१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ बैशाख ३० सोमबार १०:२३:००
Read Time : > 2 मिनेट
साहित्य

आँधीको नृत्यमा अभिभावकलाई पाठ

Read Time : > 2 मिनेट
२०७६ बैशाख ३० सोमबार १०:२३:००

कक्षामा नानीहरू झगडा गर्दै छन् । कोही हल्ला गर्दै छन् त कोही रुँदै छन् । दुई शिक्षकलाई कक्षा सम्हाल्न हम्मेहम्मे छ । तर, कक्षा साम्य हुनासाथ शिक्षक मोबाइलमा व्यस्त हुन्छन् । सामाजिक सञ्जालमा अलमलिन्छन् । 

शिल्पी थिएटरको मञ्च स्कुलमय छ । मन्टेस्वरीबाट सुरु नाटकमा कक्षा बढ्दै जान्छ । तिनै विद्यार्थी ‘टिनएज’मा आइपुगेका छन् । केटाहरू अभिभावकको मोबाइल चोरेर अश्लील दृश्य हेर्न व्यस्त छन् । स्कुलमै चुरोट तान्छन् । ‘केटाहरूले खाँदा मैले खान हुँदैन ?’ संगीता उराँवको यो डायलगले लैंगिक भेदभावलाई प्रश्न गरेको छ । उता, नेपाली विषयको कक्षामा विद्यार्थी नेपाली पढ्न नै रुचाउँदैनन् । नेपाली विषय र त्यसका शिक्षकलाई हेयका दृश्यले हेर्ने, नेपालीलाई हल्का रूपमा लिने र कक्षामा हल्ला गरिरहने अहिलेका पुस्ताको चरित्रलाई नाटकमा उतारिएको छ । 

नाट्यकर्मी घिमिरे युवराजले यसपटक फरक पृष्ठभूमिमा नाटक लेखेका छन् । प्रायः मिथ, कल्चर र फिक्सनमा नाटक गरिरहेका घिमिरेलाई उनकै विद्यार्थीले आफ्ना बारे नाटक लेख्न आग्रह गरेपछि उनी सुरिएका थिए । यसै पनि उनलाई नाटकको गहकिला विषयबाट सरल कथावस्तुतिर जान मन थियो । अनि जन्मियो नाटक ‘आँधीको मनोरम नृत्य’ ।

अहिलेका किशोरावस्थाका युवतीको प्रेम र लवाइखवाइलाई उवेलाका सीता र भृकुटीसँग तुलना गरिएको छ । आफ्नो संस्कृतिप्रति चासो नदिँदा घर, परिवार र समाज बिग्रने भय नाटकमा देखाइएको छ । आफ्ना सन्तान र विद्यार्थीलाई आफ्नो संस्कार र संस्कृतिबारे सिकाउन आग्रह पनि गरिएको छ । 

सायदै कुनै नाटकमा देखिने लाइभ म्युजिकले नाटकलाई थप उचाइ दिएको छ । स्मारिका फुँयाल, निमन भित्रकार, रविन परियार र सन्तोष कपालीले लाइभ संगीतको रौनक दिएका छन् । विद्यार्थी, विद्यालय, शिक्षक, अभिभावकसँगै अभिभावकका सरकारी कार्यालयका दृश्यसमेत देखाइएको छ । हाकिम कार्यालय हुन्जेल मात्र काम गरेजस्तो गर्ने र अरूवेला मोबाइल, सेल्फी र चियामा झुम्मिरहने कर्मचारीप्रति व्यंग्य गरिएको छ । 

राम्रो स्कुलमा पढाएको छु भनी आफ्ना छोराछोरीलाई ढुक्कै छोडिदिने अभिभावकलाई उनीहरूप्रति थप जिम्मेवार बन्न आग्रह गरिएको छ । उनीहरूको रुचिअनुसारको विषय पढाउन सुझाइएको छ । पार्टीमा घर बोलाइएका पाहुना जब नशामा डुब्छन्, त्यसपछि घरमा श्रीमती र छोरीले असुरक्षित महसुस गर्न सक्ने तितो सत्यप्रति सजग बन्न प्रत्येक बाबु र श्रीमान्लाई संकेत गरिएको छ । 

देशका विभिन्न ठाउँमा भएका किशोरी बलात्कारका घटनाले विद्यालयमा पढिरहेकी अर्की किशोरीकोे मनोविज्ञानमा नराम्ररी असर परेको छ । उसले जब बलात्कृत साथी र आफूबीच उमेरको तुलना गर्छे, तब ऊ मानसिक तनावमा पर्छे । यसले आफ्ना छोरीलाई साथीको व्यवहार गर्न हरेक अभिभावक र शिक्षकलाई आग्रह गरिएको छ । 

