![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/gold-and-silver2022-11-14-12-31-41.jpeg)
यो साता नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ । साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरे पनि त्यसयता निरन्तर ओरालो लागेको सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँ थियो । सोमबार मूल्य थप बढेर प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ कायम भयो । त्यसयता भने मूल्यमा निरन्तर ओरालो लागेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
मंगलबार एक लाख ४० हजार ६ सय रुपैयाँ र बुधबार एक लाख ४० हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन बिहीबार १८ सय रुपैयाँले घटेको थियो । बिहीबार प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा सुन किनबेच भएको थियो । शुक्रबार मूल्य थप १८ सय रुपैयाँ प्रतितोला घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ प्रतितोला ३८ सय रुपैयाँले घट्दा उपभोक्ताले केही सहज महसुस गरेका छन् ।
त्यस्तै, चाँदीको भाउ पनि उच्च विन्दुमा पुगेर ओर्लिएको छ । आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार १९ सय ४० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसयता भने मूल्य निरन्तर घटेको महासंघले जनाएको छ । मंगलबार १८ सय ८५, बुधबार १९ सय, बिहीबार १८ सय ६५ र शुक्रबार १८ सय ५५ रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय रूपमै ब्याजदरमा कटौती हुँदा लगानीकर्ता सुन–चाँदीमा आकर्षण भएकाले विश्व बजारमै मूल्य बढिरहेको विश्लेषकले बताएका छन् । पछिल्लो समय सुन भण्डारणमा लगानी बढाउने चिनियाँ रणनीतिले मूल्य वृद्धिमा थप चाप परेको छ ।