गिरोहको दबाबमा राष्ट्रपतिले राजीनामा दिन बाध्य भएपछि हैटी अहिले आपराधिक गिरोहको बन्धक बनेको छ
क्यारेबियन टापु हैटीमा हिंसा नियन्त्रणबाहिर जान थालेपछि अमेरिकी सेनाले रातारात हैटीस्थित उसका दूतावासका कर्मचारीलाई हवाईजहाजबाट उद्धार कार्य सुरु गर्यो । आपराधिक गिरोहहरूले कार्यवाहक राष्ट्रपति एरियल हेनरीको राजीनामा माग्दै देशको राजधानी पोर्ट–ओ–प्रिन्समा व्यापक अभियान चलाएका थिए । देशको सबैभन्दा शक्तिशालीमध्ये एक गिरोहका नाइके जिमी ‘बार्बेक्यु’ चेरिजियरले हेनरीले पद नत्यागे ‘नरसंहार निम्त्याउने गृहयुद्ध’ हुने चेतावनी दिएपछि राष्ट्रपतिले राजीनामा दिए । हेनरीको राजीनामापछि देशमा थप अन्योल बढेको छ ।
हेनरीको राजीनामा अघि विगतमा एक–अर्कासँग लड्ने हैटीका गिरोहहरूले मिलेर कारागार र प्रहरी स्टेसनमा आक्रमणको शृंखला चलाएका थिए । आक्रमणपछि हैटीका दुई ठूला जेलबाट ३८ सयभन्दा बढी अपराधी उम्किए । देशको बन्दरगाह र विमानस्थल गिरोहको घेराबन्दीमा छन् । हैटी पहिले नै मानवीय संकटको सामना गरिरहेको छ । यहाँका ९० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेका छन् । यो विश्वकै सबैभन्दा गरिब देशमध्येमा पर्छ । हिंसाको पछिल्लो लहरपछि पहिले नै आन्तरिक शरणार्थी शिविरमा राखिएका लगभग १५ हजार मानिस ती शिविर पनि छाड्न बाध्य भएका छन् ।
हैटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि विपक्षीहरूसँग सहमति भएको सम्झौताअन्तर्गत हेनरीले सन् २०२१ मा सत्तारोहण गरे । तर, हेनरी हैटियन जनतामाझ अत्यन्त अलोकप्रिय रहे । सत्तामा आउनुअघिको सहमतिअनुसार फेब्रुअरी ७ सम्ममा उनले राजीनामा दिनुपथ्र्यो । तर, उनले आफ्नो कार्यकाल लम्ब्याइरहे । देश पछिल्लोपटक सन् २०१६ मा निर्वाचनमा गएको थियो र नयाँ निर्वाचनको कुनै समयतालिका छैन । विगत ६ वर्षमा हैटियन संसद् ठप्प छ, कुनै प्रमुख कानुन पारित भएको छैन । शासन कमजोर छ र देशका इलाकामा नियन्त्रणको कमी छ, जसले गर्दा हैटीले आफूलाई आफ्नो आपराधिक गिरोहको बन्धकभित्र पारेको छ । अमेरिकी अधिकारीले हेनरीलाई छोड्न दबाब दिएनन् । अन्ततः गिरोहको हिंसापछि उनी सत्ता छाड्न बाध्य भए ।
अशान्त इतिहास
आपराधिक गिरोह हैटीका लागि नयाँ होइन । सन् १९५७ देखि १९८६ बीच हैटीमा डुभालियर परिवारको तानाशाही शासन चल्यो । यसविरुद्ध सन् १९५८ मा एक असफल सैन्य विद्रोह भएपछि ‘फ्रान्कोइस डुभालियर लेटोन्टोन माकोउटिस’ भनिने एक निजी र व्यक्तिगत मिलिसिया सिर्जना गरेर सशस्त्र सेनालाई बाइपास गर्न खोजियो ।
माकोउटिसमा एक अर्धसैनिक बलको रूपमा काम गर्ने निरक्षर कट्टरपन्थी–बन्दुकधारी समावेश थिए । तिनीहरू कुनै पनि राज्य निकाय वा अदालतप्रति जवाफदेही हुनुपर्दैनथ्यो । सो समूहलाई शंकालु राष्ट्रपतिका शत्रुहरूलाई दबाउन पूर्ण अधिकार दिइएको थियो । सन् १९८६ मा डुभालियरको शासन अन्त्यसँगै समूहलाई विघटित गरियो । तर, यसका सदस्य आपराधिक समूहका रूपमा संगठित भए र आम मानिसलाई आतंकित गर्ने कार्य जारी राखे । नरसंहार, मजदुर हडताल वा किसान विद्रोहमा हुने हमला र राजनीतिक रूपमा उत्प्रेरित हत्यामा गिरोहहरू संलग्न छन् ।
