन आवश्यकता पर्दैन । त्यसो हुँदा पक्राउ परेका ठूलै गिरोहका सदस्य रहेको देखिन्छ । घटनाको अनुसन्धान राजस्व अनुसन्धान विभागबाट पनि भइरहेको छ । नयाँ तथ्य चाँडै खुल्ला,’ ललितपुर परिसरका प्रवक्ता एसपी सुवेदीले भने ।

एसपी होवीन्द्र बोगटी
प्रवक्ता, सिआइबी

ललितपुर प्रहरीले अवैध सुनसहित केही भारतीय नागरिक पक्राउ गरेको थियो । सुन गाल्न प्रयोग भएको चारवटा फ्ल्याट पनि फेला परेको थियो । घटना संगठित प्रकृतिको देखिएपछि ललितपुर प्रहरीले सिआइबीको सहयोग माग्यो । नभन्दै पक्राउ परेका अभियुक्तको सम्बन्ध चिनियाँ तस्करसँग रहेको प्रारम्भिक अनुसन्धानबाट देखियो ।