१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार o९:o३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

तेस्रो लगानी सम्मेलन : आशय मागिएका १२ मध्ये दुई परियोजनामा मात्रै लगानीको प्रस्ताव

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:o३:oo

बबरमहल प्रशासनिक प्लाजा र जानकी हेरिटेज होटेलमा स्वदेशी लगानीकर्ताको प्रस्ताव, इच्छुक देखिएनन् विदेशी

तेस्रो लगानी सम्मेलनमा लगानी बोर्ड नेपालले आशयपत्र आह्वान गरेका १२ मध्ये दुई परियोजनामा मात्रै लगानीको प्रस्ताव परेको छ । गत १६ र १७ वैशाखमा सम्पन्न लगानी सम्मेलनमा बोर्डले १२ परियोजनामा अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरेको थियो । जसमध्ये आठ गैरऊर्जा परियोजनामा आशयपत्र पेस गर्ने म्याद मंगलबार सकिएको छ । तर, दुई परियोजनामा स्वदेशी लगानीकर्ताले आशयपत्र पेस गरेका छन् भने एउटा पनि विदेशी लगानीको प्रस्ताव परेको छैन । 

आशयपत्र माग गरिएकोमध्ये बबरमहल प्रशासनिक प्लाजा (भवन) र जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज एक–एकवटा आशयपत्र प्राप्त भएको बोर्डले जानकारी दिएको छ । जानकी हेरिटेज बनाउन काठमाडौंको ताहाचलस्थित सोल्टी सिबक्रिम प्रालिले आशय पेस गरेको हो । यो कम्पनीले सोल्टी होटेलको साझेदार लगानीकर्ता पनि हो । बोर्डका अनुसार यो परियोजना बनाउन दुई अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । बबरमहल प्रशासनिक भवन बनाउन पनि काठमाडौंकै गन्सु एसएस ल्यान्डमार्कले आशयपत्र पेस गरेको छ । यो परियोजना बनाउन १० अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले जानकी हेरिटेज बनाउन प्रस्ताव पेस गरेको बताए । ‘यही परियोजना हाम्रा लागि फिजिबल हुने देखियो । त्यसैले आयशपत्र पेस गगरेका छौँ,’ उनले भने, ‘सरकारसँग थप छलफल गरेर परियोजना विकास प्रक्रिया अघि बढाउँछौँ । यद्यपि, सरकारले जग्गा उपलब्ध गराउनेलगायतका सुविधा भने दिनुपर्छ ।’

अब प्राप्त आशयपत्रका आधारमा सम्बन्धित कम्पनीलाई आर्थिक तथा प्राविधिक प्रस्ताव अर्थात् ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी) आह्वान गरिने बोर्डले जानकारी दिएको छ । दुई परियोजनामा एक–एकवटा मात्रै आशयपत्र परेको हुनाले सोझै छनोट गर्न सकिनेछ । बोर्डबाट निर्णय गराएर कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग्ने सहप्रवक्ता अधिकारीले बताए । 

अहिले दुई कम्पनीले परियोजना बनाउन इच्छा मात्रै व्यक्त गरेका हुन् । अब कम्पनीले कति लगानी गर्ने, कस्तो प्रविधि प्रयोग गर्ने, के–के सुविधा चाहिने, के–के छुट चाहिनेलगायतका विषयमा विस्तृत रूपमा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । त्यसपछि सरकार र कम्पनीबीच परियोजना विकासबारे थप प्रक्रिया अघि बढ्नेछ । 

६ गैरऊर्जा परियोजनामा लगानीको प्रस्ताव नै परेन
लगानीका लागि आशयपत्र आह्वान आठ गैरऊर्जा परियोजनामध्ये ६ वटामा कुनै पनि आशय नआएको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताए । आशय माग गरिएका पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, धुलिखेल मेडिसिटी, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, दैजी औद्योगिक पार्क र गौतम बुद्ध म्याटर्निटी हस्पिटलमा भने कुनै पनि आशय नआएको उनले बताए । 

यीबाहेक बोर्डले थप चार जलविद्युत् परियोजनामा पनि आशय आह्वान गरेका छ । २८१ मेगावाटको नौमुरे बहुउद्देश्यीय परियोजना, ६५० मेगावाटको कालीगण्डकी–२ स्टोरेज परियोजना, १२१६ मेगावाटको खिम्ती ठोसे शिवालय स्टोरेज परियोजना र ३३७.१ मेगावाटको भार्भुङ स्टोरेज परियोजना निर्माणका लागि आह्वान गरिएको आशयपत्रको म्याद आगामी असार २८ गतेसम्म छ । उक्त परियोजनामा भने आशय आउने अपेक्षा रहेको अधिकारीले बताए । 

