Skip This
झापा गोल्डकप : चर्च ब्वाइज पहिलो सहभागितामै उपाधिनजिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : चर्च ब्वाइज पहिलो सहभागितामै उपाधिनजिक

पाँचपटक उपविजेता झापा र चारपटकको विजेता त्रिभुवन आर्मी सेमिफाइनलबाट बाहिरिएसँगै झापा गोल्डकपले नयाँ च्याम्पियन पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:o८:oo

कप्तान तथा गोलरक्षक दीप कार्कीले टाइब्रेकरमा निर्णायक गोल गरेपछि चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सहभागितामै फाइनल स्थान बनाउने क्रममा चर्च ब्वाइजले शनिबार टाइब्रकेरमा आयोजक झापा ११ एफसीलाई ४–३ ले निराश बनाएको हो ।

टाइब्रकेरमा स्तब्ध भएको झापाको लगातार पाँच फाइनल खेल्ने योजना पूरा भएन । झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले रेफ्रीविरुद्ध आक्रोश पोखेका छन् । उनले रेफ्रीको कारण झापा प्रतियोगिताबाट बाहिरिएको आरोप लगाएका छन् । ‘हामीले ११ विरुद्ध १२ जना भएर खेल्यौँ, रेफ्रीकै कारण हामी खेलमा पराजित भएका हौँ,’ खड्गीले भने, ‘सबैले धेरै गल्ती भएको देखेका छन्, आजको हार मुख्य कारण रेफ्री नै हो ।’

पहिलोपटक फाइनलमा स्थान बनाएपछि चर्च ब्वाइजका अध्यक्ष रुबेन राई खुसी देखिएका छन् । उनले खेलाडीको मिहिनेतले जित निकाल्न सफल भएको बताए । ‘सेमिफाइनलमा खेलाडीले राम्रो प्रदर्शन गरे । अब फाइनलमा पनि यस्तै खेल हुनेछ,’ राईले भने । प्रशिक्षकको अभावपछि उनी आफैँले खेलाडीलाई मैदानमा निर्देशन दिन टच लाइनमा उभिएका थिए । उनले प्रशिक्षकको सामान्य कोर्स गरेका छैनन् । फाइनलमा बलियो प्रतिद्वन्द्वी एपिएफविरुद्ध सतर्क रहेर खेल्ने उनले बताए । ‘हामीले राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षणमा जाँदा गुमाएका छौँ । नयाँ खेलाडीले पनि राम्रो गरिरहेका छन् । सहिद स्मारक लिगपछि पहिलोपटक फाइनलमा पुगेका छौँ,’ राई भन्छन् । 

९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त १४ मिनेटको खेलाएको थियो । यसमा पनि गोल भएन । दुवै टोली फाइनल थर्डमा चुकेका थिए । अतिरिक्त समयमा चर्च ब्वाइजका विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।  

कप्तान दीप नायक
पेनाल्टी सुटआउटमा कप्तान दीप नै नायक बने । उनले एक पेनाल्टी बचाए भने आफैँले गोलसमेत गरे । बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा चर्च ब्वाइज र झापाका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि फाइनल पुग्ने दोस्रो टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो । गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । 

टाइब्रेकरमा चर्च ब्वाइजका लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र दीपले निर्णायक गोल गरे । विदेशी खेलाडी सर्ज डिकाको प्रहार झापाको गोलरक्षक सुदीप लिम्बूले बचाए । झापाका लागि आदित्य शाक्य, विवेक पौडेल र आशिष चापागाईंले गोल गरे । प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलरक्षक दीप कार्कीले बचाएका हुन् ।

रेफ्रीकै कारण पराजित भयौँ
अंगुरकुमार खड्गी, प्रशिक्षक, झापा 

हामीले सोझै १४ विरुद्ध ११ जनासँग खेल्नुपर्‍यो । यसकारण, झापा लगातार फाइनलमा पुग्न असफल भएको हो । खेलमा हार र जित हुन्छ, तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन् । खेलाडीले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका हुन् । झापाको टोली राम्रो थियो । तर, रेफ्री सबैले देख्ने गरी गल्ती गरे । 

खेलाडीले राम्रो गरे
रुबेन राई, अध्यक्ष, चर्च ब्वाइज

खेलाडीहरूको मिहिनेतका कारण चर्च ब्वाइज पहिलोपटक फाइनलमा पुगेको छ । अहिले म प्रशिक्षकको भूमिकामा छु । धेरै खेलाडी राष्ट्रिय टोलीमा जानुपर्ने भएकाले अनुभवी खेलाडीलाई खेलाउन पाएनौँ । नयाँ खेलाडीले राम्रो प्रदर्शन गरे । एपिएफविरुद्ध सतर्क भएर खेल्छौँ । 

ad
ad