१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असार १५ शनिबार o६:१५:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका

नौ वर्षमा सामुदायिक विद्यालयको एसइई नतिजा झन् खस्कियो, ०७१ को भन्दा यसपटक उत्तीर्ण हुने विद्यार्थी संख्या ३.३६% ले घटेको छ

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o६:१५:oo

तथ्यांकमा सामुदायिक विद्यालय
- सहभागी विद्यालय : ६ हजार ६६५
- परीक्षार्थी : ३ लाख ३१ हजार ८६७
- उत्तीर्ण : १ लाख १८ हजार ३३३
- एनजी (फेल) : २ लाख १३ हजार ५३४

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । अनुत्तीर्ण हुने दुई लाख ४२ हजार ३१३ परीक्षार्थीमध्ये ८८.१२ प्रतिशत अर्थात् दुई लाख १३ हजार ५३४ विद्यार्थी सामुदायिक विद्यालयका छन् । पास हुनेमध्ये पनि तल्लो जिपिए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका धेरै छन् ।

सामुदायिक विद्यालयको यसपटकको नतिजा नौ वर्षअघिको भन्दा पनि कमजोर छ । ०७१ को एसएलसी (अहिलेको एसइई)मा सहभागी पाँच लाख ४१ हजार ३८९ परीक्षार्थीमध्ये तीन लाख ४९ हजार १२२ विद्यार्थी अनुत्तीर्ण भएका थिए । जसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या ७१.२६ प्रतिशत अर्थात् दुई लाख ४८ हजार ७८० थियो । त्यतिवेला सय पूर्णांकमा पास हुन ३२ अंक ल्याउनुपर्थ्यो । 

०७२ देखि सरकारले एसएलसीमा लेटर ग्रेडिङ प्रणाली लागू गर्‍यो । यो परीक्षा प्रणालीमा विद्यार्थीको ग्रेड छुट्टिए पनि सबै विद्यार्थी उत्तीर्ण हुन्थे । अर्थात्, कक्षा ११ मा भर्ना हुन सबै विद्यार्थी योग्य हुन्थे । तर, सरकारले यसपटक ग्रेडिङ कायमै राखे पनि पास हुन सैद्धान्तिक र प्रयोगात्मकतर्फ हरेक विषयमा ३५ प्रतिशत नम्बर ल्याउनैपर्ने व्यवस्था गरेको थियो । त्यसभन्दा कम नम्बर ल्याउने विद्यार्थी ११ मा भर्ना हुन पाउँदैनन् । नौ वर्षपछिको झन्डै उस्तै परीक्षा प्रणालीमा सामुदायिक विद्यालयको नतिजा झन् खस्किएको देखिएको छ ।

०८० को एसइई परीक्षामा देशभरका चार हजार १४१ संस्थागत र ६ हजार ६६५ सामुदायिक विद्यालयका चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए । अनुत्तीर्ण हुनेमध्ये २८ हजार ७७९ परीक्षार्थी निजी विद्यालयका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सबैभन्दा तल्लो जिपिए १.६ देखि २.० सम्म ल्याउने विद्यार्थी संख्यामध्ये पाँचजना सामुदायिक र एकजना संस्थागत विद्यालयका विद्यार्थी छन् । जिपिए २.० देखि २.४ ल्याउने विद्यार्थी संख्या सामुदायिकमा दुई हजार ७५३ सामुदायिक र संस्थागतमा १९७ जना छन् ।

जिपिए २.४ देखि २.८ सम्म ल्याउने ल्याउने सामुदायिक ३४ हजार ४२१ भने संस्थागत विद्यालय ६ हजार ७५६ छन् । यस्तै, जिपिए २.८ देखि ३.२ सम्म ल्याउने सामुदायिक विद्यालयका ४९ हजार २१४ र निजीका २९ हजार ६६० विद्यार्थी छन् । यो तह नतिजाको हिसाबका मध्यमस्तर मानिन्छ । उच्च जिपिए ल्याउने संख्यामा निजी विद्यालयले सामुदायिकलाई उछिनेका छन् । 

