१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ६ मंगलबार ०६:१२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बागलुङमा बस दुर्घटना : आठको मृत्यु, २४ घाइते

Read Time : > 1 मिनेट
२०८० चैत ६ मंगलबार ०६:१२:००

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । निसीखोला गाउँपालिका - ६ जाउलेपानी भन्ने स्थानमा सोमबार बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले घटनास्थलमा सात र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा चार महिला र चारजना पुरुष छन् । उनीहरूको पहिचान खुल्न सकेको छैन ।

घाइतेको उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएकोमा त्यहाँबाट पनि थप उपचारका लागि केहीलाई धौलागिरि अस्पताल बागलुङ र पोखरा रेफर गरिएको छ । बस सडकको घुम्तीबाट तल झरेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको घटनास्थलमा पुगेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । 

बोलेरो दुर्घटनामा दुईको मृत्यु म्याग्दीमा कमल खत्री
अन्नपूर्ण गाउँपालिका– ५ नेपानेमा बोलेरो दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । ग.१ज ७६५३ नम्बरको यात्रुवाहक बोलेरो जिप सडकदेखि करिब दुई सय मिटर तल खस्दा मुस्ताङको घाँसा घर भएका ३५ वर्षीय चालक गणेश श्रेष्ठ र पाउद्वारका २७ वर्षीय लालबहादुर तिलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आइतबार राति पोखरेबगरबाट पाउद्वार गाउँतर्फ गएको जिप गन्तव्यमा नपुगेपछि सोमबार बिहान खोजबिनका क्रममा स्थानीयले दुर्घटनामा परेको अवस्थामा फेला पारेका थिए । खोप्राबाट झरेका तीनजना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट आइतबार राति जिप पाउद्वार गाउँतर्फ लागेको थियो ।

वडासदस्य पूर्णबहादुर पाइजाका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट प्रहरी सहायक निरीक्षक बलबहादुर खड्काको नेतृत्वमा गएको टोलीले शव संकलन गरेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा गएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।