१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 20 September, 2024
बेलायतको बेलमार्स कारागारबाट बाहिरिँदै असान्ज ।
२o८१ असार १२ बुधबार o८:२१:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

पाँच वर्षपछि रिहा भए विकिलिक्सका संस्थापक असान्ज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o८:२१:oo

विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायतको जेलबाट रिहा भएका छन् । अमेरिकी अधिकारीसँग भएको एउटा सम्झौताअनुरूप अस्टे«लियाली नागरिक असान्ज जेलबाट छुटेको विकिलिक्सले जनाएको छ । रिहा भएलगत्तै असान्ज निजी उडानमा बैंकक हुँदै प्रशान्त महासागरमा अवस्थित अमेरिकी क्षेत्र नर्थन मारियाना टापु जाँदै छन् । त्यहाँस्थित एक अदालतमा उपस्थित भएर उनले अमेरिकाले लगाएको आरोपअनुसारको अपराध स्विकार्ने बिबिसीले जनाएको छ ।

‘युएस कमनवेल्थ’मा रहेको उक्त अदालत असान्जको मूल देश अस्ट्रेलियानजिक पर्छ । त्यसपछि उनी स्वदेश फर्किनेछन् । गत साता उनले अमेरिकासँग एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए, जसमा उनलाई अमेरिकाविरुद्ध जासुसी गरेको आरोप स्विकारेबापत खुला छाड्ने सहमति गरिएको थियो । असान्जलाई अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा चुहाउने कार्य गरेको अभियोग छ । सम्झौताअनुरूप यसबाहेक असान्जमाथिका अन्य आरोप खारेज गरिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले गत अप्रिलमा असान्जविरुद्धको मुद्दा फिर्ता लिन अस्ट्रेलियाले गरेको अनुरोधलाई आफूले विचार गरिरहेको बताएका थिए ।

विकिलिक्सले इराक र अफगानिस्तान युद्धसम्बन्धी कैयौँ गोप्य दस्ताबेज सार्वजनिक गरिदिएपछि आफ्ना कैयौँ नागरिकको ज्यान खतरामा परेको अमेरिकाले दाबी गर्दै आएको छ । पछिल्ला पाँच वर्षदेखि असान्जले बेलायतको जेलबाट अमेरिका सुपुर्दगी रोक्न कानुनी लडाइँ लडिरहेका थिए । जुलियन असान्जकी श्रीमती स्टेला असान्जले आफ्ना पति छुट्न लागेकोमा अत्यन्त खुसी भए पनि उनलाई जासुसी ऐनअन्तर्गत अभियोग स्विकार्न लगाउनु संसारभरका पत्रकारका लागि ‘अत्यन्त चिन्ता’को विषय भएको बताएकी छिन् । उनले बेलायतबाट उडेको असान्जको विमानमा ‘केही गलत हुन सक्ने आशंका’ व्यक्त गर्दै उनको उडान ट्र्याक गर्न सर्वसाधारणलाई आग्रह गरेकी थिइन् । 

अमेरिकी हिरासतमा बस्नुपर्नेछैन असान्ज
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसका अनुसार असान्जले अब अमेरिकी हिरासतमा बस्नुपर्नेछैन । दोष स्वीकार गरेपछि उनले थप जेल सजायको सामना गर्नुनपर्ने र आफ्नो देश अस्ट्रेलिया फर्कन स्वतन्त्र हुनेछन् । अमेरिकाले असान्जले स्विकारेको अपराधका लागि उनले बेलायतमा बिताएको थुनाको अवधिलाई गणना गर्ने र मुक्त गर्ने अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी टापुस्थित अदालतमा उपस्थित भएपछि असान्ज उनको जन्मभूमि अस्ट्रेलिया फर्कने अमेरिकी न्याय मन्त्रालयले जानकारी दिएको थियो । बिबिसीका अनुसार रिहा हुनुअघि असान्ज १९०१ दिन बेलायतको उच्च सुरक्षायुक्त बेलमार्स जेलमा बन्दी थिए ।

