मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Wednesday, 18 December, 2024
मञ्जु टेलर काठमाडाैं
२o८o माघ २२ सोमबार o६:३६:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुर्गममा जलन, काठमाडौंमा अस्पताल

दूरदराजदेखि राजधानी काठमाडौंका अस्पताल पुग्दासम्म बढ्ने जटिलताले ज्यान गुमाउँछन् जलनपीडित, जटिल बिरामी पुर्‍याइने कीर्तिपुर अस्पतालमा १३ देखि २० प्रतिशतसम्म छ मृत्युदर

Read Time : > 6 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार o६:३६:oo
  •  गत वर्ष ७६ हजार मानिस जलनबाट प्रभावित, १५ सय हाराहारी मात्रै पुगे अस्पताल
  •  उपचार खर्च धान्नै गाह्रो

आगोले जलेकी ६५ वर्षीया एक महिला (नाम खुलाउन नचाहेको)को ११ माघमा कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । कपिलवस्तुमा जलेकी उनलाई अस्पताल पुर्‍याउन ढिलाइ हुँदा मृत्यु भएको थियो । उनलाई जलेको तीन दिनमा मात्रै काठमाडौं पुर्‍याइएको थियो । 

उनको शरीरको ३० प्रतिशत भाग जलेको र २४ घण्टासम्म जलनसम्बन्धी कुनै पनि प्राथमिक उपचार नपाउँदा आएको जटिलताका कारण उपचारमा झन् समस्या भएको चिकित्सक डा. किरण नकर्मीले बताए । ‘उमेर पनि धेरै भएको र ढिला अस्पताल पुर्‍याउँदा जलनको असर गहिरो थियो । घाउबाट पानी धेरै बगेका कारण पनि अन्य अंगमा आएको जटिलताले निको हुने दर निकै कम थियो,’ उनले भने, ‘नौ दिनसम्मको उपचारपछि शल्यक्रिया गर्ने क्रममा मृत्यु भयो ।’ 

सोही दिन नेपालगन्जकी ८० वर्षीया सुवर्णकुमारी पाण्डेको पनि कीर्तिपुर अस्पतालमै मृत्यु भयो । शीतलहरको चिसोबाट जोगिन आगो ताप्ने क्रममा शरीरको कपडामा सल्किएर उनी जलेकी थिइन् । उपचारका लागि तत्काल भेरी अस्पताल लगिए पनि सामान्य पट्टी लगाइदिएर काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पुर्‍याउँदा २४ घण्टाभन्दा ढिला भइसकेकी उनलाई आइसियूमा राखेर उपचार गरिए पनि एक सातामा ज्यान गएको हो । ‘भेरी अस्प्तालमै जलनको उपचार गर्न पाएको भए आमालाई बचाउन सकिन्थ्यो,’ छोरा जीवन पाण्डेले भने, ‘काठमाडौं ल्याउँदासम्म २४ घण्टा कटिसकेकाले जोगाउन सकिएन ।’ 

११ माघमै कीर्तिपुर अस्पतालमै मुगुकी ५६ वर्षीया महिला भर्ना भएकी छिन् । आगोले पोलेको नौ दिनपछि मात्रै भर्ना भएकी उनको शरीरको १६ प्रतिशत मात्रै जले पनि अस्पताल पुग्न ढिलाइ हुँदा घाउ गनाउने अवस्थामा छ । त्यसअघि ६ दिनसम्म जुम्ला जिल्ला अस्पतालमा उपचारपछि उनी तीन दिनको बस यात्रामा काठमाडौं आइपुगेकी हुन् । ‘अस्पताल ढिला ल्याउँदा समस्या जटिल बन्दै गएको छ । आगोले पोलेको घाउ सानो भए पनि लामो समयसम्म उपचार नपाउँदा गम्भीर असर पर्दै गएको छ,’ उपचारमा संलग्न चिकित्सकले भने । 

अस्पताल ढिला पु¥याउँदा १० माघमा सप्तरीका चार वर्षीय बालकको मृत्यु भएको थियो । जलेपछि प्राथमिक उपचार पनि नपाएको र घटनाको तीन दिनपछि मात्रै अस्पताल पुर्‍याइएका कारण शरीरमा गहिरो घाउ बनिसकेकाले बचाउन नसकिएको चिकित्सकले बताए । 

