१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
छैटौँ झापा गोल्डकप फुटबल विजेता चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडी
रमेश सुवेदी काठमाडाैं
२०८० फाल्गुण २९ मंगलबार ०८:५३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको नयाँ च्याम्पियन

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले सोमबार छैटौँ झापा गोल्डकपको उपाधि उचाल्ने क्रममा एपिएफलाई ३–० ले हरायो

Read Time : > 2 मिनेट
२०८० फाल्गुण २९ मंगलबार ०८:५३:००

चर्च ब्वाइज युनाइटेड क्लबले छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सहभागितामै उपाधि उचाल्ने क्रममा चर्च ब्वाइजले सोमबार भएको फाइनलमा नेपाल एपिएफ क्लबलाई ३–० ले पाखा लगायो । प्रतियोगिताले नयाँ विजेताका रूपमा चर्च ब्वाइजलाई पाएको छ ।

चारपटकको विजेता त्रिभुवन आर्मी सेमिफाइनलबाटै बाहिरिएको थियो । एकपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले प्रतियोतिगामा सहभागिता जनाएन । यसपटक फाइनल पुगेका दुवै टोली नयाँ थिए । पहिलोपटकको प्रयासमै च्याम्पियन बनाउने क्रममा चर्च ब्वाइजका नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउनले दुई गोल गरेका थिए । बिर्तामोडस्थित डोमालाल मैदानमा चर्च ब्वाइजका लागि राजेश परियारले एक गोल गरे । उपाधिसँगै चर्च ब्वाइजले १३ लाख र उपविजेता एपिएफले सात लाख रुपैयाँ पाएका छन । 

सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेतासमेत रहेको चर्च ब्वाइज नियमित प्रशिक्षकविना नै उपाधि भिडन्तमा प्रस्तुत भएको थियो । क्लबका अध्यक्ष रुवेन राईले नै टर्च लाइनको जिम्मेवारी सम्हाल्दै खेलाडीहरूलाई निर्देशन दिएका थिए । उनले सेमिफाइनलमा पनि यस्तै भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकसम्बन्धी खासै अनुभव नभएका राईले टोलीलाई झापामा अपराजित रही उपाधि दिलाउन सफल रहे । उनले सबै खेलाडीको मिहिनेतका कारण सफलता मिलेको बताए । 

‘खेलाडीले प्रत्येक खेलदेखि फाइनलसम्म धेरै मिहिनेत गरेका छन्, यसकारण हामीले उपाधि जित्न सफल भएका हौँ,’ हर्षित देखिएका राईले भने । प्रतियोगितामा उनी नै सर्वाेत्कृष्ट प्रशिक्षक बनेका छन् । चर्च ब्वाइएजले ए डिभिजन लिग जितेपछि यो नै पहिलो उपाधि हात पारेको हो । ‘हामीले लिपछि पहिलो उपाधि जित्यौँ, यसमा पनि राष्ट्रिय खेलाडीविना नै सफलता हात पारे,’ उनले भने, ‘युवा खेलाडीहरूले उपाधिका लागि धेरै पसिना बगाए ।’ 

पहिलोपटक झापा गोल्डकपको उपाधि जित्ने योजना बनाएको एपिएफ असफल भयो । सहिद स्मारक ए डिभिजन लिग ०७९÷८० मा रेलिगेसन परेपछि एपिएफले मोसफलमा तीनवटा गोल्डकपमा भाग लिएको छ । जसमा एक गोल्डकपमा उपाधि जितेको एपिएफ दुईमा उपविजेता बनेको छ । ‘हामी योजनामै असफल भयौँ । सानो गल्तीमै पहिलो गोल भयो,’ एएफसी सी लाइसेन्स कोर्स गरेका एएफसीका व्यवस्थापक सुशील अधिकारीले भने, ‘फाइनलमा फर्किने प्रयास अन्तिमसम्म चलेको थियो, तर हामी यसमा सफल भएनौँ ।’ 

फाइनलमा अबयोमीका दुई गोल
फाइनलमा दुई गोल गरेका नाइजेरियन खेलाडी अवयोमीलाई झापा गोल्डकपमा खेलाउन एपिएफनजिक थियो । अबयोमीले चर्च ब्वाइजबाट एक प्रतियोगिता खेल्न अनुमति मागेका थिए । उनले नै उपाधि भिडन्तमा एपिएफविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । खेलको १२औँ मिनेटमा उनले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनले चलाखीपूर्ण रूपमा गोल गरेका हुन् । पहिलो हाफमा चर्च ब्वाइज १–० ले अघि रह्यो ।

खेलको ७२औं मिनेटमा अबयोनीले व्यक्तिगत दोस्रो गोल गरे । मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै उनले गोलरक्षक एन्जललाई समेत बिट गरेर सुन्दर गोल गरे । खेलको ८७औँ मिनेटमा चर्च ब्वाइजले ३–० को अग्रता लियो । यसपटक वैकल्पिक खेलाडी राजेश परियारले गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले अवयोमीकै सुन्दर पासमा गोल गरेका हुन् । १९ फागुनदेखि सुरु भएको छैटौँ झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।

विधागत पुरस्कारमा चर्च ब्वाइज हाबी
विधागत पुरस्कारतर्फ चर्च ब्वाइजको वर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । उत्कृष्ट रक्षकमा चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट स्ट्राइकर र उच्च गोलकर्ता अबयोबी भए । उत्कृष्ट प्रशिक्षकमा चर्च ब्वाइजका अध्यक्ष राई भए । अध्यक्ष राईले एन्फा र एएफसीबाट आयोजना हुने कुनै पनि प्रशिक्षक लाइसेन्स कोर्स गरेका छैनन् । एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । उदीयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरूले जनही २५ हजार पुरस्कार पाए । सर्वाेत्कृष्ट खेलाडी चर्च ब्वाइजका रक्षक सञ्जित राई भए । उनले एक थान यामाहाको मोटरसाइकल प्राप्त गरेका छन् ।

यसैबीच, आयोजक झापा ११ ले गोल्डकप समापनमा पूर्वखेलाडीलाई सम्मान गरेको छ । मीनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बू, खमिर गिल्सन कन्दङवा, विशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो । 

खेलाडीको मिहिनेतले उपाधि जित्यौँ
रुवेन राई, प्रशिक्षक, चर्च ब्वाइज

खेलाडीको मिहिनेतले उपाधि जितेका छौँ । हाम्रो फाइनल जित्ने योजना सफल भयो । पहिलोपटक टचलाइनमा रहँदा उपाधि हात पार्दा खुसी लागेको छ । हामीले ए डिभिजन लिगपछि पहिलोपटक यो उपाधि जितेका हौँ । यसपटक चर्च ब्वाइजको टोली राम्रो भएको छ । राष्ट्रिय टोलीका खेलाडी नहुँदा पनि नयाँ खेलाडीले राम्रो प्रदर्शन गरे । 

सामान्य गल्तीले पछि पर्‍यौँ
सुशील अधिकारी, व्यवस्थापक, एपिएफ

फाइनलमा हामीले सामान्य गल्ती गरेका कारण पहिलो गोल व्यहोर्‍यौँ । यसमा गोलरक्षकले गल्ती गरे । उपाधि भिडन्तमा हामी खेलमा फर्कने प्रयास गरिरहेका थियौँ । तर, हामी सफल भएनौँ । खेलाडीहरू आत्तिएजस्तो देखिए । हामीले मोसफलमा सहभागी भएका तीन गोल्डकपमा दुईमा उपविजेता र एकमा उपाधि हात पार्‍यौँ ।