Skip This
‘वित्तीय विवरण म्यानुप्युलेट गरी आइपिओ ल्याउने खेलमा बोर्ड नै मतियार बन्यो’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १३ आइतबार १५:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘वित्तीय विवरण म्यानुप्युलेट गरी आइपिओ ल्याउने खेलमा बोर्ड नै मतियार बन्यो’

सीमित व्यापारीलाई पोस्न नियामक निकाय नै उद्यत रहेको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार १५:११:oo

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीको नाफा देखाएर आइपिओ ल्याउने गरेकाे भन्दै आपत्ति जनाएका छन्। अडिटरमार्फत नाफा देखाई बोर्डमा निवेदन दिने र बोर्डले पनि चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आपिओ निष्कासनको स्वीकृति दिइरहेको उनको दाबी छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा यादवले भने, ‘अडिटरमार्फत मुनाफा देखाई धितोपत्र बोर्डमा निवेदन दिन्छन्। र, धितोपत्र बोर्डले चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आइपिओ निष्कासनको स्वीकृति दिन्छ। उदाहरणका रूपमा घोराही सिमेन्ट, सोनापुर मिलरल्स एन्ड आयल कम्पनी, नेपाल वेयर हाउस कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी आइपिओ निष्कासनअघि ग्रिन जोनमा थिए। तर, आइपिओ निष्कानपछि रेडजोनमा गए। किनकि आइपिओ निष्कासनअघि लगानीकर्तालाई आकर्षित गर्न वित्तीय विवरण नै म्यानुप्युलेट गरिएको हुन्छ।’

यस्ता कम्पनीले वित्तीय विवरण ‘म्यानुप्युलेट’ गरी रिजर्भमा रहेको रकमसमेत नाफामा देखाउने गरेको प्रमुख सचेतक यादवको दाबी छ। उनले भने, ‘धेरैजसो कम्पनीको भ्याट मुद्दा, विद्युत् बक्यौताको मुद्दा चलिरहेको छ अदालतमा। कतिपय कम्पनीलाई प्रिमियममा आइपिओ निकाल्न अनुमति दिइयो।’

कम्पनीमा लगानीको जोखिम मूल्यांकन गर्ने केयर रेटिङ नेपाल र इक्रा नेपाल एजेन्सीको समेत बोर्डले नियमन नगरेको भन्दै यादवले असन्तुष्टि जनाए। ‘मैले पाएको सूचनाअनुसार यी एजेन्सीहरूले गैरकानुनी रूपमा रेटिङ बढाउँछन्। र, धितोपत्र बोर्ड दुधको रखवाल बिरालोजस्तो भएर बसेर हेरिरहन्छ,’ उनले भने, ‘रेटिङ एजेन्सीले पूर्वाग्रही भएर रेटिङ गर्दा मिहिनेत गरेर कमाएको पैसा डुब्ने जोखिम हुन्छ। यहाँसम्म कि रेटिङ कम्पनीको सम्पर्कमा रहेर मार्केट बढाउने केही प्लेयर छन्। यी प्लेयरहरू रेटिङ कम्पनीसँग मिलेर सेयर बजारमा लगानी गर्छन्। जब सेयर बजार केही माथि जान्छ, अनि साधारण लगानीकर्तालाई के लाग्छ भने यो सेयरमा लगानी गर्नुपर्छ, धेरै माथि गइरहेको छ। गरिब, निमुखाले पनि धमाधम लगानी गर्छन्। अनि ती प्लेयर, ती बिचौलियाहरू आफ्नो पैसा झिक्छन् र बजार एकैपटक तल झर्छ। आमलगानीकर्ता डुब्छन्।’

नेपाली सेयर बजारमा गम्भीर अपराधहरू भइरहे पनि नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर सीमित व्यापारीलाई पोस्न उद्यत् रहेको यादवले औँल्याए। ‘नेपाली सेयर बजारमा भइरहेको यो गम्भीर अपराधमा नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर लगानीकर्तामाथि ज्यादती गरेर सीमित व्यापारी र माफियालाई पोस्न उद्यत् रहेको छ । ३२ खर्ब लागनी रहेको नेपाली सेयर बजार अत्यन्तै गम्भीर संकटपूर्ण अवस्थामा पुगेको छ,’ उनले भने।