
प्रधानमन्त्री केपी ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन्। भेटवार्ता कक्षबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबिच राम्रो र सकारात्मक संवाद भएको छ। अहिलेलाई यति।’ थाइल्यान्डको बैंककस्थित होटेल माडारिन ओरियन्टलमा भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको हो।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबिच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो। यसअघि उनीहरूबिच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो।