१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
कोदारी राजमार्गमा पहिरो ।
पर्शुराम काफ्ले नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:१८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चीन जोड्ने कोदारी राजमार्गको बेहाल

कोदारीसहित अरनिको राजमार्गका लागि १४ चैत ०७१ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरेका थिए १६ अर्ब अनुदान

Read Time : > 4 मिनेट
पर्शुराम काफ्ले, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:१८:oo

स्थलगत रिपोर्ट

५७ वर्षअघि पहिलोपटक चीनसँग नेपाल जोडिएको कोदारी राजमार्गको अन्तिम ठाउँ तातोपानीको लिपिङ र पारिपट्टिको खासा (जाङ्मु)लाई भोटेकोशीको पुलले छुट्याउँछ । भोटेकोशीपारि चीनको खासा वा जाङ्मु क्षेत्र र वारि नेपालको तातोपानीस्थित लिपिङ पर्छ । भोटेकोशीको पक्की पुलको आधा भागले नेपाल र चीन छुट्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी लिपिङको दूरी जम्मा २६ किलोमिटर छ । तर, चीनसँग सीमा जोड्ने कोदारी राजमार्गको यस्तो बेहाल छ कि मालवाहक गाडीलाई यो बाटो छिचोल्न तीनदेखि चार घण्टा र निजी गाडीलाई डेढ घण्टा लाग्छ । 

बाह्रबिसेदेखि भोटेकोशीको छेवैछेउको भिर छिचोलेर सीमानाका पुग्न अत्यन्तै कठिन छ । कोदारी राजमार्गका बीचमा अस्थायी प्रकृतिका बेलिब्रिज छन् । बेलिब्रिजबाहेक सजिलो गरी गाडी गुड्ने ठाउँ राजमार्गमा छैन । ठाउँ–ठाउँमा गएका पहिरोले बिगारेको सडक राम्रो मर्मत भएको छैन भने बाटो लगभग कच्ची र खाल्डाखुल्डी छ । 

छिमेकी चीनसँग आर्थिक सहकार्यबारे काठमाडौंमा ठुल्ठूला भाषणबाजी हुँदै आएका छन् । तातोपानी नाका जसले नेपाल र चीनलाई पहिलोपटक सडकबाट जोड्यो, त्यसलाई जोड्ने सीमा सडकको बेहालप्रति काठमाडौंमा आवाज सुनिँदैन । 

‘कोदारी राजमार्गको अवस्था अत्यन्तै समस्याग्रस्त छ । हाम्रो प्रयासमा अलिकति मर्मत गराएर गाडी कुद्नेसम्म बनाएका छौँ । तर, दुःखसाथ भन्नुपर्छ बाटोको अवस्था समस्याग्रस्त छ,’ भर्खरै तातोपानी पुगेर फर्केका सोही क्षेत्रका सांसद माधव सापकोटाले भने, ‘चीन सरकारले मर्मत गर्ने घोषणा गरेको यो क्षेत्रमा सन्तोषजनक काम भएको देखिएन । यसबारेमा चिनियाँ राजदूतलाई पनि भनिसकेको छु ।’ 

झारा टार्ने काम मात्रै भएको छ : ई. सुरज महर्जन सूचना अधिकारी, डिभिजन सडक कार्यालय, चरिकोट
चिनियाँले अस्थायी प्रकृतिको काम गरेका रहेछन् । हिउँदमा उनीहरूले हल्काफुल्का काम गर्ने, बर्सातमा पानीले सबै बगाइदिने प्रकारको झारा टार्ने काम मात्रै भएको छ । चौथो चरणमा के काम गर्ने भन्नेबारे जानकार छैनौँ । बजेट भयो भने वा स्रोत सुनिश्चित भयो भने आगामी आर्थिक वर्ष काम गर्न सकिएला । अहिले केही पनि गर्न सकिने अवस्था छैन ।

दश वर्षअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको चीन भ्रमणका वेला १४ चैत ०७१ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले ९० करोड चिनियाँ मुद्रा (१६ अर्ब २० करोड रुपैयाँ) अनुदान घोषणा गरेका थिए । यो रकमले कोदारी मात्र नभएर पूरै अरनिको राजमार्ग मर्मत गर्ने दुई देशको सहमति थियो । अरनिको मर्मतका नाममा तीन चरणमा चीनले करिब १० अर्ब रुपैयाँ खर्च गरिसकेको जानकारी अर्थ मन्त्रालयमा दिएको छ । चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी राजमार्ग मर्मतमा संलग्न थियो । चिनियाँ अनुदान रकममा चिनियाँ ठेकेदार कम्पनी संलग्न भएको, तर कहाँ काम भयो भन्नेमा जानकारी नभएको उक्त राजमार्ग हेर्ने सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले जानकारी दिए । 

