१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० फाल्गुण २२ मंगलबार ०९:५७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालय तहको पाठ्यपुस्तकको ‘फ्याक्ट चेक’, समावेश पाठ्यसामग्रीमा त्रुटि देखियो : प्रतिवेदन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० फाल्गुण २२ मंगलबार ०९:५७:००

- कक्षा १० को सामाजिक अध्ययन पुस्तकमा ब्राजिलमा बाघ, हात्ती, गैँडा र अल्छी मानिस छन् र जर्मनीमा बाघ, बाँदर तथा ऊर्जावान्, रचनात्मक मानिस छन् भनेर लेखिएको छ ।  

- कक्षा १० कै नेपाली विषयको पेज नं २४३ मा रहेको अब्राहम लिंकनको कथा पनि मिथ्या भएको अध्ययनले देखाएको छ । अडिट टिमले लिंकनको चिठीको सत्यता पुष्टि गर्न अमेरिकाको स्प्रिंगफिल्ड, इलनोईस्थित लिंकन राष्ट्रपतीय लाइब्रेरी एवं म्युजियमलाई पत्राचार गरेको थियो । म्युजियमले प्रतिउत्तरमा लिंकनले उक्त चिठी कहिल्यै नलेखेको जनाएको थियो । 

विद्यालय तहको पाठ्यपुस्तकमा समावेश विषयमाथि गरिएको अडिटले कैयौँ प्रश्न उठाएको छ । एजुकेसन इन एभ्री होम नामक संस्थाले एक वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदनले असन्तुलित प्रतिनिधित्व, लैंगिक स्टिरियोटाइप र समावेशितालगायत विषयलाई कमजोर ढंगले चित्रण गरेको फेला पारेको छ । यस संस्थाले करिब एक वर्ष लगाएर अध्ययन गरेको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको थियो । कक्षा एकदेखि कक्षा १० सम्मका पाठ्यपुस्तकलाई आधार मानेर जनवरी ०२३ देखि जनवरी ०२४ सम्म गरिएको अध्ययनले थुप्रै त्रुटि औँल्याएको छ । अध्ययनअनुसार कक्षा १० को सामाजिक अध्ययन विषयमा बाघ र बाँदरको उद्गमथलो जर्मनी भनेर उल्लेख गरिएको छ, जुन सत्य होइन । अध्ययनले बाँदर र बाघ दक्षिण एसियाली देशहरूमा पाइने तथ्य फेला पारेको छ । 

विशेष गरी एकदेखि १० कक्षासम्मको सामाजिक अध्ययन, नेपालीलगायत २० वटा पाठ्यपुस्तकलाई अध्ययनको आधार बनाइएको थियो । अध्ययनका क्रममा पाठ्यक्रममा विविधता, समानता र समावेशीकरणलाई बढी ध्यान दिइएको थियो । तर, यी विषय पाठ्यक्रममा निकै असन्तुलित सामग्री समावेश गरिएको फेला परेको छ । नेपालमा पाठ्यपुस्तक अडिट गर्ने चलन छैन । तर, विद्यालय तहको शिक्षालाई समावेशी र प्रभावकारी बनाउन विश्वव्यापी रूपमा पाठ्यपुस्तक अडिट प्रचलनमा छ । 

अध्ययनको तथ्यांक संकलन सातै प्रदेशमा पुगेर दुई हजारजनाबाट गरिएको थियो । स्थानीय जनप्रतिनिधि, शिक्षाविज्ञ, विद्यार्थी, शिक्षक, नागरिक समाज, आमा समूहलगायतबाट तथ्यांक संकलन गरिएको थियो । उनीहरूसँगको छलफल र पाठ्यपुस्तकका सामग्री अध्ययन गर्दा पाठ्यपुस्तकमा सामाजिक असमानता देखिएको अध्ययनका मुख्य अन्वेषक होमराज आचार्यले बताए । ‘महिला अधिकार र महिला डाक्टरको तस्बिर समावेश गर्दा प्रायःजसो खाना पकाउने, लुगा धुने र बालबालिकाको हेरचाह गर्ने कार्यका सामग्री पाठ्यपुस्तकमा समावेश भएको देखियो, कतिपय समुदायको त पाठ्यपुस्तकमा सहभागिता नै छैन,’ उनले भने, ‘बरु, विदेशी विषयहरू समावेश गरिएका छन्, तर नेपालभित्रकै सबै समुदायलाई पाठ्यपुस्तकमा समावेश गरेको देखिएन ।’

