१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ९ आइतबार o८:२५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइडिए काठमाडौं बैठकको निष्कर्ष : गरिब मुलुकका लागि ठूलो आर्थिक प्याकेज जरुरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o८:२५:oo

नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए–२१) को तेस्रो परिपूरण बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आइडिए मुलुकहरूका विकासको आकांक्षा सम्बोधन गर्न ऐतिहासिक रूपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निष्कर्ष निकालेको छ ।  

बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकका लागि सहयोग रणनीति तथा सहयोगको क्षेत्र निर्धारण गरेको छ । बैठकले ती (आइडिए) मुलुकका लागि तीनवर्षे रणनीतिको खाका तयार पारेको हो । बैठकमा तीन दिनसम्म चलेको प्राविधिक सत्र (बन्दसत्र)मा आइडिए देशहरूको वित्तीय परिदृश्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको थियो । 

यस्तै, बन्दसत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिको ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीबीच गहन छलफल भएको थियो । 

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धि ऐतिहासिक हुने बताए । ‘पहिला आइडिएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो,’ उनले भने, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’ 

बैठकले आइडिए मुलुकका जनताका लागि विद्युत् र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ । यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आइडिएले अघि सारेको उनले बताए । 

आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०–११) मा दक्षिण कोरियामा हुने आइडिए २१ को अन्तिम बैठकले तीनवर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ ।

राजधानीस्थित होटेल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठककोे मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले बैठक समापन गरे । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । 

बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गसहित आधा दर्जनभन्दा बढी उपाध्यक्ष र निर्देशक सहभागी थिए ।