१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल शरणार्थीको सेल्टर, तीन वर्षमै तेब्बर

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२२:oo

खुला सीमा, खुकुलो अध्यागमन नीति र कमजोर नियमन प्रणालीका कारण नेपालमा अवैध शरणार्थी संख्या तीन वर्षमा तेब्बर भएको छ । तेस्रो देश जान ‘ट्रान्जिट’का रूपमा नेपाली भूमिलाई शरणार्थीहरूले दुरुपयोग गर्ने क्रम बढेको छ । विज्ञहरूले यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिले जोखिम ठानेका छन् ।

अध्यागमन विभागका अनुसार हाल नेपालमा १६ देशका नौ सय ८८ अवैध शरणार्थी छन् । जसमध्ये ६ सय ८२ जनाले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयबाट परिचयपत्र लिइसकेका छन् भने अन्य तीन सय ६ जनाले पनि परिचयपत्रका लागि आवेदन दिएका छन् । विभागको तीन वर्षअघिको विवरणअनुसार यस्ता अवैध शरणार्थीको संख्या करिब तीन सयभन्दा कम थियो । म्यानमारका रोहिग्ंयासहित विभिन्न युद्धग्रस्त देशबाट नेपालमा आएर शरणार्थीको रूपमा बस्ने प्रवृत्ति बढेको छ । 

अवैध शरणार्थीसँगै यसले सुरक्षा चुनौतीसमेत थपिँदै गएको सुरक्षाकर्मी बताउँछन् । अफ्रिकी देशका नागरिकहरूसमेत पर्यटकका रूपमा नेपाल आएर शरणार्थीका रूपमा बसेका छन् । त्यस्तै, द्वन्द्वमा रहेका देशहरू रसिया, युक्रेन, यमनलगायत देशबाट पनि आउने क्रम बढेको छ । 

म्यानमार सरकारको दमनका कारण त्यहाँबाट भागेका रोहिंग्या शरणार्थी नेपालका लागि ठूलो चुनौती बन्ने अवस्था देखिएको छ । उनीहरूको संख्या उपत्यकामा निरन्तर बढिरहेको छ । सुरक्षा निकायको पछिल्लो तथ्यांकअनुसार रोहिंग्याको संख्या पाँच सय आठ पुगेको छ । 

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपालमा रोहिंग्या शरणार्थी प्रवेश गरेका हुन् । नेपालले शरणार्थीको मान्यता नदिए पनि यहाँ आएर उनीहरू क्याम्पकै शैलीमा समूहगत रूपमा बस्दै आएका छन् ।  हाल चार सय १३ जना रोहिंग्याले युएनएचसिआरबाट शरणार्थीका रूपमा परिचयपत्र पाइसकेका छन् भने थप ९५ जनाले यसका लागि निवेदन दिएका छन् । धेरैजसो रोहिंग्या कपनको राममन्दिर क्षेत्रमा टहरा बनाएर बसेका छन् । ललितपुरको टीकाथली तथा भक्तपुरको विभिन्न बाहिरी क्षेत्रमा खाली जग्गामा पनि बसेको सुरक्षा निकायको प्रतिवेदन छ । यद्यपि, भारत हुँदै आउने क्रम भने घटेको छ । भारतमा ४० हजारभन्दा धेरै रोहिंग्या छन् ।

अन्तर्राष्ट्रिय आतंकवादका घटनासमेत बढ्दै गइरहेको परिप्रेक्ष्यमा शरणार्थी आउने क्रम बढ्नु सुरक्षाका दृष्टिकोणले चुनौतीको विषय भएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । नेपालमा युएनएचसिआरबाट सहजै शरणार्थी कार्ड पाइने भएकाले नेपालमा अवैध शरणार्थी बढेको नेपाल प्रहरीका पूर्वएआइजी बमबहादुर भण्डारी बताउँछन् । ‘खुला सीमा र सहज रूपमा अनअराइभल भिसा पाउने भएकाले युद्धग्रस्त देशका नागरिकहरू शरणार्थी बनेर अर्काे देश जाने उद्देश्यले नेपाल आउने आमप्रवृत्ति छ,’ उनी भन्छन्, ‘उनीहरूलाई युएनएचसिआरले पनि सजिलै शरणार्थी कार्ड उपलब्ध गराउँछ । सुरक्षाको दृष्टिकोणले यो हाम्रो देशको लागि जोखिम छ ।’ 

युद्धग्रस्त देशबाट आउनेहरूले अतिवादी सोच बोकेर आउने र   त्यसअनुसारको गतिविधि गर्न सक्ने उनको विश्लेषण छ । कतिपय आंतकवादी समूहले शरणार्थीलाई नै नै प्रयोगसमेत गर्न सक्ने भएकाले राज्यले बलियो निगरानी संयन्त्र बनाउनुपर्नेमा उनी जोड दिन्छन् । 

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ अवैध शरणार्थीको बढ्दो संख्याप्रति आफूहरू सजग र सचेत रहेको बताउँछन् । अवैध शरणार्थीलाई निरुत्साहित गर्ने गरी आफूहरूले काम थालेको उनको भनाइ छ । अवैध शरणार्थीमध्ये केही खुला सीमा हुँदै त केही पर्यटकका रूपमा आई पासपोर्ट फालेर शरणार्थीको लागि आवेदन दिने गरेका छन् । त्यस्ता शरणार्थीलाई अन्तर्राष्ट्रिय संघ–संस्थाले सघाउँदै आएका छन् । जसकारण यस्ता गतिविधि बढेको सुरक्षा निकायको विश्लेषण छ । कतिपयलाई बिचौलियाहरूले ओभरस्टेको जरिवानासमेत मिनाहा गराएर तेस्रो देश पठाउने गरेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । अवैध शरणार्थीको जरिवाना पटक–पटक सरकारले मिनाहा गर्दै आएको छ । 

ad
ad