विद्यार्थीलाई यौन र प्रेमका कुरा राम्ररी सिकाएको खण्डमा, केटा र केटी पनि असल साथी हुन सक्छन्, जेन्डरले साथित्वमा असर गर्दैन जस्ता विषय सिकाउन सकेको खण्डमा उनीहरूमा एक किसिमको आत्मबल बढ्ने कुरा नाटकमा देखाइएको छ । 

सानै उमेरमा आफ्ना सहपाठीसँग शारीरिक सम्बन्ध राख्दा गर्भवती हुने र भविष्य बरबाद हुन सक्ने कुरालाई नाटकमा सबल रूपमा देखाइएको छ । त्यस्तै, सडकमा गुड्ने सवारीमा प्रेमका सायरी राखिनाले पढाइभन्दा ज्यादा ध्यान विद्यार्थीको त्यतै खिचिएको सूक्ष्म समस्याप्रति सजग गराइएको छ । 

कतिपय किशोरीलाई मनका कुरा र कुण्ठा पोख्नका निम्ति सही व्यक्ति हुँदैनन् । उनीहरूको मनोविज्ञानलाई बुझ्ने मान्छे हुँदैन । जसले गर्दा बेकारका सम्बन्धमा अल्झाएर राम्रा विद्यार्थीलाई गलत बुझिदिन्छन्, शिक्षकहरू । त्यसले उनीहरूको मनोविज्ञानमा असर पार्छ । यसप्रति शिक्षक र अभिभावकलाई ध्यान दिन आग्रह गरिएको छ । 

परिवारमा झगडा हुँदा बूढी आमा र छोराछोरीको मनमा नराम्रो असर पर्न सक्नेप्रति सचेत गराइको छ । छोराछोरीका अघि बाआमा वा सासू–ससुुरालाई नराम्रो गर्दा भोलि त्यही व्यवहार उनीहरूले सिक्नेप्रति सजग गराइएको छ । 

बाबुआमाले छोराछोरीलाई गाली गर्नुको सट्टा प्रेमले सम्झाउँदा उनीहरूले बुझ्ने र त्यसले उनीहरूको मनमा सकारात्मक प्रभाव पर्ने देखाइएको छ । बाबुभन्दा आमाले छोरीको पीडा त बुझ्ने, तर उनीहरूले आफैँले जे भोगी आएको छ, त्यही नै छोरीलाई सिकाउने र पुरुष, समाज, परिवार, खान्दानको पर्खाल तोड्न अझै नसकेका कारण समस्या आएकोप्रति सजग गराइएको छ । 

अहिलेका अभिभावकले आफ्ना छोराछोरीलाई संस्कार र संस्कृित पनि सिकाउनुपर्ने, राम्रा–नराम्रा, सत्य–असत्यबारे जानकार गराउनुपर्नेप्रति नाटकले ध्यान मोडिदिएको छ । 

‘अपवादलाई छोडेर हाम्रा लोग्नेलाई भन्दा विदेशी जातका कुकुरलाई स्याहार्न सजिलो हुन्छ,’ नाटकमा प्रयोग भएको यो डायलगले पुरुषहरूको सामन्ती व्यवहारलाई प्रहार गरेको छ । 

मन परेको केटा छोड्नुभन्दा स्कुल छोड्न राजी निस्सिमको मनोदशा नाटकमा देखाइएको छ । उसको बोली दबिएको छ, तर बोल्न चाहन्छे । ऊ केही भन्न चाहन्छे । शिक्षक र अभिभावक कोहीले उसको कुरा नसुनिदिएपछि बेहाल हुन्छे । ऊ खुल्न चाहन्छे र आँधीजस्तै नाच्न चाहन्छे । 

कलाकार संगीता उराँवको अभिनय निकै बलियो छ । आत्मालाई छामेर त्यसमा भिज्न सक्नु उनको विषेशता हो । पुराना कलाकार मञ्जु श्रेष्ठदेखि नयाँ कलाकारसम्म सबैको अभिनय सबल छ । 

यति हुँदाहुँदै पनि नाटकमा केही त्रुटि भेटिन्छन् । अभिनयका निम्ति नक्कली चुरोट प्रयोग गर्न सकिन्थ्यो । त्यो नगरिएर सक्कली चुरोटको प्रयोगले धूम्रपान नगर्नेलाई सकस हुन्छ । नाटक ६ जेठसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ ।