
राष्ट्रिय जनमोर्चाले राजधानीकेन्द्रित सप्ताहव्यापी आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ। गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका मागसहित चैत २४ गतेदेखि ३० गतेसम्म आन्दोलन गर्न लागेको हो ।
शुक्रबार अयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आन्दोलनको विस्तृत कार्यक्रम घोषणा गरेका हुन्। उनले भने, ‘गणतन्त्र नेपाली जनताले ठुलाे संघर्ष र बलिदानपछि स्थापित गरेका हुन्। यसलाई ध्वस्त पार्ने षड्यन्त्रलाई परास्त गर्न हामी निरन्तर संघर्षरत छौँ। संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठुलो बोझ बनेको छ, त्यसैले यसको खारेजी जरुरी छ। गणतन्त्र जोगाउन पनि संघीयता खारेज गर्न जरुरी छ ।’
पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन र चैत १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनको गम्भीर संकेतका रूपमा उल्लेख गरिएको छ। राष्ट्रिय जनमोर्चाले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबिच सहकार्यको आवश्यकता औँल्याएको छ।
उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘हाम्रो आन्दोलन कुनै व्यक्तिविशेष वा पार्टीविशेषको विरुद्ध होइन। यो आन्दोलन गणतन्त्र, राष्ट्रियता र जनताको आर्थिक हितका लागि हो। संघीयता खारेज गरेर स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउनुपर्छ।’
राष्ट्रिय जनमोर्चाका नेता तथा राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले संघीयता व्यावहारिक रूपमा असफल भइसकेकाले देश र जनताको हितका लागि संघीयता खारेजी अनिवार्य भएको बताए ।
आन्दोलनअन्तर्गत प्रत्येक दिन राजधानीका विभिन्न स्थानमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ। सभा हुने प्रमुख स्थानहरूमा शान्तिबाटिका (रत्नपार्क), चाबहिल चाेक, माइतीघर मण्डला, गोंगबु चाेक, न्युरोड (भूगोलपार्क) र भृकुटीमण्डप रहेका छन्।
प्रत्येक दिन दिउँसो २ बजे हुने कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, ने.क.पा. (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।
राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नागरिकलाई आन्दोलनमा सहभागी भई गणतन्त्र र राष्ट्रियताको रक्षामा योगदान दिन अपिल गरेको छ।