माथिल्लो जिपिए अर्थात् उत्कृष्ट अंक ल्याउनेमा निजी विद्यालयका विद्यार्थी धेरै छन् । बोर्डका अनुसार जिपिए ३.२ देखि ३.६ सम्म ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी २५ हजार ४०५ छन् भने निजीका विद्यार्थी ४२ हजार ८५१ छन् । यो तहमा सामुदायिकका भन्दा झन्डै १८ हजार विद्यार्थी निजीका धेरै छन् । 

त्यस्तै, जिपिए ३.६ देखि ४.० सम्म ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी संख्या ६ हजार ५३५ छ भने यो तहमा संस्थागत विद्यालयका विद्यार्थी २४ हजार ६७४ छन् । तथ्यांकका आधारमा उच्च जिपिए ल्याउने विद्यार्थी निजीकै धेरै भएको पुष्टि हुन्छ । 

नियम बदलियो, नतिजा खस्कियो
राष्ट्रिय परीक्षा बोर्डले ०७२ देखि ०७९ सम्म लेटर ग्रेडिङ मा नतिजा प्रकाशन गरेको थियो । यस प्रकारको प्रणालीमा सैद्धान्तिकमा झिनो अंक ल्याएका विद्यार्थी प्रयोगात्मकमा विद्यालयले दिएको नम्बरका आधारमा पास हुने गरेका थिए । परीक्षामा सामेल भएका सबै विद्यार्थी उत्तीर्ण हुन्थे । तर, बोर्डले कक्षा ११ र १२ को नतिजा खस्किएको महसुस गर्दै ०८० देखि सैद्धान्तिक र व्यावहारिक दुवैमा ३५–३५ प्रतिशत उत्तीर्णांकको नियम ल्याएको थियो । सोही नियमका कारण धेरै विद्यार्थी अनुत्तीर्ण हुन पुगेका छन् । त्यसमध्ये सबैभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयका छन् । 

खस्कियो नमुना विद्यालयहरूको नतिजा
नमुना विद्यालयको रूपमा देशभरि नै कहलिएको बुटवलको कालिका मानविज्ञान माविमा सबैभन्दा उच्च जिपिए ४.० ल्याउने विद्यार्थी संख्या शून्य छ । ७१ जना विद्यार्थी अनुत्तीर्ण छन् । त्यसमध्ये पनि नौजना विद्यार्थीको तीनवटाभन्दा बढी विषय लागेको छ । यस विद्यालयबाट एसइईमा ६७५ जना विद्यार्थी सहभागी भएका थिए । यसमध्येबाट सबैभन्दा बढी ३.९६ ल्याउने विद्यार्थी संख्या ६ जना छन् । जिपिए ३.४ देखि ३.६ ल्याउने विद्यार्थी संख्या ६६, जिपिए ३.२ देखि ३.४ सम्म ल्याउने विद्यार्थी २१२ जना, जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी १३८ जना छन् । तर, विद्यालयका प्रधानाध्यापक दिनेश थापाले नतिजा सन्तोषजनक आएको दाबी गरे । चितवन रत्ननगरमा रहेको नेपाल नमुना माविमा जम्मा २३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस विद्यालयबाट ११५ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । 

२८ जिल्लाका १८६ विद्यार्थीले ल्याए जिपिए ४.०

  • काठमाडौं : ९४ 
  • कास्की : २१ 
  • चितवन : १६ 
  • मोरङ : ८ 
  • ललितपुर : ७ 
  • भक्तपुर : ६ 
  • लमजुङ : ३ 
  • कैलाली : ४ 
  • सुनसरी : २ 
  • धनुषा : २ 
  • पाल्पा : २ 
  • रुपन्देही : २ 
  • दाङ : २ 
  • कञ्चनपुर : २ 
  • नवलपरासी पूर्व : २ 
  • नुवाकोट : १ 
  • धादिङ : १ 
  • मकवानपुर १ 
  • रौतहट : १ 
  • बारा : १ 
  • स्याङ्जा : १ 
  • गोरखा : १ 
  • तनहुँ : १ 
  • काभ्रे : १ 
  • पर्वत : १ 
  • सुर्खेत : १ 
  • झापा : १ 
  • रामेछाप : १ 

सुदूरपश्चिममा सामुदायिकबाट जिपिए ४ ल्याउने नीतिका एक्ली
अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नीतिका अवस्थीले ४ जिपिए ल्याएर एसइई उत्तीर्ण गरेकी छिन् । सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशभर सामुदायिक विद्यालयबाट ४ जिपिएर ल्याएर उत्तीर्ण हुने नीतिका एक्ली हुन् ।