उनका अनुसार पाठ्यपुस्तकमा सबैका विषय समावेश गर्नाले अधिकारबारे सिकाउन र विविधताको मूल्यबारे जान्न–बुझ्न पनि सहयोग हुन्छ । अर्कोतर्फ पाठ्यपुस्तक आफैँमा बलियो सन्देश प्रवाह गर्ने सामग्री भएकाले यसमा समावेश सामग्री प्रभावकारी हुनुपर्ने अध्ययनले औँल्याएको छ । पाठ्यपुस्तकमा सांस्कृतिक विविधताबारे सामग्री राख्दा निश्चित समुदायलाई मात्रै प्राथमिकता दिएको र पाठ्यपुस्तकमा समावेश जीवन तथा प्रोफाइलमध्ये बढी पुरुष नै रहेको अध्ययनले देखाएको छ । 

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले नेपालको पाठ्यपुस्तक पुनरावलोकन गर्नुपर्ने वेला आइरहेको बताउँदै विद्यार्थीलाई नेपाल र नेपालको मौलिकताका बारेमा बढी ज्ञान दिन आवश्यक रहेको बताए । ‘हामीले पाठ्यपुस्तक पुनरावलोकन गर्न आवश्यक छ, नेपाल र नेपाली पढाउनुपर्छ, १५ वर्षभन्दा कम उमेर समूहकालाई यहाँको संस्कृति र विविधत् पढाउनुपर्छ,’ उनले भने, ‘पाठ्यपुस्तक अडिटका लागि सकारात्मक सुरुवात भएको छ ।’ 

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना सञ्चार प्रविधिका सभापति भानुभक्त जोशीले अडिट रिपोर्टलाई समितिले सकारात्मक रूपमा लिएको र यसबारे समितिको बैठकमा छलफल गरिने बताए । ‘यो अध्ययन एउटा दस्ताबेजका रूपमा रहन्छ,’ उनले भने, ‘यसबारे अन्य माननीयज्यू र शिक्षाका सरोकारवालासँग छलफल गर्छौँ ।’

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले निश्चित अवधिमा पाठ्यपुस्तक अडिट तथा अपटेड गर्नुपर्ने बताउँदै सो संस्थाले गरेको अध्ययन प्रतिवेदनलाई केन्द्रले पनि थप अध्ययन गर्ने बताए । ‘उहाँहरूले कुन ढंगबाट अध्ययन गर्नुभएको हो, त्यसमा त्यति जानकारी भएन, उहाँहरूको प्रतिवेदन पनि हामी हेर्छौंँ, हामीले पाठ्यपुस्तक अपडेटचाहिँ गर्नुपर्छ,’ उनले भने, ‘कुनै पनि वेला वा अवधिमा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्छ ।’ 

पाठ्यपुस्तकका ८५ प्रतिशत पात्र पुरुष
अध्ययन प्रतिवेदनले पाठ्यपुस्तकमा समावेश पात्रहरूमध्ये ८५ प्रतिशत पुरुष रहेको पत्ता लगाएको छ । कक्षा एकदेखि १० सम्मका सबै पाठ्यपुस्तकमा गरी नौजना महिलाको मात्रै प्रोफाइल तथा जीवनी छ । त्यसमध्ये पनि ६ जना मात्रै नेपाली छन् । पाठ्यपुस्तकमा सगरमाथा आरोहण गर्ने जापानी व्यक्ति जुन्को ताबेई र मदर टेरेसालाई बहु–पृष्ठ पाठहरूमा समेटिएको छ । अध्ययन प्रतिवेदनअनुसार हाल नेपालमा धेरै समुदाय गहिरो सीमान्तीकृत छन्, विशेष गरी दलित, मधेशी, थारू, मगर र तामाङ । पाठ्यपुस्तकमा पनि यी सामुदायिक सीमान्तकृत रूपमै रहेको अध्ययनले देखाएको छ ।

निश्चित समुदायको विषयलाई बढी उठान गर्दा अर्को समुदायबारे बेवास्ता गरिएको अन्वेषक आचार्यले बताए । ‘पाठ्यपुस्तकमा राउटे समुदायबारे अपमानजनक पाठ समावेश गरिएको फेला परेको छ,’ उनले भने, ‘यसले सांस्कृतिक विनाश गर्छ भने अर्कातिर कुनै समुदाय सधैँ पिँधमा परिरहन्छ ।’ पाठ्यपुस्तकमा अब्राहम लिंकनको मृत्युबारे उल्लिखित तिथिमितिमा पनि त्रुटि छ । ‘अब्राहम लिंकनको ‘लेटर टु माई सन्स प्रिन्सिपल’लाई नेपालीमा अनुवाद गरेर पाठ्यक्रममा राख्दा तिथिमितिमै गल्ती छ । अध्ययन टोलीले संयुक्त राज्य अमेरिकामा रहेको अब्राहम लिंकन राष्ट्रपति पुस्तकालयबाट यसको सही तिथिमिति पत्ता लगाएको छ । यसबाहेक पनि पाठ्यपुस्तकमा धेरै त्रुटि छन् ।