देशको राजनीतिक नेतृत्व र व्यवस्थाले आशा र भविष्यको सुनिश्चितता जगाउन नसक्नु नै युवा विद्यार्थी पलायनको प्रमुख कारण हो
विश्वका दुई ठूला (दोस्रो र पाँचौँ) अर्थतन्त्र चीन र भारत तथा विश्वको आधा जनसंख्याको बीचमा रहेको हाम्रो देश भू–राजनीति, प्राकृतिक र सामरिक दृष्टिले महत्वपूर्ण र संवेदनशील छ । विश्व अर्थतन्त्रको केन्द्र एसिया बनिरहेको र केही समयपछि विश्व अर्थतन्त्रको केन्द्र भौगालिक हिसाबले नेपालको आसपास पर्ने गरी सरिरहेको परिस्थितिमा हाम्रो देशको अर्थराजनीति, सुशासन र जनजीविकाको अवस्था भने दिनानुदिन खस्कँदो र संकटग्रस्त बनिरहेको छ ।
नेपालको वर्तमान राज्य व्यवस्थाको चरित्र मूलतः राजनीतिक रूपमा सामाजिक दलाल र आर्थिक रूपमा दलाल पुँजीवादी छ । राजनीतिक नेतृत्वमा देशप्रतिको आत्मीयता, समर्पणभाव, देशभक्ति, नैतिकता र स्पष्ट दृष्टिकोणको अभाव छ भने संसदीय व्यवस्थाको अस्थिरता र अराजकता व्याप्त छ । देशमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास ठप्पप्रायः छ भने दलाल पुँजीले एकोहोरो शोषण गरिरहेको छ । यसले देशलाई परनिर्भरताको अनन्त अँध्यारो सुरुङमा घचेटिरहेको छ । देशका राजनीतिक, प्रशासनिक र व्यापारिक क्षेत्रमा रहेका अनैतिक, भ्रष्ट, देशद्रोही र दलाल पुँजीका सेवकहरूले देशलाई खोक्रो, संकटग्रस्त र जनताको जीवनलाई नारकीय बनाइरहेका छन् । न्यायालय, प्रशासन र व्यापारिक क्षेत्र सेटिङ, तस्करी, करछली, नीतिगत भ्रष्टाचार, राज्य सम्पत्तिको दोहन, भ्रष्टाचार र अनियमितामा लिप्त छन् । जनतामा चरम निराशा र भविष्यप्रति पूर्णतया नकरात्मक भाव र असन्तुष्टि छ ।
यसको प्रत्यक्ष नकारात्मक प्रभाव नेपाली युवामा परिरहेको छ । नेपाली युवाले देशभित्र आफ्नो भविष्य देख्न छाडेका छन् । विभिन्न आवश्यकता र बाध्यतामा देश छाडेर बिदेसिने युवाको संख्या दिनदिनै बढिरहेको छ । नेपाली युवा विश्वका विभिन्न देशमा आफ्नो शैक्षिक र आर्थिक क्षमताअनुसार पलायन हुनुपर्ने बाध्यता बनिरहेको छ । पछिल्लो तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख नेपाली विदेश गएका छन् । तीमध्ये ७० हजार स्थायी रूपमा नेपालबाट बाहिरिएका छन् भने ९२ हजार अस्थायी रूपमा नेपालबाट विदेशमा बसोवास गर्ने गरी गएका छन् । रोजगारीको सिलसिलामा मात्रै सन् २०२३ मा नेपालबाट आठ लाख आठ हजार युवा बिदेसिएका छन् ।
नेपालबाट अध्ययन अनुमति लिएर विदेश जाने विद्यार्थी सन् २०२३ मा मात्रै एक लाख आठ हजार पाँच सय ४२ छन् । उनीहरूले नेपालबाट अध्ययनकै लागि मात्र करिब एक खर्ब विदेशी मुद्रा सञ्चिति नेपालबाट बाहिर लगेका छन् । प्लस टु पास गर्ने तीन लाख विद्यार्थीमध्ये डेढ लाखले वैदेशिक अध्ययन स्वीकृति (एनओसी) लिएर विदेश जाने गरेको तथ्यांक छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या ०६५/६६ मा वार्षिक दुई लाख १९ हजार रहेकामा ०७९/८० मा आउँदा त्यो बढेर आठ लाख आठ हजार पुगेको छ । शिक्षा मन्त्रालयबाट ०७९/८० मा मात्रै एक लाख १० हजार दुई सय १७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन स्वीकृति लिएका छन् । हालसम्म सरकारबाट श्रम स्वीकृति लिने नेपालीको संख्या ५६ लाख ६५ हजार दुई सय २६ पुगेको छ । प्रत्येक दिन हाम्रो देशबाट करिब तीन हजार युवा विदेश पलायन भइरहेका र दैनिक पाँच–सातवटा शव फर्किइरहेको तितो यथार्थ छ ।
नेपाल विश्वको अति गरिब देशको सूचीमा ४०औँ नम्बरमा छ र एसियामा अफगानिस्तानपछि दोस्रो गरिब देशका रूपमा रहेको छ । अमेरिका र अस्ट्रेलियाको प्रतिव्यक्ति आय प्रतिवर्ष क्रमशः ८० हजार ४१२ र ६३ हजार ४८७ अमेरिकी डलर रहँदा नेपालको मात्र एक हजार ३५२ अमेरिकी डलर छ । हाम्रो देशमा २५ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छ, जसको प्रतिदिन आय १.९ अमेरिकी डलरभन्दा कम छ । भ्रष्टाचार, अनियमितता र विकृतिको नापबाट हेर्दा विश्वको शीर्ष स्थानमा नेपाल परिरहेको छ । सुशासनका दृष्टिले अति नै अविश्वसनीय र अपारदर्शी बनिरहेको छ । देशको अर्थतन्त्र आयातमुखी छ । आयमा लगाएको कर र वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रको प्राण जोगाइरहेको छ । आयात निर्यातबीच चरम असन्तुलन छ ।
९० प्रतिशत आयात हुँदा मात्र १० प्रतिशत निर्यात भइरहेको छ । निर्यात गर्ने सामानका कच्चापदार्थ पनि धेरैजसो विदेशबाटै आयात हुन्छन् । नियमित राजस्वले देशको चालू खर्च धानिरहेको छैन । अर्थतन्त्रको आकार ५३ खर्ब बन्दा देशका सबै मुख्य बैंक, इन्स्योरेन्स, लघुवित्तलगायत वित्तीय संस्था केही निश्चित घराना र व्यापारीको नियन्त्रणमा छन् । नेपालका बैंकमा करिब पाँच करोड ५० लाख खाता रहेका छन् । पछिल्लो तथांक हेर्दा नेपालका बैंकमा जम्मा निक्षेप (बचत) करिब ६१ खर्ब ५३ अर्ब रहेको छ । नेपालका बैँकबाट करिब ५० खर्ब कर्जा प्रवाह भएको छ । जसमा जम्मा ऋणीको संख्या १८ लाख ३५ हजार रहेको छ । जसमध्ये ३४ खर्ब मात्र एक सयजना व्यक्ति, व्यापारी र घरानाहरूले लिएका छन् । प्रवाह भएको कर्जामध्ये ६८ प्रतिशत घरजग्गा कारोबारमा गएको छ । यस तथांकबाट पनि नेपालको अर्थतन्त्र कसको नियन्त्रणमा छ र कता गइरहेको छ भन्ने स्पष्ट हुन्छ ।
देश विकासको मेरुदण्ड उत्पादन, उपभोग र अर्थतन्त्रलाई चलायमान बनाई गति दिने मुख्य शक्ति युवाको ठूलो संख्या दिन–प्रतिदिन बिदेसिनुले नेपालमा बहुआयामिक संकट र सामाजिक विघटन निम्त्याइरहेको छ