सन् १९९० मा जिन–बर्टान्ड एरिस्टाइड राष्ट्रपति चुनिएपछि हैटीमा लोकतान्त्रिक संक्रमण सुरु भयो । तर, अर्को वर्ष एक सैन्य विद्रोहद्वारा एरिस्टाइड सत्ताच्युत भए । यससँगै हैटी र सेना दुवैमा भ्रष्टचार बढ्यो । यो अहिले देशको संगठित अपराधसँग लड्न नसक्ने स्थितिमा पुगेको छ । हैटियन फौजले त्यो समय कोलम्बियाको मेडेलिन ड्रग्स कार्टेलसँग मिलेर काम गर्न थाल्यो । तिनले कोलम्बियाबाट सयौँ टन कोकिन हैटी हुँदै अमेरिका पास गर्न सहजीकरण गर्थे । हैटीका राजनीतिक र व्यापारिक सम्भ्रान्तका लागि आयको महत्वपूर्ण स्रोत रहेको यो तस्करी निकै फस्टायो ।
सशस्त्र समूह र सशस्त्र बललाई समेत विघटन गर्ने उद्देश्यले गरिएका प्रयास पूर्णतया सफल हुन सकेनन् । तिनीहरू कहिल्यै निःशस्त्र भएनन् र आफूलाई सामुदायिक रक्षा समूह र अर्धसैनिकजस्ता अति–दक्षिणपन्थी समूहमा रूपान्तरित गरेका छन् । हैटीमा सन् २०१० मा भूकम्प जाँदा हजारौँ कैदी भत्किएको जेलबाट भाग्न सफल भए । तीमध्ये धेरै आपराधिक समूहमा जोडिएको अनुमान छ ।
गिरोहद्वारा सञ्चालित राज्य
विगत केही वर्षयता आपराधिक गिरोहको संख्या तीव्र रूपमा बढेको छ । अनुमानित २०० आपराधिक गिरोह अहिले हैटीमा छन्, र राजधानी पोर्ट–ओ–प्रिन्समा मात्र ९५ वटा छन् । गिरोहहरूको आक्रमणबाट प्रहरी, राजनीतिज्ञ, पत्रकार र आमनागरिक कोही अछुतो छैन । गिरोहहरू अहिले दुई समूहमा एकताबद्ध हुन थालेका छन् । सबैभन्दा प्रचलित गिरोह ‘जी–९ एन्ड फेमिली’ हो । यो ‘बार्बेक्यु’को नेतृत्वमा नौ गिरोहहरूको महासंघ हो । सन् २०२० मा स्थापित जी–९ मोइस र हेनरीको हैटियन टेट काले पार्टी (पिएचटिके)सँग जोडिएको छ, जसका लागि महासंघले भोट सुनिश्चित गरेको आरोप छ ।
हिंसा अन्त्यको अनिश्चितता
यस संकटको अन्त्य गर्न है्रटीलाई निर्वाचित सरकार चाहिन्छ । तर, यस माहोलमा चुनाव गराउनु सजिलो काम हुनेछैन, न त चुनावले अराजकताका गहिरा जराहरू उखेल्नेछ । स्वतन्त्र र निष्पक्ष निर्वाचनको अवस्था अहिले छैन । चुनावका लागि आवश्यक पूर्वाधार नै छैनन् । कुनै पनि स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सुरक्षा बहाल हुनुपर्छ, जुन गिरोहहरूको कारण सम्भव छैन । सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गिरोह र तिनीहरूको बढ्दो हिंसा नियन्त्रण गर्न हैटीमा केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल पठाउने पक्षमा मतदान गर्यो । तर, शान्ति स्थापनामा ढिलाइ भएको छ र शान्ति स्थापनाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन अन्य कुनै पनि देश अगाडि आएका छैनन् ।
युनिभर्सिटी अफ एसेक्का व्यवस्थापनका प्राध्यापक फोरसन सोही विश्वविद्यालयअन्तर्गतको ल्याटिन अमेरिकन एन्ड क्यारेबियन अध्ययनका उप–निर्देशक हुन् ।