को हुन् असान्ज ?
सन् १९७१ को जुलाई ३ मा अस्ट्रेलियाको टाउन्सभिल्ला सिटीमा जन्मिएका असान्जले सन् २००६ मा विकिलिक्स स्थापना गरी वेब–दुनियाँमा तहल्का मच्चाएका थिए । आफूले स्थापना गरेको विकिलिक्समार्फत उनले अमेरिका र अन्य देशका लाखौँ अति गोप्य सूचना सर्वसाधारणसामु सार्वजनिक गरेर तरंग ल्याएका थिए । पारदर्शिता र जवाफदेहिता प्रवद्र्धनमा योगदान गर्ने उद्देश्यले आफूहरूले सरकारले गोप्य राखेका जासुसी, युद्ध, भ्रष्टाचारलगायत विषयका करोडौँ गोप्य दस्ताबेज सार्वजनिक गरेको वेबसाइटको दाबी छ ।

सन् २०१० मा विकिलिक्सले इराकयुद्धसम्बन्धी अमेरिकी गोप्य दस्ताबेज सार्वजनिक गरेपछि वेबसाइट झनै चर्चामा आयो । यस लटमा सार्वजनिक गरिएको सामग्रीमा अमेरिकी सेनाले हेलिकोप्टरबाट आमसर्वसाधारणलाई अन्धाधुन्ध गोली हानेको एक भिडियो पनि थियो, जुन भिडियोले अमेरिकाको निकै ठूलो आलोचना निम्त्याएको थियो । विकिलिक्सलाई यी सामग्री अमेरिकी सैनिक ब्राडले म्यानिङ (हाल लिंग बदलेर चेल्सी मानिङ भएकी छन्)ले उपलब्ध गराएकी थिइन् । यसपटकको सामग्री सार्वजनिक भएपछि अमेरिकी सरकार असान्जविरुद्ध कदम चाल्ने निर्णयमा पुग्यो । त्यही समयमा स्विडेनमा भ्रमणको समयमा असान्जले दुई महिलामाथि बलात्कार गरेको मुद्दा पर्‍यो । ती मुद्दाको सुनुवाइका लागि स्विडेन अदालतले पेस हुन आह्वान गर्‍यो । यो अमेरिका सुपुर्दगीको प्रयास भन्दै उनी लन्डनस्थित इक्वेडरको दूतावासमा पसे । सन् २०१२ अगस्टमा इक्वेडरको वामपन्थी सरकारले उनलाई नागरिकता प्रदान गर्दै बेलायतस्थित दूतावासमा शरण दिएको थियो । तर, इक्वेडरमा सरकार बदलिएसँगै सन् २०१९ को अप्रिलमा उनलाई दिइएको शरण खारेज भयो । लगत्तै लन्डन प्रहरीले उनलाई दूतावासबाटै बलपूर्वक पक्राउ गर्‍यो । यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्विडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि एक्वेडरको दूतावासमा बसिरहेका थिए । सन् २०१९ देखि उनलाई बेलायतको उच्च सुरक्षायुक्त बेलमार्स कारागारमा बन्दी बनाइएको थियो । 

असान्ज रिहा भएपछि कसले के भने ?
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार संसद्लाई सम्बोधन गर्ने क्रममा असान्जको मुद्दा ‘धेरै लामो समयसम्म तानिएको’ बताउँदै अहिलेको रिहाइलाई स्वागत गरे । त्यसअघि प्रधानमन्त्री एन्थोनी अल्बानिजका प्रवक्ताले एक विज्ञप्तिमा असान्जविरुद्ध अमेरिकामा कानुनी कारबाही चलिरहेको बताएका थिए । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सामाजिक सञ्जाल एक्समा जुलियन असान्जको रिहाइको उत्सव मनाएको प्रतिक्रिया दिएका छन् । ‘धन्न स्ट्याचु अफ लिबर्टी खाली प्रतीक बन्न सकेन’, उनले लेखेका छन् । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले असान्ज ‘सत्यको लडाइँमा साहस र बहादुरीको उदाहरण’ भएको बताए । रोयटर्सका अनुसार जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले असान्जको मुद्दा अन्ततः समाधान भएकाले आफू खुसी भएको बताइन् । संयुक्त राष्ट्रसंघले उनको रिहाइको स्वागत गरेको छ । प्रवक्ता लिज थ्रोसेलले उनको रिहाइ मुद्दालाई निश्चित रूपमा समाधान गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले असान्जलाई ‘स्वतन्त्र’ भएकोमा बधाइ दिँदै उनलाई पत्नीसँगै कोलम्बिया भ्रमणको निम्तो दिएका छन् । तर, पूर्वअमेरिकी उप–राष्ट्रपति माइक पेन्सले भने याचिका सम्झौताको कडा आलोचना गर्दै यसलाई ‘न्याय तुहिएको’ भने ।