१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० चैत ८ बिहीबार ०६:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फुटपाथ व्यवसायलाई उपत्यकाका अन्य स्थानीय तहले पनि व्यवस्थापन गर्दै

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० चैत ८ बिहीबार ०६:४६:००

फुटपाथ व्यवसाय रोक्ने विषयमा काठमाडौं महानगरपालिका र फुटपाथ, ठेलागाडा व्यवसायीबीच द्वन्द्व सुरु भएको धेरै भइसकेको छ । यसबीचमा महानगर प्रहरी र व्यापारीबीच पटक–पटक झडपसमेत भएको छ । व्यापारीका समस्या समाधान गर्न र फुटपाथ व्यापार व्यवस्थापन गर्न भन्दै १० असोजमा एक अध्ययन समिति गठनसमेत भएको थियो । उक्त समितिले सुझावसहित दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्ने सहमति भएको थियो । सहमतिअनुसार कार्यदल बन्यो । तर, कार्यदलले हालसम्म कुनै निष्कर्ष भने निकाल्न सकेको छैन ।

फुटपाथ व्यवसायीको तर्फबाट कार्यदलमा सहभागी स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाका अनुसार दुईवटा बैठक बसे पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार व्यवसायीले नै बैठक बसेर ठोस निर्णय लिन चासो नदेखाएका हुन् । १० असोजमा महानगर र फुटपाथ व्यवसायीको पक्षमा वकालत गर्दै आएका अभियन्ता ईःबीच भएको चारबुँदे सहमतिअनुसार फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्नका लागि कार्यदल बनाउने र कार्यदलको प्रतिवेदनअनुसार काम गर्ने सहमति भएको थियो । 

गोकर्णेश्वरमा ठेलागाडा र साइकल व्यापार निषेध
गोकर्णेश्वर नगरपालिकाले पनि ८ फागुनमा सूचना जारी गर्दै ठेलागाडा, साइकलमा गर्ने व्यापारलाई निषेध गरेको जानकारी दियो । नगरपालिकाको २०औँ कार्यपालिका बैठकले ११ फागुनदेखि ठेलागाडा र साइकलमा व्यापार गर्न पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार यो निर्णय गरेको र निर्णय अटेर गरेमा गाडा र सामान जफत गरिने जनाएको छ । 

चन्द्रागिरिमा पनि ठेलागाडा चलाउन नपाइने
चन्द्रागिरि नगरपालिकाले ९ माघमा नै एक सूचना जारी गर्दै फुटपाथ, ठेलागाडा पसल र अनधिकृत पार्किङ हटाउन भनेको छ । ‘नगरपालिकाअन्तर्गतका त्रिभुवन राजपथ मूल सडक एवं सहायक सडकहरूको फुटपाथमा समेत मालसामान राखी व्यापार तथा व्यवसाय सञ्चालन र अनधिकृत पार्किङ भएकोमा आवत–जावतमा असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढेको साथै सहरी सौन्दर्यतामा समेत असर गरेको हुँदा सार्वजनिक सडकहरूको अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशीघ्र हटाउनका जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । सूचना अवज्ञा गरे नगर प्रहरी परिचालन गरी कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएकोे छ । 

भक्तपुरमा बिहानमा मात्रै फुटपाथ व्यापार 
भक्तपुर नगरपालिकाले पनि नगरभित्र फुटपाथ व्यवसाय गर्न नपाइने निर्णय गरेको छ । सटर व्यवसायीले पसलको सामान सडकपेटीमा राखेर व्यापार गर्दा नगरपालिकाले कारबाही गर्दै आएको छ । आवागमनमा समस्या हुने भएकाले फुटपाथ व्यवसायलाई निरुत्साहित गर्दै आएको नगरपालिकाअन्तर्गत स्यानिटरी विभाग प्रमुख दिलीपकुमार सुवालले बताए । 

फुटपाथ व्यापारी आउन नदिन ललितपुर सजग 
काठमाडौं महानगरभित्र फुटपाथ व्यवसायी र महानगरबीचको टसल बढेपछि आफ्नो क्षेत्रमा व्यवसायी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै ललितपुर महानगर सजग बनेको छ । महानगरपालिकाले भएका व्यवसायीलाई निश्चित ठाउँ दिएर व्यवस्थापन गरिसकेको भन्दै नयाँ आउन सक्नेलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

महानगरभित्र बिहान र बेलुका तोकिएको समयमा बाहेक फुटपाथमा व्यवसाय वा ठेलगाडा देखिए कारबाही गर्ने गरेको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेँथूका अनुसार महानगरभित्र हाल भएकाबाहेक काठमाडौं वा अरू क्षेत्रबाट फुटपाथ व्यपसायी आउन सक्ने अवस्था रहने भन्दै त्यसमा सतर्कता बढाइएको छ ।