१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o९:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकहरूले राष्ट्र बैंकबाट लिए साढे २९ खर्ब निक्षेप सुविधा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o९:o३:oo

गत फागुनदेखि कार्यान्वयनमा आएको एसडिएफमार्फत मात्रै झन्डै १८ खर्ब

बजारबाट कर्जाको माग कम भएपछि बैंकहरूले राष्ट्र बैंकबाट उच्च मात्रामा निक्षेप सुविधा (बैंकले राष्ट्र बैंकमा राख्ने निक्षेप) लिएका छन् । चालू आर्थिक वर्ष ०८०/८१ को १४ असारसम्म बैंकहरूले राष्ट्र बैंकमा ६ सय ११ पटक गरेर २९ खर्ब ४६ अर्ब ३० करोड निक्षेप राखेका छन् ।

निक्षेप संकलन र स्थायी निक्षेप सुविधा गरेर दुई उपकरणमार्फत बैंकहरूले राष्ट्र बैंकमा उक्त निक्षेप राखेका हुन् । स्थायी निक्षेप सुविधामा दुई र तीन दिनसम्म निक्षेप राख्न सकिन्छ । निक्षेप संकलन उपकरणमा भने ७, १४, २८ दिन वा तोकिएको अवधिसम्म निक्षेप राख्न सकिन्छ । तोकिएको अवधि सकिएपछि बैंकहरूले ब्याजसहित निक्षेप फिर्ता पाउनेछन् । 

सोहीअनुसार बैंकहरूले हालसम्म २७ खर्ब ९० अर्ब ३० करोड रुपैयाँ निक्षेप फिर्ता लगिसकेका छन् । अब राष्ट्र बैंकमा बैंकहरूको एक खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप बाँकी छ । सम्झौताको अवधि सकिएपछि बैंकहरूले ब्याजसहित त्यो निक्षेप फिर्ता पाउनेछन् । यद्यपि, राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल गरेको अवस्थामा बैंकहरूले पनुः निक्षेप जम्मा गर्न सक्नेछन् । स्थायी निक्षेप सुविधाअन्तर्गत भने हरेक आइतबार, मंगलबार र बिहीबार बैंकहरूले राष्ट्र बैंकमा यस्तो निक्षेप राखेर ब्याज आम्दानी गर्न सक्नेछन् । बैंकहरूले यस अवधिमा स्थायी निक्षेप सुविधा (एसडिएफ)अन्तर्गत मात्रै १७ खर्ब ९६ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा जम्मा गरेका छन् । पाँच सय ६२ पटक गरेर बैंकहरूले सोबराबरको रकम जम्मा गरेका हुन् । त्यसमा १७ खर्ब ३० अर्ब रुपैयाँ साँवा फिर्ता भइसकेको छ । अब राष्ट्र बैंकमा यसअन्तर्गत ६६ अर्ब रुपैयाँ मात्रै निक्षेप बाँकी छ । तोकिएको अवधि सकिएपछि त्यो रकम बैंकहरूले ब्याजसहित फिर्ता पाउनेछन् । 

राष्ट्र बैंकले १ फागुनबाट स्थानीय निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो । यसमा बैंकहरूले तोकिएको मापदण्ड र दिनमा विनाप्रतिस्पर्धा राष्ट्र बैंकमा निक्षेप राख्न सक्नेछन् । यसमा न्यूनतम १० करोड र त्योभन्दा बढी पाँच करोडले भाग जाने रकम निक्षेप राख्न सकिनेछ । यसमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिनेछ ।  

पहिला आइतबार र बुधबार बैंकहरूले राष्ट्र बैंकमा यसअन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था थियो । गत सोमबार राष्ट्र बैंकले उक्त व्यवस्था संशोधन गर्दै आइतबार, मंगलबार र बिहीबार यसअन्तर्गत निक्षेप जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । आइतबार प्रदान गरिएको सुविधा मंगलबार, मंगलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई फिर्ता गरिने व्यवस्था गरिएको छ । तर, भुक्तानी गर्ने मितिमा बिदा हुने भए अघिल्लो दिन नै भुक्तानी गरिनेछ । बैंकहरूले प्रस्ताव गरेपछि राष्ट्र बैंकले यस्तो निक्षेप अस्वीकार गर्न पाउँदैन । 

यस्तै, समीक्षा अवधि निक्षेप संकलन उपकरणबाट राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाबाट ११ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ निक्षेप तानेको छ । केन्द्रीय बैंकले खुला प्रतिस्पर्धामा ४९ पटक प्रस्ताव आह्वान गरेर सोबराबरका निक्षेप बैंकहरू तानेको हो । बैंकहरूले ब्याजदरमा बोलकबोल गरेर सोबराबरको रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । त्यसमा १० खर्ब ६० अर्ब ३० करोड रुपैयाँ फिर्ता भइसकेको छ । अब केन्द्रीय बैंकमा यसअन्तर्गत ९० अर्ब रुपैयाँ निक्षेप बाँकी छ । सम्झौता अवधि सकिएपछि बैंकहरूले ब्याजसहित त्यो रकम फिर्ता पाउनेछन् ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन, त्यस कारण बैंकहरूमा कर्जा लगाानीयोग्य रकम थुप्रिँदै गएको छ । त्यसले बैंकहरूको आम्दानीसमेत प्रभावित बनाएको छ । त्यो अवस्थामा निक्षेप संकलन र स्थायी निक्षेप सुविधाले बैंकहरूलाई सामान्य रूपमा भए पनि राहत प्रदान गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । अहिले पनि बैंकहरूमा ६ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीयोग्य रकम छ । 

हाल बैंकहरूमा ६२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने ५१ खर्ब ३५ अर्ब छ । त्योअनुसार अहिले बैंकहरूमा कर्जा निक्षेप अनुपात ७९.६८ प्रतिशत कायम भएको देखिन्छ । तर, बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न सक्छन् । त्योअनुसार बैंकहरूले अझै निक्षेपको १०.३२ प्रतिशत रकम कर्जा प्रवाह गर्न सक्छन्, जुन रकम ६ खर्ब ४७ अर्ब रुपैयाँ हुन आउँछ । 

बैंकहरूले यो वर्ष राष्ट्र बैंकबाट एक अर्ब २० करोड रुपैयाँ मात्रै निक्षेप सुविधा ल्याएका छन् ।  त्यसवेला बैंकहरूमा तरलताको अभाव नै थियो । त्यसपछि तरलता बढ्दै गए पनि कर्जाको माग हुन सकेन् । त्यसपछि बैंकहरूले राष्ट्र बैंकका विभिन्न उपकरणमा त्यो लगानी गरेको देखिन्छ । गत आवमा बैंकहरूले राष्ट्र बैंकबाट एक खर्ब १५ अर्ब रूपैयाँबराबरको निक्षेप सुविधा लिएका थिए । तर, गत आवमा बैंकहरूमा तरलता अभाव थियो । ऋण र निक्षेपको ब्याज पनि उच्च थियो । त्यसवेला भने बैंकहरूले राष्ट्र बैंकबाट उच्च मात्रामा तरलता सुविधा (राष्ट्र बैंकबाट पैसा लिएर ऋण प्रवाह गर्ने) लिएका थिए । तथ्यांकअनुसार गत आवमा बैंकहरूले राष्ट्र बैंकबाट १८ सय ९२ पटक गरेर ३३ खर्ब आठ करोड रुपैयाँ तरलता सुविधा लिएका थिए । 

ad
ad
ad
ad