
निर्माण सुरु भएको साढे ११ वर्षसम्म धनगढी रंगशाला निर्माणको कामले पूर्णता पाएको छैन। रंगशालाको गुरुयोजनाअनुसार भिआइपी र सामान्य गरी १६ वटा प्यारापिट ब्लक बन्नुपर्ने हो। तर, हालसम्म सातवटा मात्र निर्माण भएका छन्। बनेकामध्ये पनि पाँचवटा प्यारापिट ब्लकको प्लास्टर तथा रङरोगन गर्ने काम बाँकी छ।
भिआइपीका लागि तीनवटा प्यारापिट बन्नुपर्नेमा हालसम्म एउटा मात्र बनेको छ। त्यस्तै, सामान्य १३ वटा प्यारापिट ब्लक बनाउने योजना रहे पनि पाँचवटा मात्र बनेका सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। समितिका कार्यालय प्रमुख टोपबहादुर विष्टले बजेट अभावका कारण लामो समयसम्म रंगशालामा पूर्वाधार निर्माणको कामले पूर्णता पाउन नसकेको बताए। ‘हालसम्म पूर्वाधार निर्माणका सबै काम पूरा गर्ने लक्ष्य हो, तर आवश्यक बजेट विनियोजन नहुँदा काम हुन सकेन,’ विष्टले भने, ‘अझै कति समय लाग्ने हो थाहा छैन।’
०६८ मा छैटाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि त्यही वर्ष धनगढी रंगशालामा तीन करोड लागतमा दुईवटा प्यारापिट, फुटबल मैदान र एथलेटिक्सका लागि ट्रयाकलगायत पूर्वाधार निर्माण गरिएका थिए। तर, गुरुयोजनाअनुसार थप पूर्वाधार निर्माणको काम साढे ११ वर्षसम्म अधुरै छ। त्यसवेला एथलेटिक्सका लागि बनाइएका ट्रयाक कतिपय ठाउँमा भत्किएका छन्। संरक्षण नहुँदा फुटबल प्रतियोगिता गर्ने वेलामा ग्राउन्ड मर्मत गर्नुपर्छ।
प्यारापिट निर्माणलाई पूर्णता दिन हरेक वर्ष माग गर्ने गरे पनि बजेट नआएको कार्यालय प्रमुख विष्टले बताए। ‘खेलकुदलाई न संघले बजेट दिन्छ, न प्रदेशले। बजेट अभावले पूर्वाधार निर्माण मात्र नभई खेल गतिविधि पनि प्रभावित भएका छन्,’ उनले भने, ‘सुदूरपश्चिममै खेल पूर्वाधारको कमी छ। यहाँका अन्य जिल्लामा पनि न्यूनतम पूर्वाधारको अभाव छ।’ पूर्वाधार र खेल सामग्रीको अभावले नियमित प्रशिक्षण र प्रतियोगिताहरू प्रभावित हुँदै आएका समितिले जनाएको छ।
धनगढी रंगशालामा एउटा अधुरो प्यारापिट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले अहिले टेन्डर निकालेर सम्झौताको क्रममा रहेको सुदूरपश्चिम क्षेत्रीय खेलुकद विकास समितिका सबइन्जिनियर ध्रुव साउदले बताए। उनका अनुसार अहिले रंगशालाका सातवटा प्यारापिटमा करिब सात हजार दर्शक अटाउने क्षमता रहेको छ।
धनगढी रंगशालामा सात वर्षदेखि बर्सेनि खप्तड गोल्डकप गर्दै आएका सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगितैपिच्छे मैदान मर्मत गर्नुपर्ने अवस्था रहेको बताए। ‘गत वर्ष मात्र प्रतियोगिता गर्न ग्राउन्ड मर्मतमा हामीले साढे ६ लाख खर्च गरेका थियौँ। यस वर्ष डेढ लाखभन्दा बढी खर्च भएको छ,’ उनले भने, ‘खेलकुद परिषद्ले संरक्षण गरेको भए मर्मतमा लगानी गर्नुपर्ने अवस्था आउँदैनथ्याे।’
बहुउद्देश्यीय हलको अवस्था दयनीय
रंगशालाभित्रै रहेको बहुउद्देश्यीय हलको अवस्था पनि दयनीय छ। पानी पर्दा टिनको छानो चुहिने गरेको प्रशिक्षक र खेलाडीहरू बताउँछन्। ‘छानो चुहिने भएकाले पानी परेको दिन प्रशिक्षण रोक्नुपर्ने अवस्था छ,’ ब्याडमिन्टनका प्रशिक्षक मेघराज खडायतले भने, ‘छानो हालिदिए पनि धेरै सहज हुन्थ्यो।’ हलभित्र ब्याडमिन्टन, भारोत्तोलन र फेन्सिङको नियमित प्रशिक्षण हुन्छ।
रंगशालाभित्र निर्माणाधीन अर्को बहुउद्देश्यीय हलको काम पनि लामो समयदेखि अलपत्र छ। प्लास्टर गर्ने, भित्र प्यारापिट बनाउने, झ्याल–ढोका लगाउने काम अधुरै छन्। बजेट अभावले लामो सयमदेखि निर्माणाधीन भवन अलपत्र अवस्थामा रहेको कार्यालय प्रमुख विष्टले बताए।