१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ११ आइतबार २०:२९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागलुङमा घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत, संरक्षणमा नयाँ पुस्ता

Read Time : > 2 मिनेट
२०८० चैत ११ आइतबार २०:२९:००

‘मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो। 
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो। 
हाय हाय रगत के मसिया बनावे सखियाँ। 
धड्कन लाग्यो छाती हो।’

बागलुङ बजारको नारायणचोकको चौतारीमा आइतबार बिहानैदेखि युवा र पाका पुस्ता यही गीत गाउँदै रमाउँदै थिए। पाका पुस्ताले गीतको भाका झिक्थे भने नयाँ पुस्ताले यसलाई साथ दिए। 

आइतबार होलीको दिन बागलुङका नेवार समुदायले मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै गाउँदै होलीको रङसँग रमाउँदै थिए। 

उनीहरूले गाएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबुढीसम्मको ध्यान तान्यो। मादल बजाउँदै बजार परिक्रममा गर्दै गर्दा घरको छलबाट धेरैले नियालेका थिए। 

आइतबार पहाडी क्षेत्रमा होलीको रौनक थियो। सडकमा युवायुवती, ‘ह्यापी होली –ह्याप्पी होली’ भनी रमाइरहेका यहाँका नेवार समुदायले भने वर्षौँ पुरानो फागु गीत घन्काउँदै बजारमा छुट्टै माहोल बनाएका थिए। 

यहाँमा नेवार समुदायले हरेक वर्ष होली पुर्णिमाका दिन आफ्नो परम्परागत संस्कृतिको संरक्षण गर्दै यो पर्व मनाउँदै आएका छन्। नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु अर्थात् होली खेलिन्छ। होलीमा नेवार मात्र हैन, अन्य समुदायका व्यक्तिहरूको पनि उपस्थिति थियो। 

पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा

होलीमा शुभकामना बाँढ्नका लागि पुगेका बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो भाका सुन्दा नौलो लागेको बताए। 

अन्य ठाउँमा रङ दलेर खुसी साटासाट गरेर मनाउने गरेको होली पर्व यहाँका नेवार समुदायले फागु गीत गाएर फरक शैलीमा मनाएको देख्दा आफू आश्चर्यमा परेको बताए। 

पाकादेखि युवासम्मका पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता देखिएको थियो। प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अन्य स्थानमा भन्दा यहाँ होली मनाउने शैली फरक माने। यसले होलीको फरक संस्कृति झल्काएको छ।’
 
फागु गीत सुन्न र नाच हेर्नका लागि युवायुवतीहरूको भिड लागेको थियो। परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंका खल’को आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत गाइएको नेपा भाषा मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारी बताउँछन्। 

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा परेको उनी बताउँछन्। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध रहेको राजभण्डारीको भनाइ छ। 

‘फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ, फागुको राग लिन्छौँ गाउँछौँ, भनेर भनिएको छ। 

महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका माया पिरतीलगायतका भाव गीतमा समावेश गरिएको मंका खल बागलुङका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले जानकारी दिए। 

‘हामीले संस्कृतिको प्रवर्द्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौँ,’ छोटाले भने, ‘मनको भावनालाई वसन्त राग शैलीमा रङ्याउने गीत नै फागु गीत हो।’ केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति यहाँका नेवार समुदाय चिन्तित छ। 

मौलिक संस्कृतिको जर्गेनामा मंका खल 

फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जगेर्नाका लागि नेपाल भाषा मंका खल बागलुङका संरक्षणमा जुटेको छ। 

पुरानो संस्कृतिलाई हामी हराउँन दिँदैनौँ, मंका खल बागलुङका अध्यक्ष राजभण्डारीले भने, ‘हामी मौलिक संस्कृति जगेर्नाका लागि पहल थालेका छौँ। यहाँ धेरै पुराना संस्कृति छन्, यिनको नयाँ पुस्तामा हस्तान्तरणको लागि हामी पहल थालेका छौँ। फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो।’ मंका खलले यहाँका अन्य स्थानीय संस्कृतिको संरक्षणमा पनि जुटेको अध्यक्ष राजभण्डारीले बताए। 

मंका खलले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणका लागि जोड दिएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्। श्रेष्ठले बागलुङमा रहेका यस्ता पुराना कला संस्कृतिको संरक्षणका निम्ति बागलुङ नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए। 

उनले कला संस्कृतिको संरक्षणले यहाँको मौलिकता जीवित रहने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए। श्रेष्ठले मंका खलले बागलुङका विभिन्न संस्कृतिको संरक्षणमा ठूलो टेवा पुर्‍याएको बताए। उनले पुराना पुस्तालाई युवाहरूले निरन्तर साथ दिएर हरेक संस्कृतिको पुस्तान्तरण पनि हुन जरुरी रहेको बताए। मंका खलले नयाँ पुस्तालाई पनि नेवारी संस्कृतिहरू सिकाउँदै आएको छ।