गोदावरी नगरपालिका– ४, वसन्तपुरकी नीतिकाले अत्तिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा ल्याउने गरेकी छिन् । पढाइसँगै निबन्ध, हाजिरीजवाफ, वक्तृत्वलगायत अतिरिक्त क्रियाकलापमा उनी सधैँ प्रथम हुने गरेके दुर्गालक्ष्मी माविका प्रधानाध्यापक शिवराज जोशीले बताए । ‘नीतिका उत्कृष्ट प्रतिभा भएकी मेधावी छात्रा हुन्,’ जोशीले भने, ‘यो नतिजाले विद्यालयकै नाम उँचो भएको छ ।’ नीतिकाका बुबा टेकराज स्थानीय चण्डेश्वरी सामुदायिक विद्यालयका शिक्षक हुन् । दुर्गालक्ष्मी माविबाट ३७३ विद्यार्थी एसइईमा सहभागी भएकोमा १०२ जना उत्तीर्ण भएका छन् ।

सुदूरपश्चिममा नीतिकासहित ६ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । जसमध्ये चारजना कैलालीका र दुईजना कञ्चनपुरका हुन् । संस्थागत विद्यालयतर्फ अत्तरियाको सत्ववती एकेडेमीका निर्मल ठगुन्ना, सैनिक महाविद्यालयका विकास रावत र टीकापुरको वीरेन्द्र विद्या मन्दिर (सामुदायिक गुठी विद्यालय)का हेमन्त साउद ४ जिपिएसहित उत्तीर्ण भएका हुन् ।

कञ्चनपुरमा महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कुलका सोमित कार्की र कृष्णपुर नगरपालिका– ५ गुलरियास्थित कञ्चनजंगा इंग्लिस स्कुलका चेतराज विष्टले ४ जिपिए ल्याएका हुन् । कैलालीमा सामुदायिकबाट सबैभन्दा राम्रो नतिजा लम्कीको मोतीपुरमा रहेको राष्ट्रिय माविले ५८.७७ र धनगढीको पञ्चोदय माविले ५८.६० प्रतिशत ल्याएको छ । राष्ट्रिय माविबाट परीक्षामा सहभागी ११४ मध्ये ६७ र पञ्चोदयबाट सहभागी ३०२ मध्ये १७७ जना उत्तीर्ण भएका छन् ।

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने मन्त्रालयको निर्णय 
शिक्षा मन्त्रालयले एसइईमा अनुत्तीर्ण हुने सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले तिनलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो ।

‘अब जति विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको प्रबन्ध मिलाउन मातहतका निकायलाई निर्देशन दिइएको छ,’ प्रवक्ता दाहालले भने, ‘यसका लागि लेटर ग्रेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरू पनि आवश्यक छ ।’ उनका अनुसार पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाइ र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन पनि दिइएको छ ।

बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार एक लाख २६ हजार ४७९ विद्यार्थीको दुईभन्दा बढी विषय लागेको छ । बोर्डले मौका परीक्षा आगामी १८ र १९ साउनलाई तोकेको छ । तर, सो मिति पनि परिवर्तन हुने मन्त्रालयका प्रवक्ता दाहालले बताए । 

कक्षा, विद्यार्थी र पेसाप्रति शिक्षक उत्तरदायी भएनन् : धनञ्जय शर्मा अधिकारी, पूर्वप्रधानाध्यापक, ज्ञानोदय मावि
विद्यालयमा शिक्षामा अनेकौँ प्रयोग र परीक्षा गरिए । तर, यसका समस्याबारे अध्ययन–अनुसन्धान गरिएन । विद्यालय शिक्षामा के–के त्रुटि छन् ? कसरी सुधार गर्ने ? हालसम्म विद्यालय शिक्षा प्रणालीमा अध्ययन–अनुसन्धान भएकै छैन । तर, परीक्षा प्रणालीबारे अध्ययन भयो र रिपोर्ट पनि आयो । सार्क मुलुकहरूमा लेटर ग्रेडिङ छ भनेर हामीले पनि त्यही सुरु गर्‍यौँ । तर, यो अंकलाई अक्षरमा मात्रै परिणत गर्‍यौँ । बालबालिकाको निरन्तर मूल्यांकन गर्ने र त्यसलाई नतिजामा समेट्ने गरी गृहकार्य गरेनौँ ।

