१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o९:४७:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंकको निक्षेपमा रेमिट्यान्सको हिस्सा साढे एक प्रतिशत 

वाणिज्य बैंकहरूका अनुसार गत फागुनसम्म ७७ अर्ब ३० करोड ६८ लाख रेमिट्यान्स खातामा जम्मा, राष्ट्र बैंकसँग छैन यकिन तथ्यांक

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:४७:oo

२९ साउन ०७८ मा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वैदेशिक श्रमिकले पठाएको रेमिट्यान्स रकम बैंकमा जम्मा गरिदिए साधारणको निक्षेपभन्दा १ प्रतिशत थप ब्याजदर दिने घोषणा गरेको थियो । तर, यो सुविधा लागू भएको तीन वर्ष बित्न लाग्दासमेत यो कार्यक्रमको प्रभावकारिता मात्र होइन, यस्तो निक्षेप संकलनको तथ्यांकमा केन्द्रीय बैंक बेखबर छ ।

बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रेमिट्यान्सको यकिन तथ्यांकबारे नेपाल राष्ट्र बैंक नै अनभिज्ञ छ । जबकि, करिब तीन वर्षअघि बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सको रकम जम्मा गर्दा एक प्रतिशत विन्दु थपेर ब्याज दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । 

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले हालसम्म रेमिट्यान्स खातामा जम्मा भएको निक्षेपको यकिन तथ्य नभएको बताए । उनले भने, ‘६ महिनाअघिसम्म बुझ्दा बैंक तथा वित्तीय संस्थाहरूको रेमिट्यान्स खातामा एक खर्ब २४ अर्ब रहेको जानकारी पाइएको थियो । तर, बैंकहरूसँग हामीले कसले कति लिएको यकिन तथ्यांक मागेका छैनौँ ।’ राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत वैशाखसम्म  ८८ अर्ब रेमिट्यान्स निक्षेप संकलन भएको थियो । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल भन्छन्–
अहिलेसम्म रेमिट्यान्स खातामा जम्मा भएको निक्षेपको यकिन तथ्यांक छैन । ६ महिनाअघिसम्म बुझ्दा बैंक तथा वित्तीय संस्थाहरूको रेमिट्यान्स खातामा एक खर्ब चार अर्ब रहेको जानकारी पाइएको थियो । तर, बैंकहरूसँग हामीले कसले कति लिएको यकिन तथ्यांक भने मागेका छैनौँ ।

२९ साउन ०७८ मा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वैदेशिक श्रमिकले पठाएको रेमिट्यान्स रकम बैंकमा जम्मा गरिदिए साधारणको निक्षेपभन्दा १ प्रतिशत थप ब्याजदर दिने घोषणा गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीको रेमिट्यान्स बैँकिङ प्रणालीमार्फत भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख थियो । त्यसलाई निरन्तरता दिँदै यो व्यवस्था लागू भएको दुई वर्ष आठ महिना १४ दिन बितिसकेको छ । कुनै पनि कार्यक्रम ल्याइसकेपछि त्यसको कार्यान्वयन पक्षको मूल्यांकन तथा अनुगमन हुनुपर्ने सर्वमान्य सिद्धान्त छ । तर, केन्द्रीय बैंक यो सुविधा लागू भएको तीन वर्ष बित्नै लाग्दा पनि यो कार्यक्रमको प्रभावकारिता मात्र होइन, यस्तो निक्षेप संकलनको तथ्यांकमा समेत बेखबर छ । 

नयाँ पत्रिकाले १७ वटा वाणिज्य बैंकबाट प्राप्त गरेको जानकारीअनुसार गत फागुन मसान्तसम्म १७ वाणिज्य बैंकको ७७ अर्ब ३० करोड ६८ लाख रुपैयाँ रेमिट्यान्स खातामा जम्मा भएको छ । यसमा स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सानिमा, एभरेष्ट, कृषि विकास, माछापुच्छ्रे, हिमालयन, नबिल, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, कुमारी, नेपाल, लक्ष्मी सन्राइज, ग्लोबल आइएमई, सिटिजन्स इन्टरनेसनल, प्रभु र नेपाल एसबिआई छन् । 

