१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २८ आइतबार १६:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघका पूर्वाध्यक्षको जीवनी समेटिएको ‘अग्र अनुहार’ विमोचन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २८ आइतबार १६:१९:००

नेपाल पत्रकार महासंघका पूर्वाध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’को विमोचन गरिएको छ।

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक आइतबार पर्यटन बोर्डको सभाहलमा महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्वाअध्यक्षहरू किशोर नेपाल, तारानाथ दाहाल, डा. महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धमेन्द्र झालगायतले विमोचन गरे।

पुस्तकमा नेपाल पत्रकार महासंघको नेतृत्व गरिसकेका २२ जना पूर्वाध्यक्ष र वर्तमान अध्यक्ष विपुल पोखरेलसहितको जीवनी समेटिएको छ।

पुस्तक विमोचनमा बोल्दै महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेलले यस पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउँदै महासंघले पत्रकारिता र महासंघको योगदानसँग जोडिएका व्यक्तिहरूलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्ने बताए।

‘यो नै अन्तिम इतिहास होइन, इतिहास करेन्सन गर्दै जाने हो,’ उनले भने, ‘पत्रकार महासंघ र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई पत्रकार महासंघले विभिन्न माध्ययमबाट सम्मान गर्न तयार छ, महासंघलाई यहाँसम्म ल्याउन धेरैले महत्वपूर्ण भूमिका खेल्नुभएको छ।’

उनले पत्रकारिता क्षेत्रलाई सबल बनाउने गरी महासंघले काम गर्दै आइरहेको र महासंघसँगको इतिहासलाई मेटिन नदिने जानकारी दिए। वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वाध्यक्ष किशोर नेपालले यो पुस्तकले पत्रकार महासंघको इतिहास बोकेको बताउँदै इतिहास सच्याउँदै जानुपर्ने धारणा राखे।

‘इतिहास सच्याउँदै जाने हो, बिगार्नेतिर होइन,’ उनले भने, ‘राजनीतिक परिवर्तन, जनआन्दोलनलगायत कालखण्डमा पत्रकारको टेवा ठूलो छ।’ 

महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले महासंघको निर्माण, विकास र चुनौतीको सामाना गर्ने क्रममा भोगेका अनुभव यस पुस्तकमा समेटिएको बताए।

‘समाजमा अन्य ठाउँ र पुस्तक पसलहरूमा हेर्ने हो भने अन्य विषयका पुस्तक पढ्न पाइन्छ, तर पत्रकारितासम्बन्धी जानकारी, ज्ञान र सूचना दिने पठनीय सामग्रीको अभाव रहेको छ,’ उनले भने, ‘प्रतिष्ठानले एउटा सानो प्रयास गरेको छ, संगठनको निर्माण, विकास र चुनौतीको सामना गर्ने क्रममा भोगेका अनुभव यस पुस्तकमा समेटिएका छन्।’

उनले पत्रकारिता र पत्रकार महासंघको श्रीवृद्धिमा अन्य व्यक्तिहरूको भूमिका रहेको बताए । सञ्चारमाध्यमका संस्थाहरूका कारण पत्रकारहरूमा पछिल्लो समय जोस–जाँगर कम दिएको बताउँदै यो चिन्ताको विषय रहेको उनको भनाइ छ।

प्राध्यापक तथा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रताका आवाज पत्रकार महासंघले उठाएको बताउँदै आवाज उठाउनेहरूको दस्ताबेज तयार हुनु खुसीकाे कुरा रहेको बताए।

‘यो किताब एउटा बेसमेन्ट हो, महासंघ र पत्रकारिताको इतिहासबारे यसमा समेटिएको छ,’ उनले भने, ‘नेपालको सात दशकको पत्रकारिताको इतिहासमा कैयौँ आवाज उठे, आमनागरिकका आवाज पत्रकार महासंघ र पत्रकारले उठाएका छन्।’ उनले यस पुस्तकले पत्रकार महासंघसँग सम्बन्धित जानकारी खोज्न र अध्ययन गर्न सन्दर्भ सामग्रीको रूपमा काम गर्ने बताए।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकार महासंघले पत्रकार महासंघसँग सम्बन्धित सबैखाले समस्या समाधान गर्नुपर्ने बताउँदै पुस्तकमा कतिपय विषय अधुरा गरेको बताइन् । ‘यस पुस्तकमा कतिपय कुरा अधुरा छन्, इतिहासका सबै पक्षहरू किताबमा समेटिनुपर्ने हो, तर कतिपय इतिहास छुटेका छन्,’ उनले भनिन्, ‘त्यसलाई महासंघले बुझ्नुपर्छ।’

प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकार महासंघले उपलब्ध गराएको पूर्वाध्यक्षहरूको नामअनुसार जीवनी तयार पारेको बताउँदै यस पुस्तकले महासंघ र पत्रकारिताको इतिहासबारे जान्न मद्दत पुग्ने बताए।

पुस्तकमा २३ जनाको जीवनी समेटिएको छ। पूर्वअध्यक्षहरूको उक्त जीवनी प्रतिष्ठान प्रदेश समितिका कार्यसमिति सदस्य र केही पत्रकारहरूले तयार पारेका थिए। १९१ पेजको सो पुस्तक प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले सम्पादन गरेका थिए।

पुस्तकमा सत्यनारायण श्रेष्ठबारे उल्लेख नगरेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विरोध पनि गरेको थियो।