
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले नेपाल वायुसेवा निगमको सुधारका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले घाटामा रहेको राष्ट्रिय ध्वजावाहक वायुसेवा सुधारको योजना कहाँ पुग्यो भनी प्रश्न गरिन् ।
सरकारले निगमको सुधारका लागि ०५८ सालदेखि निरन्तर आठ–नाैवटा विभिन्न सुझाव समिति तथा कार्यदल गठन गर्दै आइरहेको उल्लेख गर्दै सांसद गौतमले ०७६ को पछिल्लो सुझाव कार्यदलको प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालीन सुधारहरू प्रस्तुत गरिएको बताइन् ।
‘सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नाले मात्र वायुसेवा सुधार हुँदैन । सो सुझाव के-के कार्यान्वयन भयो ? के बाँकी छ ?’ उनले सोधिन्, ‘यसबारे सदनलाई जानकारी गराउन पर्यटनमन्त्रीलाई अनुरोध गर्दछु ।’