१७ वाणिज्य बैंकले फागुन मसान्तसम्म ४४ खर्ब ९० अर्बको निक्षेप संकलन गरेका थिए । जसअनुसार कुल निक्षेपको तुलनामा रेमिट्यान्स निक्षेपको हिस्सा १.७२ प्रतिशत हुन आउँछ ।

सबैभन्दा बढी रेमिट्यान्स निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले १३ अर्ब १७ करोडको रेमिट्यान्स निक्षेप संकलन गरेको छ । जुन कुल निक्षेपको २.८१ प्रतिशत हुन आउँछ । बैंकका अनुसार ०७५ साउनदेखि ०८० असारसम्म १२ अर्ब ४७ करोड ३१ लाख एक हजार दुई सय ८४ रुपैयाँ रेमिट्यान्स निक्षेप संकलन गरेको थियो । ०८० साउनदेखि ०८० फागुनसम्म ६९ करोड ७५ लाख ७४ हजार १० रुपैयाँ संकलन गरेको बैंकले जानकारी दिएको छ । 

दोस्रोमा कुमारी बैंकले सबैभन्दा बढी रेमिट्यान्स निक्षेप ११ अर्ब संकलन गरेको छ । यो बैंकले संकलन गरेको कुल निक्षेपको तुलनामा ३.२८ प्रतिशत हो । बैंकहरूको कुल निक्षेपको अनुपातमा रेमिट्यान्स निक्षेपको भार बढी बहन गर्ने बैंकमा प्रभु बैंक छ । यो बैंकले संकलन गरेको निक्षेपमा ३.६७ प्रतिशत हिस्सा रेमिट्यान्स निक्षेपको छ । प्रभु बैंकले फागुनसम्म १० अर्ब ५२ करोड रेमिट्यान्स निक्षेप संकलन गरेको छ । 

राष्ट्रिय वाणिज्य बैंकले हालसम्म रेमिट्यान्स खातामा आठ अर्ब ८० करोड ४६ लाखको निक्षेप जम्मा गरेको छ । जुन उसले संकलन गरेको कुल निक्षेपको २.४३ प्रतिशत हो । यो बैंकले संकलन गरेको रेमिट्यान्स निक्षेपमध्ये हालसम्म बचततर्फ तीन अर्ब ८६ करोड ५६ लाख संकलन भएको छ भने मुद्दतीतर्फ चार अर्ब ९३ करोड ८९ लाख संकलन भएको छ । आर्थिक वर्ष ०७८/७९ मा बचततर्फ २७ करोड ४५ लाख संकलन गरेको थियो । त्यसपछि ०७९ /८० मा एक अर्ब ५९ करोड २२ लाख संकलन भएको थियो । ०८०/८१ को फागुनसम्म एक अर्ब ९९ करोड ८८ लाख संकलन भएको बैंकले जानकारी दिएको छ । 

हिमालयन बैंकले फागुनसम्म १० अर्ब ८५ करोड रेमिट्यान्स निक्षेप संकलन गरेको छ । जसमा चार अर्ब ७४ करोड २७ लाख रुपैयाँ बचत खातामा संकलन गरिएको छ भने ६ अर्ब १० करोड ९६ लाख मुद्दतीमा जम्मा भएको छ । चार वर्षअघि ०७६ असारसम्म चार अर्ब ८५ करोड बचततर्फ रेमिट्यान्स निक्षेप संकलन गरेको यो बैंकको यस्तो निक्षेप ०७७ असारसम्म आइपुग्दा पाँच अर्ब ७२ करोड ९३ लाख पुगेको थियो । ०७८ असारसम्म ६ अर्ब ५३ करोड ४० लाख रुपैयाँसम्म पुगेको थियो । तर, ०७८ साउनको मौद्रिक नीतिले १ प्रतिशत थप ब्याजदर दिने निर्णय गरेसँगै बचततर्फको यस्तो निक्षेप ०७९ असारसम्म आइपुग्दा घटेको थियो । त्यतिवेला यस्तो निक्षेप पाँच अर्ब आठ करोड ७८ लाख कायम थियो । त्यसपछि ०८० मा त यस्तो निक्षेप ओरालो लाग्न थाल्यो । ०८० असारसम्म चार अर्ब ७४ करोड ९५ लाख कायम भएको निक्षेप फागुनसम्म घटेर चार अर्ब ७४ करोड २७ लाख पुग्यो । 