अहिले तीनघण्टे परीक्षा लिन्छौँ । विद्यार्थी राम्रो नाच्छ नम्बर पाउँदैन, शिक्षकलाई रेस्पेक्ट गर्छ नम्बर पाउँदैन, खेलकुदमा राम्रो छ नम्बर पाउँदैन, गाउन जानेको छ नम्बर पाउँदैन । त्यसकारण निरन्तर मूल्यांकनलाई लेटर ग्रेडिङलाई जोड्नुपर्छ । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको क्षमता हेरेर मार्किङ गर्न सक्नुपर्छ । तर, हामीले बडो स्मार्ट भएर लेटर ग्रेडिङ भनेर अन्तर्राष्ट्रिय अभ्यास गरेको ठानेका छौँ । शिक्षाको गुणस्तरता र सिकाइमा ख्याल गरेका छैनौँ । शिक्षक कक्षा, विद्यार्थी र पेसाप्रति उत्तरदायी भएनन् । सबैलाई पास गर्ने भन्ने मात्रै बुझे । त्यसकारण उनीहरूले तलका कक्षाहरू भटाभट पास गरे । विद्यार्थीले एसइई र कक्षा १२ मा गएपछि ठक्कर खायो । यसअघि लेटर ग्रेडिङ मा कोही पनि फेल हुँदैन भनेर भनियो । खास गत ०७२ देखि ०७९ सम्म शिक्षाको गुणस्तर खस्किएको छ । किनभने नलेखे पनि पास हुने नियम बनाइयो । एसइई परीक्षा पास गरेका विद्यार्थीमा गुणस्तर देखिएन । त्यसको असर कक्षा ११ र १२ मा देखियो । 

त्यसकारण बोर्डले लेटर ग्रेडिङमा सुधार गर्नुपर्छ भन्दै व्यावहारिक र सैद्धान्तिकमा ३५–३५ प्रतिशत उत्तीर्णांकको नियम ल्यायो । निर्देशिका संशोधन गरियो । ०७२ देखि लेटर ग्रेडिङ नियम सुरु भयो । अहिले आएर यो परिवर्तन गरेर ०७२ अघिकै प्रणालीमा नतिजा निकालियो । ०८० भन्दाअघि दुवैतिरको अंक जोडेर पास गरियो । तर, ०८० मा दुवैमा ३५–३५ प्रतिशत ल्याउनुपर्छ भनेर बोर्डले नयाँ नियम लागू गर्‍यो । यो किन भनियो भने स्कुलहरूले प्रयोगात्मकमा ३५ दिए, तर सैद्धान्तिकमा विद्यार्थीले ७ नम्बर ल्यायो ।

यो बेथिति रोक्न बोर्डले दुवैमा ३५–३५ प्रतिशत ल्याउनुपर्छ भन्ने नियम ल्यायो । पहिलोपटक भएर पनि होला यसपटक अलि धेरै नतिजा खस्किएको देखियो । तर, यसले कालान्तरमा नराम्रो गर्दैन । किनभने अयोग्य विद्यार्थी ११ मा जानुभन्दा नगएको वेश । कम्तीमा १२ मा योग्य विद्यार्थी त जान्छन् र १२ मा विद्यार्थीले राम्रो गर्न सक्छन् । अहिलेको नतिजा प्रणालीको नियम राम्रो हो । यस प्रणालीमा पहिलोपटक जाँच लिएको भएर विद्यार्थी कम अनुत्तीर्ण भएका हुन् । खासमा विद्यार्थी फेल हुनुमा त हाम्रो परीक्षा प्रणाली नै दोषी छ । १० वर्षमा पढेको कुरा तीन घण्टामा मूल्यांकन हुन्छ । अब यसमा पुनर्विचार गर्नुपर्ने अवस्था छ । अहिले धेरै अनुत्तीर्ण हुने विद्यार्थी सामुदायिक विद्यालयका छन् । यसको अर्थ सामुदायिक विद्यालयको शिक्षक आफ्नो पेसा, विषय र विद्यार्थीप्रति उत्तरदायी छैनन् भन्ने जनाउँछ । 

ad
ad
ad
ad