१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १ मंगलबार १०:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूले थप घटाए निक्षेपको ब्याजदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १ मंगलबार १०:४३:००

 निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरूले फागुनदेखि लागू हुने गरी औसतमा ०.४० प्रतिशत विन्दुले घटाएका हुन् । माघमा वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा औसत ८.१६ प्रतिशत ब्याज दिएका थिए । फागुनका लागि भने उनीहरूले औसतमा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । फागुन १ गतेदेखि लागू हुने गरी सोमबार नयाँ ब्याजदरको सूचना प्रकाशन गरेका छन् । 

२० वाणिज्य बैंकमा १६ वटाले ब्याजदर घटाएका छन् । यसबाहेक एभरेष्ट, लक्ष्मी सन्राइज, माछापुच्छ्रे  र हिमालयन बैंकले आफ्नो ब्याजदर यथावत् राखेका छन् । फागुनका लागि कृषि विकास बैंकले ६.४४, नेपालले ७.२५, स्ट्यान्डर्ड चार्टर्डले ७.३५, राष्ट्रिय वाणिज्यले ७.३५ प्रतिशत र प्राइम कमर्सियल बैंकले ७.४ प्रतिशत अधिकतम ब्याजदर तोकेका छन् । 

यसैगरी, प्रभुले ७.५, सानिमाले ७.५१, ग्लोबल आइएमई ७.६, नबिलले ७.७५, नेपाल इन्भेष्टमेन्ट मेगाले ८ प्रतिशत ब्याजदर तोकेका छन् । एनआइसी एसिया, एभरेष्टले, लक्ष्मी सन्राइज र माछापुच्छ्रेले ८ प्रतिशत ब्याजदर तोकेका छन् । यसैगरी, कुमारीले ८.०१, नेपाल एसबिआईले ८.१, हिमालयनले ८.१५, एनएमबिले ८.५, सिद्धार्थले ८ र सिटिजन्स बैंकले ८.२५ प्रतिशत ब्याजदर तोकेका छन् । 

तरलता अभाव भएसँगै बैंकहरूले गत आवदेखि ब्याजदर बढाउँदै लगेका थिए । निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्‍याएका थिए । फलस्वरूप कर्जाको ब्याजदर पनि महँगो भएको थियो । तर, अहिले बैंकहरूमा निक्षेप थुप्रिएको छ । अहिले वाणिज्य बैंकहरूमा ६ खर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । तर, कर्जाको माग बढ्न सकेको छैन । त्यसपछि गत कात्तिकदेखि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । यससँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ ।