साँझको समय थियो । भर्खरै प्रेममा परेका एक जोडी समुद्र किनारमा घुम्दै थिए । उनीहरू एक–अर्काका हात समाती मायाप्रेमका कुराकानी गर्दै अघि बढिरहेका थिए । त्यत्तिकैमा उनीहरूले समुद्रकिनारमा केही टिप्दै समुद्रतिर फालिरहेका एक अधबैँसेलाई देखे । अघि बढ्दै जाँदा उनीहरू अधबैँसेको नजिकै पुगे । उनी पानीको छालले किनारामा ल्याइपु¥याएका र छालसँगै फर्किन नसकेर किनारमै छट्पटिइरहेका माछा टिप्दै पुनः समुद्रमै फ्याँक्दै थिए ।
अधबैँसेको यस्तो हर्कत देख्दा उनीहरू छक्क परे । उनीहरू नजिकै गए र नमस्कार गर्दै सोधे– महाशय, तपाईं यो के गर्दै हुनुहुन्छ ? ‘उनीहरूतिर हेर्दा पनि नहेरी उनले मुखैले नमस्कार फर्काएर छिटोछिटो माछा टिपेर पानीमा फाल्दै विनम्रतापूर्वक भने– म छालले बाहिर फालेका माछा टिपेर पुनः समुद्रमै फ्याँक्दै छु । समयमै पानीमा पुर्याउन सकिएन भने अक्सिजन अभावमा यिनीहरू मर्नेछन् ।
उनको कुरा सुनेर दुईमध्ये युवतीले भनिन्– धेरै राम्रो ! तपाईंको काम प्रशंसनीय छ । तर, यो समुद्रको किनारमा त हजारौँ माछा यसैगरी फसेका होलान्, कति मरिसकेका होलान् भने कैयौँ मर्दै पनि होलान् । तपाईंले सबैलाई बचाउन त सक्नुहुन्न क्यारे ! फेरि समुद्रकिनारमा त यस्तो सधैँ भइरहेकै हुन्छ नि ! तपाईंले दुई–चारवटा माछालाई पानीमा फ्याँक्दैमा के नै फरक पर्ने हो र !
उनको कुरा सुनेर ती अधबैँसे मुसुक्क मुस्कुराए, भुइँमा झुके र बालुवामा छटपटिइरहेको एउटा माछा टिपेर पानीमा फाल्दै भने– हेर्नुहोस् त, भर्खरै यस माछालाई त निश्चय नै फरक पर्यो, होइन र ?