घटनालगत्तै नजिकै जलनसम्बन्धी प्राथमिक उपचार नपाउँदा र काठमाडौं नै पुर्‍याउँदा हुने ढिलाइका कारण गहिरो असर पर्ने भएकाले उपचारका क्रममा मृत्यु हुने गरेको छ । जलनका धेरै बिरामी पुग्ने कीर्तिपुर अस्पतालको आँकडाअनुसार उपचारका क्रममा १३ देखि २० प्रतिशत जलनका बिरामीले ज्यान गुमाउने गरेका छन् । अस्पतालका जलन विभाग प्रमुख डा. किरण नकर्मीले भने, ‘समयमा प्राथमिक उपचार नपाउँदा जलनको बिरामीको शरीरमा पानीको मात्रा घट्दै जान्छ, जसले रक्तसञ्चार पनि घटेर जटिल अवस्था निम्त्याउँछ । जलनका घटनापछि सकेसम्म धेरै पानी पिउनुपर्छ भन्ने सामान्य जानकारी पनि छैन । तत्काल प्राथमिक उपचार नपाउँदा अस्पताल पुगेका प्रत्येक सयजनामा १३ देखि २० जनाले उपचारकै क्रममा ज्यान गुमाउँछन् ।’ 

जलनका कारण बर्सेनि सयौँको ज्यान गइरहेको र ७५ हजारभन्दा बढी घाइते, अपांग भइरहे पनि सरकारले ध्यान नदिनु दुःखद भएको बताउँछन्, जलनपीडितहरूको उपचारमा सहयोग गर्दै आएका अभियन्ता उज्ज्वलविक्रम थापा । उनका अनुसार जलनपीडित उपचार अभावमा थप पीडित भइरहेका छन् । ‘जबसम्म सरकारले जलनपीडितको उपचारको जिम्मा लिँदैन तबसम्म बर्सेनि सयौँले ज्यान गुमाउनुपर्ने अवस्था रहिरहनेछ,’ थापाले भने, ‘जलन जुनसुकै कारणले भए पनि उपचारको जिम्मा सरकारले लिनुपर्ने हो । एसिडबाट जलेकाले सरकारबाट खर्च पाइरहेका छन्, तर मट्टीतेल खन्याएर आगो लगाइएकाहरू उपचार गर्न नसकेर कि त अपांग भएर बाँच्नुपर्ने बाध्यता छ कि मर्नुपर्ने । महँगो उपचार खर्च व्यहोर्न नसक्ने सबै पीडितको उपचार कोष जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्छ ।’ जलनको घाउलाई लिएर जिन्दगीभर समाजले गर्ने विभेदपूर्ण व्यवहारले निम्त्याउने मानसिक समस्या पनि उस्तै भयावह छ । 

देशका जम्मा पाँच अस्पतालमा मात्र जलनको उपचार हुन्छ । कीर्तिपुर, त्रिवि शिक्षण (टिचिङ), कान्ति, पाटन, वीर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार सेवा छ। कीर्तिपुर अस्पताल ट्रस्टमा सञ्चालित छ, साँखुस्थित सुष्मा कोइराला मेमोरियल गैरसरकारी अस्पताल हो भने अन्य सबै सरकारी हुन् । यी सबै काठमाडौं उपत्यकाभित्रै छन् । त्यसैले, काठमाडौंबाहिर जलनका बिरामीलाई उपचार सेवा नहुँदा काठमाडौं पुग्नुको विकल्प छैन । 

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार पछिल्लो वर्ष देशभर ७६ हजारभन्दा बढी मानिस जलनबाट प्रभावित भएका छन् । तर, पछिल्ला वर्षहरूको तथ्यांकअनुसार उपचारका वर्षमा १५ सयभन्दा कम बिरामी मात्र उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । त्यसमा पनि उपचार नपाएर वा ढिला गरी अस्पताल पुग्दा उपचारकै क्रममा अधिकांशको मृत्यु हुने गरेको छ । 

समयमा उपचार नपाएर जलनका कति बिरामीको मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । बर्सेनि आगो, एसिड र मट्टीतेल खन्याएर आगो लगाएका घटना हजारौँको संख्यामा आएका हुन्छन् । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिड जलनका घटना हुने गरेका छन् । जसमध्ये दुर्घटनामा अधिकांशको मृत्यु हुने, बाँचेकामध्ये आधाभन्दा बढीमा अपांगता र एकदमै न्यून प्रतिशत मात्रै अस्पताल पुग्ने गरेका छन् । जलनका घटनाको नियमित तथ्यांक लिइरहेको नेपाल प्रहरीसँग समेत यकिन तथ्यांक छैन । एसिड आक्रमण, गिजर हिटर र कोइलाबाट निसास्सिएर मृत्यु भएका घटना मात्रै रिपोर्टिङ गरिएकाले जलनका घटनाको यकिन तथ्यांक नभएको प्रहरी बताउँछ । 