विश्वमा मानव जातिले ज्ञान, विज्ञान र प्रविधिमा गरेको विकास र त्यसले उत्पादनमा ल्याएको वृद्धिले ल्याएको युगान्तकारी परिवर्तनको इतिहास पहिलोदेखि अहिले चौथो औद्योगिक क्रान्तिसम्म पुग्दा नेपालमा भने यसको प्रवेश, प्रयोग र सामाजिक तथा आर्थिक जीवनमा प्रभाव एकैपटक र छोटो समयमा भएको छ । विज्ञान प्रविधिले कम श्रम लगानीमा धेरै प्रतिफल र मानवीय जनजीवनमा ल्याएको सहजताले विकासका नयाँ आयाम थपिरहेको छ । नेपालमा भने विगतका र वर्तमान राज्य व्यवस्था पश्चगामी, परनिर्भर, जनविरोधी र राष्ट्रघाती सावित भएका छन् भने जनता र देशको जीवन जहिल्यै संकटग्रस्त रहेको छ ।
विशेषगरी तीन कारणले नेपाली युवाले देश छाडिरहेका छन् । प्रथम, अभाव र गरिबी तथा अन्तर्राष्ट्रिय श्रम बजारमा भएको असमानता, दोस्रो अध्ययन तथा ज्ञान सीप आर्जनका लागि र तेस्रो, विकसित देशमा हुने जीवनमा सहजता र सुरक्षा तथा वैवाहिक सम्बन्ध आदि । विशेषगरी श्रमिकहरू रोजगारीका लागि मध्यपूर्व, मलेसिया, कोरिया, युरोपेली देशलगायत ठाउँमा गइरहेका छन् । अध्ययनलाई नै केन्द्रमा राखेर विदेश गएका विद्यार्थी जो आर्थिक हिसाबले सम्पन्न परिवारबाट प्रतिनिधित्व गर्छन्, उनीहरू अमेरिका, बेलायत र क्यानडालगायत देशहरूमा जाने बढी प्रचलन छ । आर्थिक लाभ र अवसरको खोजीमा ठूलो संख्याका विद्यार्थी विशेषगरी अस्ट्रेलिया, जापान र न्युजिल्यान्डलगायत देशमा गइरहेका छन् । साथै सामाजिक रूपमा खुला र केही हदसम्म स्वतन्त्रता चाहने युवा संसारका विभिन्न देशमा जाने गरेका छन् ।
यसरी देश विकासको मेरुदण्ड उत्पादन, उपभोग र अर्थतन्त्रलाई चलायमान बनाई गति दिने मुख्य शक्ति युवाको ठूलो संख्या दिन–प्रतिदिन बिदेसिनुले नेपालमा बहुआयामिक संकट र सामाजिक विघटन निम्त्याइरहेको छ । विद्यार्थीहरू बिदेसिनुमा नेपालका शैक्षिक संस्थाको व्यवस्थापन र यिनको गुणस्तरमा भएको कमजोरी, शैक्षिक संस्थामा भएको राजनीतिक भागबन्डा, समयमै परीक्षा नहुने, पढिसकेपछि रोजगारीको व्यवस्था नहुने, विश्वविद्यालय र देशको अर्थतन्त्र नजोडिने तथा पाठ्यक्रममा समयसापेक्ष सुधार नहुनुजस्ता कारण छन् । देशको राजनीतिक नेतृत्व र व्यवस्था तथा भविष्यप्रति युवाको विश्वासमा देखिएको कमी पनि पलायनको एक प्रमुख कारण हो । ज्ञान र प्रविधिको विकास गरी देश विकासमा योगदान दिनुपर्ने नेपाली विश्वविद्यालय राजनीतिक भागबन्डा, भ्रष्टाचार र असफल राजनीतिक दलका भ्रातृसंस्थाजस्तो बन्नुले युवा विद्यार्थीको पलायन बढिरहेको छ ।
नेपालको मुख्य उत्पादनशील शक्तिका रूपमा रहेको युवा जनशक्तिको चरम विदेश पलायन एउटा गम्भीर संकटका रूपमा आएको छ । यसको पछाडि हाम्रो देशको समग्र अर्थराजनीतिक प्रणाली, राज्यको नेतृत्व, अर्थतन्त्र, राज्यका विभिन्न अंगले गरिरहेका काम र तिनमा भएका गम्भीर समस्या कारकका रूपमा रहेका छन् । देशको राजनीतिक नेतृत्व र व्यवस्थाले युवा विद्यार्थीमा आशा र भविष्यको सुनिश्चितता जगाउन नसक्नु नै युवा विद्यार्थी पलायनको प्रमुख कारण हो । नेपालमा वर्तमान राज्य व्यवस्था जो विदेशी