नौमुरे परियोजनामा ९२ अर्ब, कालीगण्डकी २ जलविद्युत्मा एक खर्ब ३३ अर्ब २१ करोड, खिम्ती ठोसे शिवालय स्टोरेजमा दुई खर्ब ३१ अर्ब र भार्भुङ स्टोरेजमा ८० अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षण भइरहेको उल्लेख गर्दै यी परियोजनामा भने प्रस्ताव आउने अपेक्षा रहेको उनले बताए । 

बोर्डका सहायक प्रवक्ता अधिकारीले प्राप्त आयशपत्र सन्तोषजनक नभएको बताए । ‘हामीले छोटो समयमा जुन तयारी गरेका थियौँ । त्यसका आधारमा परेको आशय ठीकै पनि हो, तर हाम्रो अपेक्षाअनुसारको भने होइन,’ उनले भने, ‘समय छोटो भयो । यसमा आवश्यक मात्रामा प्रचार गर्न सकिएन । लगानी सम्मेलनमै बढी केन्द्रित हुनुपर्‍यो ।’ 

परियोजना छनोटमा ढिलाइ हुँदा आवश्यक प्रचार–प्रसार गर्न नसकिएको उनले बताए । ‘प्राविधिक कमिटीले समयमा काम गर्न नसकेका कारण अन्तिम समयमा मात्रै आयोजना छनोट गरेर दियो, समयमै आवश्यक मात्रामा प्रचार–प्रसार गर्न सकिएन,’ उनले भने, ‘त्यसले गर्दा यस्तो अवस्था आयो । समयमै परियोजना दिएको भए पनि राम्रोसँग प्रसार–प्रचार गर्न सकिन्थ्यो । तर, त्यो अवसर भएन ।’

थपिएको म्यादमा समेत लगानी प्रस्ताव परेन
बोर्डले पहिला ऊर्जा परियोजनाका लागि ४५ दिन र गैरऊर्जा परियोजनाका लागि ३५ दिन म्याद राखेर आशयपत्र आह्वान गरेको थियो । जसअनुसार ऊर्जामा जेठ ३० गते र गैरऊर्जा परियोजनमा जेठ २० गतेसम्म आशयपत्र आह्वान गर्न सकिन्थ्यो । तर, प्रस्ताव नआएपछि दुवै प्रकृतिका परियोजामा आशयपत्र पेश गर्ने म्याद एक–एक महिना थप गरिएको थियो । थपिएको म्यादअनुसार गैरऊर्जा परियोजनामा मंगलबारसम्म आशयपत्र पेस गर्ने समय थियो, जुन म्याद सकिएको छ । ऊर्जा परियोजनामा भने आगामी आगामी असार २८ गतेसम्म आशयपत्र पेस गर्ने समय छ । 

दुई महिनामा १४.१० अर्ब विदेशी लगानी प्रस्ताव
पछिल्लो दुई महिनामा नेपालमा १४ अर्ब १० करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको छ । लगानी सम्मेलन भएकै महिना अर्थात् वैशाखमा ११ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा भने तीन अर्ब एक करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । यो अटोमेटिक रुटबाहेकको माध्यमबाट आएको वैदेशिक लगानी प्रतिबद्धता हो । वैशाखमा ४० र जेठमा ५२ वटा परियोजनामा वैदेशिक लगानी आएको छ । 

चालू आवको ११ महिनामा भने नेपालमा कुल ४४ अर्ब ३४ करोड रुपैयाँ वैदेशिक लगानी आएको छ । उद्योग विभागले बुधबार सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । विभिन्न ३५५ वटा परियोजनामा सोबराबरको लगानी आएको हो । समीक्षा अवधिमा स्वदेशीसहित दुई खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । 

अटोमेटिक रुटबाट ११.१८ अर्ब विदेशी लगानी स्वीकृत
लगानी सम्मेलनकै अवसरमा सञ्चालनमा ल्याएको स्वचालित मार्ग (अटोमेटिक रुट)बाट ११ अर्ब १८ करोड ११ लाख रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको छ । लगानी सम्मेलनको अवसरमा विभागले ५० करोड रुपैयाँसम्मको विदेशी लगानी अटोमेटिक रुटबाटै स्वीकृत गर्ने सुविधा ल्याएको थियो । जसअनुसार जेठ मसान्तसम्म ९० परियोजनामा ११ अर्ब १८ करोड ११ लाख ८० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । 

ad
ad
ad
ad