उपचार खर्च धान्नै गाह्रो
सप्तरीकी ५५ वर्षीया शान्तिदेवी साहको कम्मरमुनिको १८ प्रतिशत भाग आगोले जलेर कीर्तिपुर अस्पतालमा उपचाररत छिन् । शीतलहरले बढाएको चिसो छल्न पराल बालेर आगो ताप्ने क्रममा जलेकी उनी दुई सातादेखि अस्पतालमा छिन् । उनीसँग अस्पतालमा कुरुवा बसिरहेका छोरा कपिलदेवका अनुसार शान्तिदेवीलाई उपचारका लागि तत्काल राजविराज लगिएको थियो, तर अस्पतालले उपचार गर्न नसक्ने भन्दै काठमाडौं रेफर गर्‍यो । उनी भन्छन्, ‘अस्पतालमा राखेको दुई हप्ता भयो । अहिलेसम्म उपचारका लागि चार लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो । डिस्चार्जपछि नियमित फलोअपमा आउन भनिएको छ, २५ हजार एम्बुलेन्सले नै लिन्छ, बिरामीलाई बसमा ल्याउन सकिँदैन । राजविराजमै उपचार भइदिएको भए, उपचार खर्च महँगो हुँदैनथ्यो । आफन्तबाट १०–१५ हजार गरेर लिएको ऋण पनि सकियो । थप उपचारका लागि खर्च कहाँबाट जुटाउने ?’ 

त्यस्तै, ०७७ माघमा आगोले शरीरको ३५ प्रतिशत भाग जलेर कीर्तिपुर अस्पतालमै उपचार गरेर फर्किएका मुगुका डिल्डा शाही फलोअपका लागि अस्पतालमा छन् । उनको कानको शल्यक्रिया गर्नुपर्ने भएकाले तीन वर्षपछि फेरि काठमाडौं आएका हुन् । ६३ वर्षीय हजुरबुबा मंगल बुढासँग उपचारका लागि काठमाडौं पुगेका उनीसँग पनि थप खर्च छैन । यसअघि करिब डेढ महिना अस्पताल बस्दा दाताको सहयोगमा उपचार गरेका थिए । चार दिनको यात्रा गरेर काठमाडौं पुगेका हजुरबुबा मंगलले सुनाए, ‘वृद्धभत्ता र दुईवटा बाख्रा बेचेर ३० हजार जम्मा गरेको थिएँ । बाटो खर्चमै सकियो ।’ नौ वर्षका डिल्डा शाहीको थप उपचार इजी हेल्थ कियर फाउन्डेसनको सहयोगमा भइरहेको छ । 

उपचार काठमाडौंकेन्द्रित हुनु, महिनौँसम्म अस्पताल बस्नुपर्ने, छालाको शल्यक्रिया बारम्बार गर्नुपर्ने र फलोअपमा बस्नुपर्ने भएकाले जलनको उपचार निकै महँगो छ । सामान्य जलनको घाउसमेत समयमा उपचार नपाउँदा गम्भीर हुँदै जाने भएकाले पीडितहरू थप पीडित भइरहेका छन् । तर, जलन प्रभावितलाई सरकारले बेवास्ता गर्दै आएको छ ।

पाँच अस्पतालमा उपचार, दुईवटामा मात्रै आइसियू सेवा
उपत्यकाका कीर्तिपुर, सुष्मा कोइराला मेमोरियल, त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा जलनको उपचार हुन्छ । तर, कीर्तिपुर र सुष्मा कोइराला मेमोरियलमा मात्र आइसियू सेवा छ, अन्यले गम्भीर बिरामी भर्ना नै लिँदैनन् ।
देशका जम्मा पाँच अस्पतालमा मात्र जलनको उपचार हुन्छ । कीर्तिपुर, त्रिवि शिक्षण (टिचिङ), पाटन, वीर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार सेवा छ । कीर्तिपुर अस्पताल ट्रस्टमा सञ्चालित छ, साँखुस्थित सुष्मा कोइराला मेमोरियल गैरसरकारी अस्पताल हो भने अन्य सबै सरकारी हुन् । यी सबै काठमाडौं उपत्यकाभित्रै छन् । त्यसैले, काठमाडौंबाहिर जलनका बिरामीलाई उपचार सेवा नहुँदा काठमाडौं पुग्नुको विकल्प छैन । 