तातोपानी र तिब्बतको जाङ्मु (खासा) जोड्ने सडकमार्ग ०७२ को भूकम्पपछि लामो समय बन्द भयो । किनभने चीनले भौगर्भिक कारण देखाएर सीमानाका बन्द गर्‍यो । ०७३ मा भोटेकोशीमा आएको बाढीले तातोपानी क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । कोरोना महामारीसमेत थपिएपछि बन्द भएको नाका ०७७ कात्तिकमा एकतर्फी खुलेर फेरि बन्द भएको थियो । तर, सर्वसाधारणका लागि भने भूकम्पको आठ वर्षपछि गत १५ भदौदेखि खुलेको थियो । तर, कोदारी राजमार्ग मर्मत नहुँदा तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । 

नेपालको कोदारी राजमार्गको गुणस्तर, तातोपानी लिपिङ बजारको अवस्थिति, तिब्बततिर खासा बजारको पुनर्निर्माण र तिब्बतसँग जोडिएको चिनियाँ सुरक्षा संवेदनशीलताले कोदारी राजमार्गको भविष्य जोडिएको छ । 

‘नेपालतिर कोदारी राजमार्गको बेहाल हेर्दा लाग्छ, यो कुनै घोडेटो बाटो हो, किनभने महाशक्ति चीनसँग जोड्ने नेपालको महत्वपूर्ण राजमार्ग यो स्तरको हुन सक्दैन,’ त्यहाँ कार्यरत एक सुरक्षा अधिकारीले भने, ‘कोदारी राजमार्ग मर्मत कसैको एजेन्डामा वा प्राथमिकतामा देखिएन ।’ 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्लो चीन भ्रमणका क्रममा उनका समकक्षी वाङ यीले अरनिको राजमार्ग (कोदारीसमेत) मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने बताएका थिए । तर, तेस्रो चरणसम्म के काम भयो भन्नेमा सरोकारवाला नै अलमलमा छन् । ‘चिनियाँले अस्थायी प्रकृतिको काम गरेका रहेछन् । हिउँदमा उनीहरूले हल्काफुल्का काम गर्ने, बर्सातमा पानीले सबै बगाइदिने प्रकारको झारा टार्ने मात्रै काम भएको रहेछ,’ सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी महर्जनले भने, ‘चौथो चरणमा के काम गर्ने भन्नेबारे जानकार छैनौँ ।’ 

महर्जनले चालू आर्थिक वर्ष कोदारी र अरनिको राजमार्ग स्तरोन्नतिको शीर्षकमा बजेट नभएको बताए । ‘बजेट भयो भने वा स्रोत सुनिश्चित भयो भने आगामी आर्थिक वर्ष काम गर्न सकिएला । अहिले केही पनि गर्न सकिने अवस्था छैन,’ महर्जनले भने । 

सांसद सापकोटाले कोदारी राजमार्गमा चिनियाँ पक्षले सन्तोषजनक काम नगरेकाले अब गुणस्तरीय काम गर्ने प्रतिबद्धता नआए सहयोग नलिने चेतावनी दिए । ‘मैले चिनियाँ राजदूतलाई स्पष्ट रूपमा भनेको छु कि राम्रो काम गर्नुस्, कि छाड्नुस्, हामी हाम्रो बजेटबाट कोदारी राजमार्ग मर्मत गर्छौँ, अब यसरी हुँदैन,’ सापकोटाले भने, ‘सडक विभागले कोदारी राजमार्गमा सडक मर्मत र पहिरो पन्छाउन तीन अर्ब रुपैयाँको डिपिआर तयार गरेको छ । नेपाली डिपिआरअनुसार गर्ने भए ठीक छ, नभए चिनियाँ पक्ष संलग्न नहुँदा हुन्छ भनेका छौँ । चिनियाँ राजदूतले डिपिआर मागेका छन् ।’ 

तातोपानी नाका खुल्नुअघि यसरी बनेको थियो कोदारी राजमार्ग
नेपाल–तिब्बत जोड्ने कोदारी राजमार्ग ०२४ मा निर्माण भएपछि तातोपानी नाका खुलेको थियो । जानकारका अनुसार त्यसवेला चीनलाई तिब्बत भएर दक्षिण एसिया जोड्ने च्यानल चाहिएको थियो । तिब्बतको सुरक्षामा चीन आश्वस्त भएपछि नेपाल र चीनबीच कोदारी राजमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यसवेला राजमार्ग नबनाउन आएको बाह्य दबाबबारे राजा महेन्द्रले जवाफ दिएका थिए, ‘नेपालमा कार चढेर साम्यवाद आउँदैन ।’ 

नेपाल र चीनबीच कोदारी राजमार्ग बनाउने सम्झौता १५ अक्टोबर  १९६१ मा भयो । बेइजिङमा परराष्ट्रमन्त्री डा. तुल्सी गिरी र उनका चिनियाँ समकक्षी चेङ यीले राजमार्ग निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । १ जुलाई १९६२ देखि निर्माण सुरु भएको थियो । ३० जुन १९६६ मा सम्पन्न हुनुपर्नेमा नेपालले भनेजस्तो सडक तयार गर्नुपर्ने भएकाले एक वर्ष धकेलियो । चीन सरकारले ३५ लाख पाउन्ड स्टर्लिङमा सडक बनाएको थियो । 

