१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १२ बुधबार o८:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा अध्यक्ष  नेम्वाङले औँल्याए आफ्नै कमजोरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o८:१६:oo

फुटबलर्स मिसन टुगेदरले पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीको सम्मान गरेको कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले बाँकी दुई वर्षको कार्यकालमा सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका छन्

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले संस्थामा एकता नहुनुमा आफ्नो कमजोरी रहेको बताएका छन् । फुटबलर्स मिसन टुगेदरले मंगलबार पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नै कमीकमजोरी औँल्याएका हुन् । उनले फुटबल विकासका लागि सहकार्य गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् । 

‘तपाईंहरूले एन्फाले गर्नुपर्ने काम गरिरहनु भएको छ । यो संस्थाको एकता देख्दा एन्फामा पनि किन हुँदैन भन्ने लाग्छ,’ उनले भने, ‘एन्फामा एकता नहुनु मेरो कमजोरी हो ।’ फुटबल विकासमा सबैले चाहना राख्दा सम्भव हुने उनको भनाइ छ । ‘सबैले चाहना राख्यौँ भने हामी नेपाली फुटबलको विकास गर्न सक्षम छौँ,’ सहकार्यमा एन्फालाई अगाडि बढाउन आग्रह गर्दै उनले भने, ‘सबैजना मिलौँ । छलफलमा जुटौँ । नेपाली फुटबलको विकासमा हातेमालो गरौँ ।’

यसै ६ असारमा उनको दुई वर्ष कार्यकाल पूरा भएको थियो । यस अवधिमा अध्यक्ष नेम्वाङले गरेका कतिपय निर्णय विवादास्पद बनेका थिए । सबैलाई समेटर एन्फालाई अगाडि बढाउन नसक्दा उनले अविश्वासको प्रस्ताव सामना गरेका थिए । यद्यपि, उनले आफूको अविश्वास प्रस्तावविरुद्ध जित हात पारेका थिए । एन्फा इतिहासमा अविश्वास प्रस्ताव सामना गर्ने उनी एक मात्र अध्यक्ष हुन् । 

फुटबल विकासमा ढिलो गर्न नहुने
चारमध्ये दुई वर्ष अध्यक्षका रूपमा बिताउँदा मैदानभित्र भन्दा बाहिर निरन्तर विवादको उनले सामना गरेका छन् । जसकारण, नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप उनीमाथि छ । दुई वर्ष कार्य बाँकी रहँदा फुटबल विकास गर्न ढिलो गर्न नहुने उनले जनाए । ‘हामीसँग समय छैन । त्यसैले अब ढिलो गर्नुहुँदैन,’ नेम्वाङले भने । पछिल्लो दुई वर्षमा ‘ए’ र ‘सी’ डिभिजनको लिग एकपटक मात्र भएको छ । यद्यपि, यी दुवै लिग विवारहित रूपमा उनले सञ्चालन गर्न सकेनन् । बी’ डिभिजनको लिग दुई वर्षसम्म पनि हुन नसक्दा प्रत्येक वर्ष हुनुपर्ने लिगको साइकल पूरा हुन सकेको छैन । 

तत्काल कर्माछिरिङ शेर्पाको कार्यसमितिले महिला राष्ट्रिय लिगसमेत नेम्वाङले पूरा गर्न सकेनन् । उनले राष्ट्रिय लिग बीचमै रोकेर विजेता घोषणा गरेका थिए । एन्फाभित्रको विवाद र अनियमितताकै कारण पछिल्लो दुई वर्षमा सयभन्दा बढी राष्ट्रियस्तरका खेलाडी विदेश पलायन भएका छन् । फुटबलर्स मिसन टुगेदरले सन् १९८८ सम्मका १०५ पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो ।