Skip This
प्रेरक प्रसंग : जीवनको अमूल्य सम्पत्ति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार o५:५८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : जीवनको अमूल्य सम्पत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o५:५८:oo

साउदी अरबमा बुखारी नामका इमानदार विद्वान् बस्थे । इमानदारीको उदाहरण दिनुपर्‍यो भने सबैले उनैको नाम लिन्थे । एकपटक उनी समुद्री जहाजबाट लामो यात्रामा निस्किए । उनले यात्राको खर्चका लागि एक हजार रियाल पनि साथमा बोके । यात्राका क्रममा उनको चिनाजानी अन्य यात्रीसित पनि हुँदै गयो । बुखारी उनीहरूलाई आफूले जानेसम्मका ज्ञानगुनका कुरा बताउँदै गए । 

यस क्रममा एकजना यात्रीसित उनको निकटता बढ्यो । एकदिन कुरैकुरामा बुखारीले ती यात्रीलाई आफूसित हजार रियाल भएको बताए र पैसा पनि देखाए । ती यात्रीको मनमा लोभ पलायो । उनले बुखारीको हजार रियाल हत्याउने योजना बनाए । एक बिहान उनले ठूलो स्वरमा कराएर भने– हे भगवान् म मरेँ । मेरो एक हजार रियाल चोरी भयो । अब मेरो यात्रा कसरी अघि बढ्ला ? उनी रुन थाले । जहाजका कर्मचारीले सबै यात्रुको तलासी लिएर रकम खोजिदिने बताएर उनलाई शान्त बनाए । तलासी सुरु भयो । कसैबाट रकम फेला परेन । बुखारीको पालो आयो । जहाजका कर्मचारी र अन्य यात्रीले भने– तपाईंमाथि शंका गरेर तलासी लिनु नै अपराध हो । तपाईंको के तलासी लिइरहनु ? यो सुनेर बुखारीले भने– हैन, हैन, मेरो तलासी लिइएन भने जसको रियाल चोरी भएको छ, उसको मनमा शंका रहिरहन्छ । त्यसैले, तलासी लिनुहोस् । बुखारीको पनि तलासी लिइयो । हराएको भनेको रियाल भेटिएन । 

दुई दिनपछि उनै यात्रीले दुःखी मनले बुखारीसित सोधे– तपाईंसित त हजार रियाल थियो । त्यो कहाँ गयो ? बुखारीले मुसुक्क हाँस्दै जवाफ दिए– मित्र, मैले त्यो रकम समुद्रमा फ्याँकिदिएँ । मैले त्यसो किन गरेँ, थाहा छ ? मैले जीवनमा दुइटा सम्पत्ति कमाएको छु । एउटा इमानदारी र अर्को मानिसको विश्वास । मेरो साथमा सो रियाल भेटिएको भए मैले मानिससित यो रियाल मेरै हो भन्ने थिएँ । मानिसले विश्वास पनि गर्दा हुन् । तर, मेरो, इमानदारीमाथि उनीहरूको झिनो शंका भने सधैँभरि रहिरहने थियो । म धन गुमाउन सक्छु, तर, इमानदारी गुमाउन सक्दिनँ ।