
राज्यव्यवस्था तथा सुशासन समितिले तीनकुने घटनामा खेद प्रकट गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार बसेको समितिको बैठकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उक्त घटनामा संलग्नमाथि छानबिन गर्न निर्देशन दिँदै भनेको छ, ‘काठमाडौंको तीनकुनेमा यही चैत १५ गते शुक्रबारको दिन राजावादीहरूले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्यव्यवस्था तथा सुशासन समितिको यो बैठक खेद प्रकट गर्दछ।’
तीनकुने र आसपासको स्थानमा सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन पनि सरकारलाई निर्देशन दिएको छ। आगामी दिनमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन एवं नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई साधनस्रोतसम्पन्न बनाउन आवश्यक बजेट व्यवस्थापन गर्न भनेको छ।
‘आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाको रक्षा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।