१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कमला नदीको झोलुंगे पुलमा आवतजावत खुला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:५३:oo

सिराहा र धनुषा जोड्ने कमला नदीमा झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावतका लागि खुला गरिएको छ। 

कमला नदीसँगै जोडिएको सिराहा नगरपालिका– १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुल निर्माण भएपछि शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको पुल निर्माणमा संलग्न सहायक सुपरभाइजरसमेत रहेका इन्जिनियर अनिल मण्डलले जानकारी दिए। 

नेपालमै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लामो र एक दशमलव दुई मिटर चौडाइ रहेको उक्त झोलुंगे पुलको अन्तिम प्राविधिक जाँचपछि सर्वसाधारणका लागि खुला गरिएको हो। 

‘पुलको विधिवत् उद्घाटन भएको छैन,’ इन्जिनियर मण्डलले नयाँ पत्रिकासँग भने, ‘पुल नहुँदा वर्षौँदेखि सास्ती झेल्दै आएका कमला तटीय क्षेत्रमा पर्ने सिराहा र धनुषाका सर्वसाधारणको आवतजावत सहजताका लागि खुला गरिएको हो।’

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरी १ असोज ०७९ देखि थालेको पुल निर्माण ठेक्का  अवधिभन्दा ६ महिना अगावै सम्पन्न भएको उनले बताए। 

उक्त पुल निर्माणको ठेक्का सम्झौता ०८१ असार मसान्तसम्म रहेको जनाइएको छ। पुल खुला गरिएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिराहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको सिराहा नगरपालिका १३ पटेर्वाका २६ वर्षीय दिलीप यादवले बताए। 

‘हुलाकी सडकमा निर्माण गरिएको पक्की पुल सञ्चालन नहुँदै भासिएपछि सिराहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न पूर्व–पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता थियो,’ उनले भने ‘झोलुंगे पुल निर्माण भएसँगै दूरी छोटिएपछि सिराहाको मल्हनिया, माडर, पटेर्वा, गम्हरिया र पूर्वी धनुषाको पतनुका, खजुरी चेन्हा, महुवा, बलहा सघारा, माचीझिटकैयाका सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुगेको छ।’

ad
ad