दलाल पुँजीको एउटा हिस्साका रूपमा नेपालमा काम गरिरहेको छ । यसले नेपालको आफ्नो राष्ट्रिय अर्थ प्रणाली निर्माण गर्न दिँदैन र नेपाललाई विदेशी तयारी सामानको खुला बजार बनाउनुका साथै युवा श्रमशक्तिलाई सस्तो मूल्यमा निर्यात गरिरहेको छ । या भनौँ एक हदसम्म विश्वका पुँजीवादी देशमा आधुनिक दास बन्न बाध्य पारिरहेको छ । नेपालको वर्तमान राज्य व्यवस्था, नेतृत्व र अर्थतन्त्रले युवालाई देशमै राख्न र आत्मविश्वास जगाउन पूर्णतया असमर्थ भएको छ ।
नेपाल एक सुन्दर, प्राकृतिक साधनस्रोतले भरिपूर्ण, दुइटा ठूला अर्थतन्त्र र जनसंख्याको बीचमा रहेको प्रचुर सम्भावनायुक्त देश भएर पनि चरम संकट र गरिबीको भुमरीमा छ । कृषि, पर्यटन, ऊर्जा, वन, जडीबुटी, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा रहेको उच्च सम्भावना र उमेर समूहका हिसाबले युवाको ठूलो संख्या भएको यो समयको हाम्रो देशको शासन व्यवस्था, नेतृत्व र समग्र राज्यले उपयोग गर्न र अपनत्व लिन सकिरहेको छैन । वर्तमान राज्य व्यवस्था र नेतृत्वले देशमा धेरै सम्भावना रहँदारहँदै सम्भावनाको चाङमा बसेर एउटा उल्टो र चरम संकटको अँध्यारो सुरुङमा धकेलिरहेको छ ।
तसर्थ, नेपाली विद्यार्थी, युवा, बुद्धिजीवी, देशभक्त, मध्यम वर्ग, क्रान्तिकारी, राष्ट्रिय पुँजीपति र जनताको जीवन समृद्ध एवं न्यायपूर्ण बनाउन चाहने सबै जागरुक हुन जरुरी छ । देशको वर्तमान राजनीतिक व्यवस्था, अर्थतन्त्र र नेतृत्वमा परिवर्तन नगरी यी संकटबाट देशलाई बचाउन असम्भव छ । यसका निम्ति अहिलेको राज्य व्यवस्थाको समग्र संरचना, अर्थतन्त्र, नेतृत्वको अन्त्य र त्यसको ठाउँमा नेपाली विशेषताको समाजवादी व्यवस्था र देशभक्त तथा वैज्ञानिक दृष्टिकोण र योजनासहितको नेतृत्व ल्याउन जरुरी छ । नेपालसँग भएको प्राकृतिक साधनस्रोत र युवाशक्तिको ज्ञान र क्षमतालाई सही दृष्टिकोणसहित नेतृत्व गर्दा भविष्य सुन्दर छ । जनताको वास्तविक व्यवस्था र नेतृत्व हुँदा विश्वका धेरै देशले छोटो समयमै अकल्पनीय विकास र समृद्धि हासिल गरेका उदाहरण धेरै छन् । करिब तीन करोड जनसंख्यालाई नेपालको स्रोत र क्षमताले उच्चस्तरको जीवन र समृद्धि दिन सम्भव छ । युवा विद्यार्थी व्यक्तिगत हितलाई मात्र हेरी बिदेसिने होइन, देशमा विद्यमान अराजकता, भ्रष्टाचार, राष्ट्रघात, गरिबी र विविध क्षेत्रमा रहेका विकृति र विसंगतिविरुद्ध देशमै रहेर लड्नसमेत जरुरी छ । एकपटक राष्ट्रिय स्वाधीनताका पक्षधर, न्यायपूर्ण र समृद्ध नेपाल बनाउन चाहने सबै युवा–विद्यार्थीले नेपाललाई मुटुमा राखेर नयाँ सिराबाट सोच्न र पहल गर्न जरुरी छ । त्यसका लागि रचनात्मकता, कर्मशीलता, समर्पणभाव, देशभक्ति, विद्रोहको चेतना र भविष्यप्रतिको सपना, योजना र विश्वास आवश्यक छ ।
सी अखिल (क्रान्तिकारी)का उपाध्यक्ष हुन्