१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २७ आइतबार १५:३७:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धनगढी रंगशालामा सैनिक प्रदर्शनी [तस्बिरसहित]

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २७ आइतबार १५:३७:००

नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सव तथा सेना दिवसको अवसरमा धनगढी रंगाशालामा सैनिक सामग्री प्रदर्शनी भइरहेको छ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीले आयोजना गरेको प्रदर्शनीमा सेनाका हातहतियारलगायत युद्ध सामग्री राखिएका छन्।

नेपाली सेनाको युद्धक, युद्धक मद्दती र युद्ध सेवा मद्दती हतियारहरू, तिनको भूमिका, विभिन्न हातहतियार, उपकरण, पोसाक, सामग्री प्रदर्शनमा राखिएका नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी गणेशकुमार श्रेष्ठले जानकारी दिए।

युद्धकला झलकसम्बन्धी वास्तविक प्रदर्शनीको साथै नेपाली सेनाद्वारा गरिएका प्रकृति संरक्षण, विकास निर्माण, जनहितका कार्य, खेलकुद आदिलाई समेत फोटो तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिने उनले बताए।

प्रदर्शनी तीन दिनसम्म चल्नेछ। नेपाली सेनाले प्रयोग गर्ने हतियार, ट्यांक, दैवीप्रकोप उद्धारमा प्रयोग हुने सामग्री, निकुञ्ज सुरक्षा सामग्री, पोसाक, युद्धकला झल्कने प्रस्तुतिहरू अवलोकन गर्न सकिने सुदूरपश्चिम पृतनाले जनाएको छ। त्यस्तै, नेपाली सेनाले गरिरहेका प्रकृति संरक्षण, विकास निर्माण, जनहितका कार्य, खेलकुदलगायत गतिविधिलाई भिडियो तथा फोटोमार्फत प्रदर्शनी भइरहेको छ।

प्रदर्शनीका क्रममामा विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा दौडलगायत प्रतियोगिता गरिने नेपाली सेनाले जनाएको छ। यो प्रदर्शनीले सुदूरपश्चिमका जनताले नेपाली सेनालाई अझ नजिकबाट चिन्ने, जान्ने र बुझ्ने मौका पाउने तथा यसले नेपाली सेनाप्रतिको जनविश्वासमा थप टेवा पुग्ने पृतनापति श्रेष्ठले बताए। 
 
देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न सेनाले अग्रणी भूमिका निर्वाह गर्दै आएको उनले बताए। विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा परिचालित भई संयुक्त राष्ट्रसंघको विश्वशान्ति स्थापनामा समेत नेपाली सेनाले भूमिका खेल्दै आएको छ। 

सुदूरपश्चिममा पनि  विपतका घटनामा जनताको रक्षा, खोजतनास र राहतमा अहोरात्र खटिएर सेनाले जनविश्वास जितेको पृतनापति श्रेष्ठले बताए। जनहितसँगै प्रकृति संरक्षण तथा विकास निर्माणमा पनि अतुलनीय योगदान गर्दै आएको उनले बताए।

प्रदर्शनीको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उपमहानगरका प्रमुख गोपाल हमाललगायतको सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न समुदायको पहिचान झल्कने सांस्कृतिक नृत्यहरूसमेत प्रस्तुत गरिएको थियो।