साधारण निक्षेप घटे पनि मुद्दती निक्षेपमा भने वृद्धि भइरहेको देखिन्छ । ०७९ असारसम्म दुई अर्ब २१ करोड ९८ लाख जम्मा भएको यस्तो मुद्दती निक्षेप दोब्बरले बढेर ०८० असारसम्म चार अर्ब ५२ करोड २९ लाख पुगेको थियो । गत फागुनसम्म त यस्तो निक्षेप ६ अर्ब १० करोड ९६ लाखसम्म पुगेको थियो ।  

गत १६ माघमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले रेमिट्यान्स खातामा पाँच करोड सात लाख ५६ हजार नौ सय ११ रुपैयाँको निक्षेप संकलन गरेको छ । सानिमा बैंकले गत ०८० असार मसान्तसम्ममा पाँच करोड ८७ लाख ८३ हजार आठ सय २२ रुपैयाँ बचततर्फ संकलन गरेको थियो । फागुनमा यो बढेर आठ करोड ५५ लाख तीन हजार ६ सय ६२ रुपैयाँ कायम भएको छ । त्यस्तै, गत असारसम्ममा मुद्दतीतर्फ एक अर्ब ८५ करोड १० लाख ६६ हजार दुई सय दुई रुपैयाँ निक्षेप संकलन भएकोमा फागुनमा घटेर एक अर्ब ५३ करोड ८६ लाख ८६ हजार दुई सय ६६ रुपैयाँ कायम भएको छ । गत वर्षको असारसम्म मुद्दतीतर्फ एक अर्ब तीन करोड ११ लाख ९१ हजार आठ सय ४७ रुपैयाँ संकलन भएको थियो । त्यस्तै, नबिल बैंकले गत असार मसान्तसम्म एक अर्ब ४३ करोड ५० लाखको निक्षेप संकलन गरेकोमा फागुनसम्म दुई अर्ब १९ करोड १० लाख पुगेको छ ।  

नेपाल एसबिआई बैंकले गत फागुनसम्म तीन अर्ब ७७ करोड १८ लाख रेमिट्यान्स निक्षेप संकलन गरेको छ । जसमा बचततर्फ २४ लाख ६९ हजार तीन सय ६२ रुपैयाँ मात्रै छ । मुद्दतीतर्फ तीन अर्ब ७६ करोड ६९ लाख ११ हजार दुई सय ५५ रुपैयाँ संकलन भएको छ । ०७८/७९ मा कुल ५२ करोड ७३ लाख मात्रै रेमिट्यान्स निक्षेप भित्र्याएकोमा ०७९/८० सम्म बैंकले तीन अर्ब ३२ करोड रेमिट्यान्स निक्षेप पुर्‍याएको थियो । एसबिआईले भित्र्याएको रेमिट्यान्स निक्षेप कुल निक्षेपको २.१७ प्रतिशत हो । एभरेष्ट बैंकले दुई अर्ब ९३ करोडको निक्षेप संकलन गरेको छ । जुन उसले संकलन गरेको कुल निक्षेपको १.३५ प्रतिशत हो । लक्ष्मी सन्राइज बैंकले दुई अर्ब ४६ करोडको रेमिट्यान्स निक्षेप संकलन गरेको छ भने सिटिजन्स इन्टरनेसनल बैंकले दुई अर्ब ४४ करोडको निक्षेप संकलन गरेको छ । सिटिजन्सले कुल निक्षेपको १.३४ प्रतिशत रेमिट्यान्स निक्षेप संकलन गरेको छ । बाँकी कृषि विकास, नेपाल, सिद्धार्थ, माछापुच्छ्रे, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संकलन गरेको रेमिट्यान्स निक्षेप कुल निक्षेप संकलनको दाँजोमा नगण्य छ ।

ad
ad