१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
२o८१ असार २ आइतबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ताप्लेजुङका पहिरोपीडितलाई विद्यालयमा सारियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o८:३९:oo

ताप्लेजुङको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । करिब एक सातादेखि परिरहेको अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।

शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका– ५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले पापुङको ताङ्खु बस्ने आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको बताए । पापुङको ताङ्खु आमछाङ खोल्सामा ६–७ सय मिटरमाथिबाट आएको पहिरोले तीन परिवारका १९ जना विस्थापित गरेको रावलले बताए । विस्थापितलाई खड्गबहादुर लिम्बूको घरमा राखिएको छ । 

पहिरोकै कारण सिरिजंघा गाउँपालिका– ६ मामाङ्खेमा रहेको लिम्बुवान संग्रहालयको अवस्थासमेत नाजुक बनेको छ । सोही वडाको थत्रुवा टोलमा दुई दर्जन घर विस्थापित भएका छन् । कसैको घर पहिरोले पुरिएको छ भने कसैको घर चर्किएर बस्न नहुने भएको छ । सिरीजंघा– ६ मामांखेका सचिव विशालकुमार शाहले दुई दर्जन घर विस्थापित भएको बताए ।

पूर्णकुमार माबो, भीममाया लिम्बू, मनोज राई, इन्द्रबहादुर भट्टराईको घर पहिरोले पुरेपछि विस्थापित भएको स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यपक लक्ष्मी माबो लिम्बूले बताए । सोही क्षेत्रमा नारायण भट्टराई, रनकुमार लिम्बू तथा चन्द्रमान लिम्बूको समेत घर पुरेको छ ।

कुमारी गौतम, यामबहादुर लिम्बू, बुद्धिमान लिम्बू, कैलाश लिम्बू, हर्कमाया लिम्बू, भीमकुमार लिम्बू, कल्पना लिम्बूको परिवार विस्थापित भएको सचिव शाहले बताए । विस्थापित परिवारका करिब सयजनालाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको उनको भनाइ छ । 

सिरीजंघा गाउँपालिका– ८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको मामाङ्खेका स्थानीय कैलाश माबोले जानकारी दिए । विस्थापित भएका परिवारले सुरक्षित ठाउँमा आफन्तको शरण लिएर बस्दै आएका छन् । सिरीजंघा– ७ खेबाङमा तीन घरपरिवार पहिरोमा परी विस्थापित बनेका छन् । स्थानीय यनराज लिम्बूको तीनतले काठको घर भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए ।  

ad
ad
ad
ad