१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कैलालीमा दुई हजार दुई सय मेट्रिकटन मल मौज्दात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o७:५६:oo

धान रोपाइँका वेला मलको अभाव नहुने

कैलाली विगतमा जस्तो यस वर्ष रोपाइँका लागि मलको अभाव देखिएको छैन । सहकारीमार्फत किसानलाई आवश्यक मल बिक्री गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले जनाएको छ । कृषि सामग्रीका प्रदेश प्रमुख नवलसिंह बोगटीले कार्यालयमा अहिले एक हजार ३६६ मेट्रिकटन युरिया र आठ सय ३४ मेट्रिकटन डिएपी मल मौज्दात रहेको जानकारी दिए । उनले मल आउने क्रम जारी रहेकाले यस वर्ष मलको अभाव नदेखिएको बताए । ‘साल्ट टे«डिङले पनि मल बिक्री गरिरहेको छ, हामीसँग पनि केही मल मौज्दात छ,’ उनले भने, ‘किसानले मल नपाउने अवस्था छैन ।’

कृषि सामग्रीले करिब दुई सय सहकारीमार्फत अनुदानको मल बिक्री गर्ने गरेको छ । एउटा सहकारीलाई अधिकतम एक हजार ३४० क्विन्टलसम्म मल दिने गरिएको कम्पनीले जनाएको छ । कृषि सामग्रीले गत साउनयता पाँच हजार ५७४ मेट्रिकटन डिएपी र आठ हजार १५८ मेट्रिकटन युरिया बिक्री गरेको छ ।

मध्य असारसम्म पनि पर्याप्त पानी नपर्दा कैलालीमा सबै ठाउँमा रोपाइँ सुरु हुन सकेको छैन । पम्पसेट र बोरिङबाट सिँचाइ सुविधा भएको ठाउँमा किसानले रोपाइँ गरिरहेका छन्, तर आकासेपानीको भरमा रोपाइँ हुने ठाउँमा किसान वर्षाको पर्खाइमा छन् । मनसुन सक्रिय नहुँदा कैलालीमा रोपाइँ गर्न मिल्ने गरी पर्याप्त पानी परेको छैन । चर्को गर्मीले सुकेका खोलानालामा पानी छैन । खेत खनजोत गरेर ठिक्क पारेका धनगढी उपमहानगरपालिका– ११, का किसान भक्त राना रोपाइँका लागि वर्षाको पर्खाइमा छन् । ‘बोरिङ, पम्पसेट हुनेले रोपाइँ गरिरहेका छन्, नहुने कहिले पानी पर्ला भनेर कुरिरहेका छौँ,’ उनले भने ।

सिँचाइ सुविधा नभएका किसान मध्यअसारसम्म आकासेपानी कुरिरहेका छन् । पर्याप्त वर्षा नभएकाले आकासेपानीको भर पर्नुपर्ने ठाउँमा रोपाइँ सुरु हुन नसकेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । ‘बोरिङ, डिपबोरिङ भएका ठाउँमा धमाधम रोपाइँ भइरहेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरूले भने, ‘आकासेपानीको भर पर्नुपर्ने ठाउँका किसान समस्यामा छन् ।’ जिल्लाभरि करिब ५० प्रतिशत रोपाइँ भएको उनले दाबी गरे । कैलालीमा करिब ६० हजार हेक्टरमा बर्खेधान रोप्ने गरिएकोमा करिब आधा क्षेत्रमा सिँचाइको सुविधा छैन । 

ad
ad
ad
ad