१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
लालपानी–चन्द्रडाँगी जोड्ने कन्काई नदीमा निर्माणाधीन झोलुङे पुल 
२o८१ असार १६ आइतबार o८:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

लालपानीलाई वडा कार्यालयसम्म जोड्ने पुल अलपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o८:१९:oo

पुल नबन्दा सिंगो बस्ती समस्यामा, वडा कार्यालय जान पौडी खेल्नुपर्ने अवस्था

शिवशताक्षी नगरपालिकालाई कन्काई माई नदी पश्चिमको भेग भनेर चिनिन्छ । तर, शिवशताक्षीकै लालपानी बस्ती भने माई पूर्वमा छ । देहातको यो बस्ती विकासका हिसाबले पछाडी छ । वडा नम्बर ७ मा पर्ने यो बस्तीमा न खानेपानीको सुविधा छ न त विद्युत् लाइन नै पुगेको छ । जसोतसो बस्ती पुगेको ग्राभेल सडक पनि पक्की हुनुअघि नै जीर्ण बनिसकेको छ । 

शिवसताक्षी– ७ का वडाध्यक्ष भवानीविक्रम चेम्जोङका अनुसार लालपानीमा करिब तीन सय घरधुरी छन् । यो बस्ती विकासको हिसाबले पछाडि पर्नुको एक मात्रै कारण कन्काई माई नदीमा पुल अभावले हो । बर्खामा त आफ्नै वडा कार्यालय पुग्न पनि कठिन हुन्छ । हिउँदमा बाँसको पुल तरेर चन्द्रडाँगीस्थित वडा कार्यालय पुग्ने गरे पनि बर्खामा भने उर्लिएको माई नदी तर्न नसक्दा वडासँग बस्तीको सम्बन्ध नै विच्छेद बन्ने उनी बताउँछन् । 

माई नदीमा झोलुङे पुल निर्माणका लागि ३१ असार ०७७ सालमै ठेक्का लागेको हो । पशुपति–हरिहरि जेभीले सात करोड ८१ लाखमा उक्त पुल निर्माण गर्ने गरी ठेक्का पाएको थियो । असार मसान्त ०७९ मा निर्माण सक्ने गरी ठेका लगाएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । तर, निर्माण कम्पनीले ढिलाइ गर्दा निर्धारित समय सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माण आधा मात्रै भएको छ । ६ सय ४४ दशमलव २० मिटर लामो पुल निर्माण निर्धारित समयमा नसकिए पनि सरकारले एक वर्ष म्याद थपेको थियो । सरकारले सबै आयोजनाको एक वर्ष म्याद थप्दा उक्त पुलले पनि निर्माणका लागि थप एक वर्ष म्याद पाएको हो ।

अहिले पनि कामको प्रगति भने सन्तोषजनक छैन । समय सकिन तीन महिना हुँदा ५२ प्रतिशतमाथि मात्र काम भएको छ । ‘फिल्डमा काम गर्ने मान्छे नै देखिँदैनन् । अब त यो पुल बन्नेमै शंका लाग्न थालेको छ,’ लालपानीका शिव राजवंशीले भने, ‘निर्माणाधीन अवस्थामै पिलर भत्कियो । त्यसपछि काम गरेकै छैनन् ।’

पुल नबन्दा स्थानीयले समस्या भोगिरहनुपरेको छ । ‘बर्खाको वेला वडा कार्यालय जानुपर्दा पौडेर नदी वारपार गर्नुपर्ने अवस्था छ । युवा त पौडेर जन्छन्, हामी वृद्धवृद्धा त्यो पनि सक्दैनौँ । बस्तीबाट तीन किलोमिटरमा रहेको वडा कार्यालय पुग्न बर्खामा सुरुंगा, दुधे हुँदै करिब २० किलोमिटर घुम्नु पर्छ,’ स्थानीय लक्ष्मी सुवेदी भनिन् । 

बर्खा लागेपछि वडा कार्यालय जानुपरे निकै मुस्किल हुने स्थानीय रेनुका प्रसाईंले बताइन् । ‘हामी एकल महिलालाई सरकारले भत्ता दिन्छ । साउनमा भत्ता लिन जानुपर्छ । खोलामा धेरै पानी नभए त १५ मिनेटमा पुगिन्छ, तर बाढी आएको वेला घुमेर जानुपर्दा दिनभर लाग्छ,’ उनले भनिन्, ‘पुल बनाउन थालेको चार वर्ष हुनै लाग्यो अहिलेसम्म पिलर मात्रै हालेका छन् । अब त यो पुलमा हामी हिँड्न पाउँदैनौँ कि जस्तो लाग्न थालिसक्यो ।’

शिवशताक्षी– ७ का वडाध्यक्ष चेम्जोङले निर्माण व्यवसायीको लापरबाहीका कारण स्थानीयले दुःख पाइरहेको बताउँछन् । ‘पुल निर्माण भए लालपानीबासीको आधा समस्या समाधान हुन्थ्यो,’ उनले भने, ‘तर, निर्माण व्यवसायी काम नै गर्दैनन् । किन काम नगरेको भन्दा संघीय सरकारको योजनामा तपाईंलाई के मतलब भन्छन् । प्रतिनिधिसभा सदस्य एलपी साँवाले संसद्मा कुरा उठाउँदा पनि वास्ता गरेनन् ।’ यही गतिमा काम हुने हो भने अझै तीन वर्ष पुल नबन्ने वडाध्यक्ष चेम्जोङको भनाइ छ । उक्त पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजनले काम गरिरहेको र यसको कार्यालय जिल्लामा नरहेका कारण सम्पर्क व्यक्तिसमेत भेट्न गाह्रो हुने उनी बताउँछन् । 

सस्पेन्सन ब्रिज डिभिजनबाट लालपानी–चन्द्रडाँगी झोलुङे पुल हेर्न खटिएका सबइन्जिनियर सञ्जय चौधरीले निर्माण व्यवसायीलाई समयमा काम सक्न दबाब दिइरहेको दाबी गरे । उनले ५२ प्रतिशतभन्दा माथि मात्र काम भएको र असार मसान्तमा सक्ने दाबी गरे । यद्यपि, पुलको काम भने सुस्त गतिमा छ । गत वर्ष पनि कोरोना महामारीलाई कारण देखाउँदै एक वर्षका लागि म्याद थपिएको उनले बताए । 

भवानीविक्रम चेम्जोङ वडाध्यक्ष, शिवशताक्षी नगरपालिका– ७
पुल निर्माण भए लालपानीवासीको आधा समस्या समाधान हुन्थ्यो । तर, निर्माण व्यवसायी काम नै गर्दैनन । किन काम नगरेको भन्दा संघीय सरकारको योजनामा तपाईंलाई के मतलब भन्छन् । प्रतिनिधिसभा सदस्य एलपी साँवाले संसद्मा कुरा उठाउँदा पनि वास्ता गरेनन् ।

ad
ad
ad
ad