यी अस्पतालमध्ये पनि जलनका ५० प्रतिशतभन्दा धेरै बिरामीको कीर्तिपुरमै उपचार हुन्छ । जाडोको समयमा जलनका बिरामीको चाप बढ्दा बेड पाउनसमेत समस्या भएको अस्पतालका जलन विभाग प्रमुख डा. किरण नकर्मीले बताए । बर्सेनि ६ सयदेखि सात सय जलनका बिरामी उपचारका लागि आउने कीर्तिपुर अस्पतालको तथ्यांक छ । २०२१ मा ६ सय २३ बिरामी भर्ना भएका थिए । त्यस्तै, २०२२ मा ६ सय ६० जलनका बिरामी भर्ना भएका थिए, जसमा तीन सय २७ महिला र तीन सय ३३ पुरुष थिए । २०२३ मा उपचारका लागि अस्पताल पुगेका सात सय ९० मध्ये तीन सय ६७ महिला र चार सय २४ पुरुष थिए । यीमध्ये १३ देखि २० प्रतिशतको मृत्यु भएको अस्पतालले जनाएको छ । सय शड्ढयामा चलिरहेको कीर्तिपुर अस्पतालले जलनबाहेकका सेवासमेत दिँदै आएको छ ।

सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्रै जलनको उपचारमा पूर्ण सेवा दिइरहेको छ । जलनको समस्याले स्वास्थ्य संस्था पुग्ने बिरामीमध्ये १० प्रतिशत यो अस्पताल आउँछन् । स्वास्थ्य संस्था पुग्ने जलनका १५ सय बिरामीमध्ये नौ सयको कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमै उपचार हुन्छ । सुष्मा कोइरालामा सन् २०२३ मा जलनका एक सय १८३ बिरामीले उपचार गराएका थिए । त्यस्तै, २०२२ मा १७३, २०२१ मा २४४, २०२० मा २४२, २०१९ मा २४५ र २०१८ मा ५४२ बिरामी भर्ना भएका थिए । तर, सुष्मा कोइराला अस्पतालमा जलनका बिरामीको मृत्युदर कम रहेको अस्पतालका निर्देशक डा. सन्तोषविक्रम भण्डारीले बताए । ‘अस्पताल लग्न ढिलाइ हुँदा अधिकांश बिरामी प्राथमिक उपचारविनै ढिला अस्पताल पुग्ने भएकाले मृत्युदर उच्च देखिएकाे हाे। हामीले अस्पताल भर्ना भएकाहरूको तथ्यांक निकाल्दा २०२३ मा मृत्युदर २.७३ प्रतिशत भएको पाएका छौँ ,’ उनले भने। 

वीर, टिचिङ र पाटन अस्पतालले जलनका सामान्य बिरामीलाई मात्रै सेवा दिन सक्छन् । हाल ११ बेडसहितको बर्न वार्ड बनिरहेकाले वीरले जलनका बिरामीको भर्ना नै लिँदैन । ओपिडी सेवा लिन जाडो महिनामा मासिक एकदेखि डेढ सयसम्म बिरामी आउने गरेको वीरका बर्न तथा प्लास्टिक सर्जन डा. पशुपति पोखरेलले बताए । ‘६ बेडको जनरल र पाँच बेडको आइसियू वार्ड बनिरहेकाले अहिले जलनका सामान्य बिरामीलाई ओपिडी सेवा मात्रै दिइएको छ । जलनका जटिल केस आउँदा राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार भइरहेको छ,’ उनले भने । तर, वीरअन्तर्गतकै ट्रमा सेन्टरले पनि आइसियूमा राख्नुपर्ने बिरामीलाई अन्यत्र रेफर गर्दै आएको छ । त्यसैले त्यहाँ पनि मृत्युदर देखिँदैन । ट्रमा सेन्टरका अनुसार महिनामा जलनका ५२ देखि ६० बिरामी उपचारका लागि आएको तथ्यांक छ। 

टिचिङले पनि नौवटा जनरल वार्डमा जलनका 
बिरामीलाई उपचार दिँदै आएको छ । अस्पतालले वर्षभरिमा ३०–४० जनाको मात्रै उपचार गर्दै आएको जनाएको छ । यहाँ पनि आइसियू सेवा नभएकाले गम्भीर बिरामीलाई कीर्तिपुर वा सुष्मा कोइराला अस्पताल रेफर गरिन्छ । अस्पतालका वरिष्ठ जलन तथा प्लास्टिक सर्जन डा. ईश्वर लोहनी भन्छन्, ‘पहिले–पहिले टिचिङ अस्पतालमा जलनका बिरामी डेढदेखि दुई सयको हाराहारीमा उपचारका लागि पुग्थे, अहिले त्यो संख्या घटेको छ । गम्भीर बिरामीलाई अन्यत्र रेफर गरिने कारण यहाँ मृत्युदर पनि न्यून छ, तर यति नै छ भन्ने तथ्यांक छैन ।’ जलनका बिरामीलाई सात बेड छुट्याएको पाटन अस्पतालमा पनि आइसियूसहितको सुविधा भने छैन । त्यसैले त्यहाँ पनि सामान्य जलनका बिरामीको मात्र उपचार सम्भव छ ।