त्यसवेलासम्म चीनले तिब्बतको राजधानी ल्हासाबाट न्यालमसम्म सात सय १४ किलोमिटर सडक विस्तार गरिसकेको थियो । कुतीबाट ४० किलोमिटर सीमावर्ती कोदारीसम्म बाटो निर्माण गर्नुपर्ने थियो । चिनियाँले कुतीदेखि कोदारी र कोदारीदेखि काठमाडौंसम्म ११४ किलोमिटर सडक निर्माण गर्ने तयारी सुरु भयो । सर्भे डिजाइन र निर्माणका लागि चिनियाँ इन्जिनियरको टोली आएको थियो । 

कोदारीबाट बाह्रबिसेसम्मको सडकमध्ये १२ किलोमिटर डरलाग्दो भिर छिचोल्न गाह्रो थियो । चीनले सादा पोसाकमा सैनिक पठाएर बाटो खनेको थियो । तर, बाटो बनाउने चिनियाँ टोलीको नाम चाइनिज रोड कन्स्ट्रक्सन बटालियन थियो । त्यसवेला चिनियाँ सेनाका कमान्डरका नेपाली अनुवादक चेङ सुयोङ (पछि नेपालका लागि चिनियाँ राजदूत)ले ‘वी एन्ड अस’ किताबमा यो प्रसंग उल्लेख गरेका छन् । 

कुनै समय नेपाल तिब्बतको व्यापारिक केन्द्र कुती थियो । खासा बजार तयार भएपछि र कोदारी राजमार्ग निर्माण भएपछि कुतीबाट व्यापारिक केन्द्र खासामा सर्‍यो । भक्तपुरसम्म बाटो निर्माण भएपछि बाह्रबिसेदेखि यताको सडकको नाम अरनिको राजमार्ग राखियो । १९६७ जुनमा राजा महेन्द्रले राजमार्ग उद्घाटन गरेका थिए । नेपाल र चीन जोड्ने यो पहिलो राजमार्ग हो ।

सुनसान तातोपानी बजार
भूकम्पले तहसनहसजस्तै भएको तातोपानी बजार अझै उठ्न सकेको छैन । यसको साइनो सडकसँग जोडिन्छ । तिब्बततर्फ मितेरी पुलछेउमा आधा दर्जन पसलबाहेक केही खुलेका छैनन् । तातोपानी क्षेत्रका मानिसले पुलपारि तिब्बततिर काम गर्दा रहेछन् । स्थानीयलाई अध्यागमन विभागले पास उपलब्ध गराउँछ, त्यही पास लिएर उनीहरू नेपाल–तिब्बत ओहोरदोहोर गरिरहन्छन् । सिन्धुपाल्चोकबाहिरका नेपालीले जस्तै न्यालम (कुती) काउन्टीबाहिरका चिनियाँले पनि आवतजावतको सुविधा पाउँदैनन् । 

भूकम्पले भत्किएका घरको भग्नावशेष जस्ताको तस्तै छ । पुलपारि भने सडक गुणस्तरीय छ । तर, चिनियाँ अध्यागमन भवनभन्दा ठूला चिनियाँ सुरक्षाकर्मी बस्ने दुईवटा भव्य ब्यारेक छन् । त्यहाँबाट खासा बजार पुग्दा यात्रुले दुईवटा सुरक्षा जाँच पार गर्नुपर्छ । अहिले चीनले १० वर्षअघि भूकम्पले हल्लाएका घर पूर्णतः विस्थापित गरेर नयाँ संरचना बनाउँदै छ । हालको भवन भत्काउन नेपालबाट पनि ५–६ जना कामदार काममा खटिएका रहेछन् । ‘खासा बजार पुनर्निर्माण हुन अझै दुई वर्ष लाग्न सक्छ,’ जाङ्मु पोर्टछेउमा भेटिएका तिब्बती मूलका स्थानीयले भने । 

चीनतर्फ अत्याधुनिक प्रविधि र क्यामेरासहितको अध्यागमन विभाग छ । नेपालतिर अध्यागमन कार्यालय एउटा सामान्य कोठामा छ । त्यहाँ यात्रुको सामान चेकजाँच गर्ने स्क्यानिङ मेसिन छैन । सामान्यतः पासपोर्ट र भिसाबाहेक चेकजाँच गर्ने संयन्त्र नै छैन नेपालतिर । नेपालका सुरक्षाकर्मीको आँखाले जे–जति देख्छ, त्यही आधारमा तिब्बतबाट आउने यात्रुको निगरानी हुने गरेको छ । तिब्बतबाट दैनिक रूपमा २० देखि २५ कन्टेनरमा फलफूल, लत्ताकपडा आउने गरेको छ । यसका लागि एउटा भवन निर्माणको तयारी छ । 

ad
ad