
जेन–जी आन्दोलनको प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ । २३–२४ भदौमा सिर्जित घटनाक्रमकै कारण रामेछापमा पर्यटकहरू बुकिङ रद्द गर्न थालेका छन् । रामेछापको विमानस्थलबाट सोलुको सगरमाथा आधार शिविरतर्फ जाने पर्यटकहरूले मन्थलीमा बुक गरेका होटेल तथा होमस्टे धमाधम रद्द गर्न थालेका हुन् । शरद ऋतुका लागि २५ सेप्टेम्बरदेखि रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा उडान भर्ने तालिका नागरिक उड्डयन प्राधिकरणले निकालेको छ । तर, जेन–जी आन्दोलनपछि रामेछाप आउने पर्यटकले विमान टिकट र होटेलको बुकिङ रद्द गर्न थालेका व्यवसायीहरू बताउँछन् ।
यो समय सगरमाथा घुम्नका लागि धेरै उपयुक्त मानिन्छ । सगरमाथा आधार शिविर जाने विदेशी पर्यटकहरूले केही महिनाअघिदेखि नै हवाई टिकट र वासका लागि होटेल बुक गरेका थिए । अहिलेको मौसममा हिमालको दृश्यावलोकन अत्यन्त मनमोहक हुने भएकाले पनि विदेशी पर्यटकहरूको रोजाइ असोज र कात्तिक महिना हुने गरेको छ ।
केही दिनअघिको जेन–जी आन्दोलनपछि बुक भइसकेका होटेल र हवाई टिकट रद्द गर्न थालेको एल्लो जिएस मन्थलीका सञ्चालक गणेश थपलियाले बताए । उनले भने, ‘नेपालमा भएको हिंसात्मक घटनाका कारण विदेशी पाहुनाले बुक गरेको होटेलका रुम रद्द गर्ने क्रम बढ्दो छ । दैनिकजसो विदेशी पर्यटकहरू र ट्राभल एजेन्सीका प्रतिनिधिहरूले टेलिफोन गर्दै कोठा रद्द गर्दै आएका छन् ।’ आन्दोलनका कारण होटेल सञ्चालक थप मारमा परेको घरभाडा तिर्नसमेत धौधौ भएको थपलियाले बताए ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा पालो पर्खनुपर्ने अवस्था हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघिदेखि निजी कम्पनीका हवाईजहाजका लागि मन्थली विमानस्थल सञ्चालनमा ल्याएको थियो । पर्यटकहरूलाई विभिन्न ट्राभल एजेन्सीहरूले स्थलमार्ग (बिपी राजमार्ग) हुँदै रामेछापसम्म ल्याउने र रामेछाप विमास्थलबाट हवाईजहाजमार्फत सोलुको लुक्ला लैजाने गर्छन् ।
रामेछाप विमानस्थलबाट एक सिजनमा करिब १० हजारको हाराहारीमा पर्यटक लुक्ला जाने गर्छन् । तर, अहिले लुक्ला जाने पर्यटकमध्ये १० प्रतिशत पर्यटकले हवाई टिकट रद्द गरेको तारा एयर रामेछापका स्टेसन म्यानेजर प्रवीण सुवेदीले बताए । टिकट रद्द गर्नेमा बढीजसो भारतीय पर्यटक रहेका उनको भनाइ छ ।
रामेछाप विमानस्थलबाट सोलुका लागि निजी कम्पनीका तारा, समिट र सीता एयरलाइन्सले विदेशी पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् । पर्यटक सिजनमा मात्रै सञ्चालनमा आउने रामेछाप विमानस्थलबाट अन्य समयमा भने कुनै पनि उडान हुने गरेको छैन ।