Skip This
भुक्तानी नपाएको भन्दै पाँच ब्रोकरविरुद्ध सात सय ८० उजुरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Sunday, 06 October, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o माघ २६ शुक्रबार o८:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भुक्तानी नपाएको भन्दै पाँच ब्रोकरविरुद्ध सात सय ८० उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार o८:१३:oo

बिक्री गरेको सेयरको भुक्तानी नपाएको भन्दै पाँच ब्रोकरविरुद्ध सबैभन्दा बढी उजुरी परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार पछिल्लो आठ महिनामा सबैभन्दा बढी ब्रोकर नं ५८ विरुद्ध उजुरी परेको छ । उक्त ब्रोकर कम्पनीविरुद्ध भुक्तानी नपाएको भन्दै चार सय ५९ वटा उजरी दर्ता भएको बोर्डले जनाएको छ । उक्त अवधिमा विभिन्न ब्रोकरसँग सम्बन्धित सात सय ८० वटा उजुरी दर्ता भएको बोर्डका एक अधिकारीले बताए ।

दर्ताअनुसार ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्रले रकम नदिएको भन्दै एक सय १४ वटा उजुरी परेका छन् । ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजविरुद्ध एक सय १६, ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटिजविरुद्ध २२, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजविरुद्ध ४६ र ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजविरुद्ध २३ वटा उजुरी परेको बोर्डले जानकारी दिएको छ । 

बोर्डका एक अधिकारीका अनुसार ब्रोकरले ६१ दिनसम्म पनि सेयर बिक्री गरेको रकम भुक्तानी नदिएको गुनासो बोर्डमा परेको छ । ब्रोकरबाट समस्याको समाधान नभएपछि सधैँ नियामक निकायमा लगानीकर्ताले उजुरी गरेका हुन् । केही समस्या देखिएको उजुरी शाखामा अनलाइनमार्फत उजुरी गर्न सकिने बोर्डले व्यवस्था गरेको छ । तर, नेपाल स्टक एक्सचेन्जको सदस्यका रूपमा ब्रोकर पनि रहेका हुन्छन् ।

लगानीकर्ताले नेप्सेमार्फत नभई सीधै उजुरी गरेपछि धितोपत्र बोर्डले भुक्तानीको विषयलाई गम्भीर रूपमा लिएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख कृष्णबहादुर कार्कीलाई भेटेर अहिले देखिएको भुक्तानीको समस्या समाधानका विषयमा बुझेर आवश्यक कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘मैले नेप्से प्रमुखलाई भेटेर अहिले देखिएको समस्या के कारणले भएको हो, जानकारी लिएर ब्रोकरलाई कारबाही गर्न सिफारिस गर्नुस्, हामी कारबाही गर्न तयार छौँ भनेका छौँ ।’ लगानीकर्तालाई उधारोमा सेयर बिक्री गर्दा पनि समस्या देखिएको ब्रोकरको गुनासो छ । ब्रोकरले लगानीकर्ताको सम्बन्ध र पहुँचका आधारमा उधारोमा सेयर बिक्री गर्ने र त्यस्ता लगानीकर्ताले सेयर किनेको रकम ब्रोकरलाई समयमै भुक्तानी नगर्दा समस्यामा देखिएको एक ब्रोकरले बताए । उनले भने, ‘लाखौँ रकमबराबरको सेयर किनेर राख्यो, पछि लगानीकर्ताले भुक्तानी गर्न ढिला हुन्छ, अनि लगानीकर्ताले बेचेको सेयरको भुक्तानीमा समस्या हुनुको कारण एउटा उधारो सेयर बिक्री पनि हो ।’

समस्या भए शाखामै गुनासो राख्नु : स्टक ब्रोकर एसोसिएसन
नेपाल स्टक ब्रोकर एसोसिएसनले सेयर भुक्तानीमा समस्या नभएको बताएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कुनै कारण भुक्तानीमा समस्या भए सम्बन्धित शाखामा गुनासो गर्न पनि आग्रह गरेको हो । सम्पन्न भएका कारोबारको राफासाफ धितोपत्र दलाल व्यवसायीका कारणबाट समयमै हुन नसकेको एउटै मात्र पनि उदाहरण हालसम्म नभएको ब्रोकरको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘कहिलेकाहीँ पूर्वानुमान नगरिएका प्राविधिक तथा पक्रियागत समस्याका कारण लगानीकर्तालाई समयमै सेवा प्रदान गर्न नसकेको अवस्थामा संघले त्यसलाई तत्काल सम्बोधन गर्छ ।’

पछिल्लो समय सेयर बिक्रीको रकम भक्तानीमा भइरहेका समस्यालाई लिएर संघले गत १९ माघमा पनि विज्ञप्ति जारी गरेको थियो । ब्रोकरले अनलाइन प्रणालीबाट प्राविधिक कारणले तत्काल भुक्तानी हुन नसकेको र माघको पहिलो हप्ता नेपाल स्टक एक्सचेन्जले टिएमएस मर्मत–सम्भार गर्दा पनि भुक्तानी समस्या भएको र अहिले त्यो अवस्था नरहेको एसोसिएसनको दाबी छ ।