१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
खाद्य कम्पनीको गोदाममा भण्डारण गरिएको चामल
२o८१ जेठ ३ बिहीबार o७:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अनुदानको चामल महँगोमा बेच्छन् ठेकेदार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:१८:oo

प्रतिकिलोमा ५५ रुपैयाँमा बेच्नुपर्ने मोटो चामल ६० र ९३ मा बेच्नुपर्ने जिरा मसिनो एक सयमा बिक्री

अछाम जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियतमा पठाउने चामल ठेकेदार आफैँले बेच्दै आएका छन् । उनीहरूले व्यापारीसँगको मिलेमतोमा सहुलियतको चामल महँगोमा बेच्ने गरेका हुन् । 

प्रत्येक वर्ष जिल्लाका कमलबजार, रामारोशन र विनायकका लागि आपूर्ति हुने चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला कार्यालयसँगको समन्वयविना नै ठेकेदार कम्पनीले सीधै व्यापारीलाई बेच्ने गरेको पाइएको छ । जिल्लाका दुर्गम गाउँका सर्वसाधारणलाई लक्षित गरेर खाद्य कम्पनीले सदरमुकाम मंगलसेनमा रहेको शाखा कार्यालयसहित कमलबजार, रामारोशन र विनायकका लागि प्रत्येक वर्ष चामल पठाउँछ । कम्पनीले पठाउने न्यून मात्राको चामल नै सीधै व्यापारीको पसलमा पुगेपछि उनीहरूले त्यही चामल मूल्य बढाएर बेच्ने गरेको गुनासो सुन्नमा आएको खाद्य कम्पनी मंगलसेन कार्यालयका प्रमुख सरोजकुमार महतोले बताए । उनका अनुसार मंगलसेनबाहेक अन्य डिपोमा चामल सम्बन्धित ठाउँमा पुगे–नपुगेको तथा बिक्री भए–नभएको जानकारी नै दिइँदैन । 

ठेकेदारले चामल पुगेको चलानी समर्थन गराउन मात्र आफूहरूलाई सम्पर्क गर्ने गरेको उनले बताए । त्यसो त खाद्य कम्पनीले समेत डिपोहरूमा चामल बिक्री–वितरणको अवस्थाबारे वास्ता गर्दैन । डिपोको निगरानी गर्नेबारे कुनै निर्देशन नै नहुँदा आफूहरूले कैयौँ गुनासो सुन्दासुन्दै पनि चुप लागेर बस्नुपरेको महतोले बताए । अहिलेसम्म सम्बन्धित ठेकेदार कम्पनीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा केन्द्रबाटै चामलको कोटा निर्धारण गरेर आपूर्ति गर्ने परिपाटी छ । यहाँ पुग्ने सहुलियतको चामलसमेत सम्बन्धित ठाउँका जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको रोहवरमा मात्रै बेच्न पाउने प्रावधान भए पनि यसबारे ठेकेदार र व्यापारीले कसैलाई पनि जानकारी नदिएरै मूल्यमा बदमासी गरेर महँगोमा बेच्ने गरेका छन् । 

सदरमुकाम मंगलसेनबाहेक कमलबजार, विनायक र रामारोशनमा डिपोको जिम्मा स्थानीय व्यापारीलाई दिइएको छ । त्यहाँ सहुलियतको चामल बेच्ने ठाउँमा खाद्य कम्पनीको बोर्ड र मूल्यसूचीविना नै व्यापारीले पसलकै चामलसरह महँगोमा बेच्दै आएका छन् । चालू वर्षमा मंगलसेनका लागि तीन हजार, रामारोशनका लागि पाँच सय, कमलबजार र विनायकका लागि समान दुई सय ५० क्विन्टल चामलको ठेक्का स्वीकृत भइसकेको छ । त्यसमध्ये रामारोशनमा तीन सय तथा कलबजार र विनायकमा सय–सय क्विन्टल चामल ढुवानी भएर व्यापारीले बेचिसकेका छन् । उनीहरूले ५५ रुपैयाँ किलोमा बेच्नुपर्ने मोटो चामल ६० रुपैयाँमा र ९३ रुपैयाँमा बेच्नुपर्ने जिरा मसिनो चामल सय रुपैयाँमा बेच्ने गरेको गुनासो आएको कम्पनीको मंगलसेन कार्यालय प्रमुख महतोले बताए । यी तीनवटै ठाउँमा लक्की स्टोर्स एन्ड सप्लायर्सको ठेक्का छ । 

चामलका लागि सोर्सफोर्स र दबाब
अछाममा हरेक वर्ष आठ हजार क्विन्टल चामल माग हुन्छ । तर, खाद्य कम्पनीले कनिका छरेझैँ पटक–पटक सय–दुई सय क्विन्टलका हिसाबले चामल पठाउँछ । जुन चामल ट्रकबाट नझार्दै सेवाग्राहीको लाइन लाग्छ । यहाँ मोटो चामलको अत्यधिक माग हुन्छ । यस वर्ष पनि अछाममा लामो समयदेखि मोटो चामल अभाव छ । गत कात्तिकमा सय क्विन्टल मोटो चामल पठाएको कम्पनीले त्यसपछि दुईपटक गरी जम्मा तीन सय २५ क्विन्टल मात्रै चामल पठाएको छ । केन्द्रले यहाँ पुग्ने चामल एकजनालाई १० किलो मात्रै वितरणका लागि निर्देशन गरेको हुन्छ । जसका कारण कम्पनीका कर्मचारी घेराबन्दीमा छन् । 

ad
ad