Skip This
बाढीले विस्थापित भजनीका ४२ परिवारको वास हुलाकी सडकमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o६:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीले विस्थापित भजनीका ४२ परिवारको वास हुलाकी सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o६:११:oo

 कान्द्रा नदीको बाढी पस्दा कैलालीको भजनी नगरपालिका– ५, नयाँ बस्तीका ४२ परिवारको वास हुलाकी सडकमा भएको छ । यहाँका एक सय ९० घरमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । विस्थापित ४२ परिवार भने हुलाकी राजमार्गमा बसिरहेका वडाध्यक्ष केशवबहादुर बुढाले बताए । 

ठेकीपुलमा भंगालो फुटेर कान्द्रा नदीको बाढी गाउँ पसेको हो । पुलिया पुलमा चेकड्याम भत्केर बाढी पस्दा कुटी, नौबस्ता र लखरैया गाउँ पनि डुबानमा परेका छन् । कैलालीमा भजनी नगरपालिका बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो । भजनीका मेयर केवल चौधरीले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सामानहरू सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको बताए । ‘मौसम विभागले अझै पानी पर्ने भनेको छ, त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छौँ,’ उनले भने, ‘केही बस्तीमा घरभित्र सामान्य पानी पसे पनि धेरै ठाउँमा डुबान भइसकेको छैन ।’ अविरल वर्षाका कारण मोहना, खुटिया, कान्द्रा, कनरी र कर्णाली नदीमा पानीको बहाव बढेको छ । 

चिसापानी क्षेत्रमा कर्णाली नदीको जलसतह १०.८ मिटर पुगेको छ । यहाँ जलसतह १० मिटर पुगेमा सतर्कता तह पार गरेको मानिन्छ र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ । यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ ।