१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Sunday, 22 September, 2024
२o८o माघ २१ आइतबार o९:३१:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा क्षेत्रको सात खर्ब लगानी, ७८ प्रतिशत बैंकको निक्षेपमा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार o९:३१:oo

बिमा कम्पनीहरूले आफ्नो अधिकांश लगानीयोग्य पुँजीलाई बैंकको निक्षेपमा लगानी गरेको पाइएको छ । सञ्चालनमा रहेका १४ जीवन बिमा, १४ निर्जीवन, दुई पुनर्बिमा र चार लघुबिमा कम्पनीहरूले चालू आव ०८०/८१ को असोज मसान्तसम्म विभिन्न क्षेत्रमा झन्डै सात खर्ब लगानी गरेका छन् । तर, त्यसको ७८ प्रतिशत रकम बैंकको निक्षेपका रूपमा लगानी गरेको तथ्यांक छ । 

नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार असोज मसान्तसम्म जीवन बिमाको ६ खर्ब १८ करोड, निर्जीवन बिमाको ६० अर्ब ५१ करोड, पुनर्बिमाको ३० अर्ब ३९ करोड ६९ लाख र लघुबिमाको एक अर्ब ९३ करोड ७७ लाख गरेर कुल ६ खर्ब ९३ अर्ब दुई करोड लगानी विभिन्न क्षेत्रमा भएका छन् । त्यसमा पाँच खर्ब ४० अर्ब ८९ करोड ९६ लाख रुपैयाँ लगानी भने वाणिज्य, विकास, वित्त र पूर्वाधार बैंकको निक्षेपमा सीमित देखिएको हो । 

जीवन बिमाको चार खर्ब ६५ अर्ब ३४ करोड, निर्जीवन बिमाको ४८ अर्ब ३६ करोड र पुनर्बिमाको २५ अर्ब २५ करोड रुपैयाँ लगानी बैंकको निक्षेपमा राखिएको छ । लघुबिमाको भने शतप्रतिशत लगानी नै बैंकको निक्षेपमा छ । यसरी बिमा क्षेत्रमा रहेको ठूलो लगानीयोग्य पुँजी पर्यटन, ऊर्जा, कृषिजस्ता उत्पादनमूलक क्षेत्रमा परिचालन गर्र्ने अवसरबाट सरकार चुकेको छ । यसका अलावा बिमा क्षेत्रले वार्षिक दुई खर्ब हाराहारीमा बिमाशुल्क संकलन गर्छन् । त्यसमा अधिकांश रकम लगानीयोग्य पुँजीका रूपमा निस्कन्छ । त्यस्तो पुँजी परिचालन गर्न पनि सरकारले उचित नीति ल्याउनुपर्ने विज्ञहरू बताउँछन् । 

बिमा कम्पनीले कुल लगानीको कम्तीमा ३० प्रतिशत रकम वाणिज्य बैंकको निक्षेपमा राख्नुपर्ने व्यवस्था छ । तर, बिमा कम्पनीहरूले अस्वाभाविक रूपमा बैंकहरूको निक्षेपमै लगानी थुपारेका छन् । बैंकहरूमा धेरै निक्षेप राख्नेमा बिमा क्षेत्र दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा भने सर्वसाधारण निक्षेपकर्ता छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बैंक निक्षेपमा लगानी गर्नुपर्ने बिमा कम्पनीहरूको बाध्यता भएको बताए । ‘हामीलाई लगानी गर्न अन्य उचित उपकरण (क्षेत्र) नै छैन । त्यसैले बैंकको निक्षेपमा लगानी गर्न बाध्य छौँ । अहिले प्राधिकरणले पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न बाटो खुला गरेको छ । त्यसमा हामी लगानी बढाउँदै छौँ,’ उनले भने, ‘तर, जोखिम बहनको व्यवसाय गर्ने भएकाले बिमा कम्पनीले सुरक्षित लगानी गर्नुपर्छ । त्यसका लागि सरकारले नै उचित व्यवस्था गर्नुपर्र्छ ।’ उनका अनुसार विदेशमा सरकारले बिमा क्षेत्रकै लागि डेडिकेटेड बन्ड तथा ऋणपत्र जारी गरेर पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गरेको हुन्छ । साथै, त्यसमा निक्षेपमा भन्दा पनि बढी ब्याजदर दिइन्छ । नेपालमा पनि यस्तै सुविधा उपलब्ध भएमा लगानीयोग्य पुँजीको उपयोग हुने उनको भनाइ छ ।

बिमा कम्पनीहरूले निक्षेपबाहेक सरकारी ऋणपत्र, घरजग्गा, कृषि, पर्यटन, ऊर्जाजस्ता पूर्वाधारमा पनि लगानी गर्न पाउँछन् । तर, त्यस क्षेत्रमा उनीहरूको लगानी न्यून छ । विदेशमा बिमा कम्पनीहरूले कृषि, ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर सेयरधनी र बिमितलाई धेरै प्रतिफल दिने गरेका छन् । तर, नेपालमा अझै यस्तो अभ्यास सुरु नभएको जानकारवाला बताउँछन् । 

यद्यपि, बिमा आफैँमा जोखिमको व्यवसाय गर्ने क्षेत्र हो । बिमा अवधि सकिएपछि बिमितलाई पैसा फिर्ता गर्नुपर्छ । कुनै दाबीयोग्य क्षति भएमा भुक्तानी पनि दिनुपर्छ । त्यो अवस्थामा सुरक्षित ठाउँमा लगानी गर्नुपर्ने बाध्यता बिमा कम्पनीहरूमा छ । तर, जीवन बिमा कम्पनीहरूमा ८० प्रतिशतभन्दा बढी दायित्व १५ देखि २० वर्षसम्मको छ । त्यसअनुसार उनीहरूले दीर्घकालीन रूपमा पूर्वाधार, पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी गर्न सक्छन् । सोहीअनुसार नियामक निकाय प्राधिकरणले पनि कृषि, पर्यटन, ऊर्जाजस्ता पूर्वाधारमा १० प्रतिशतसम्मको अनुपातमा लगानी गर्न बाटो खुला गरेको छ । तर, हालसम्म बिमा क्षेत्रले पूर्वाधारमा सात अर्ब ५१ करोड १४ लाख मात्रै लगानी गरेका छन् । यो कुल लगानीको १.०८ प्रतिशत मात्रै हो ।

सरकारले अघिल्लो बजेटमा बिमा बन्ड जारी गर्ने नीति ल्याएको थियो । तर, त्यो कार्यान्वयन आएको छैन । यद्यपि, बिमा कम्पनीहरूले विभिन्न सरकारी बन्डमा चार अर्ब ५३ करोड २४ लाख रुपैयाँ लगानी भने गरेका छन् । तर, यो पर्याप्त नभएको बिमा कम्पनीहरूको भनाइ छ । ‘अन्य क्षेत्रमा लगानी गर्नु सुरक्षित देखिँदैन । लगानी डुब्यो भने आमसर्वसाधारण बिमितको पैसा डुब्छ,’ पराजुलीले भने, ‘तसर्थ, सरकारले बढी प्रतिफलदेखि सुरक्षित लगानीको उपकरण बनाइदिनुपर्छ ।’

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बैैंकको निक्षेपबाहेक क्षेत्रमा लगानी बढाउँदै गएको बताए । ‘पहिला नीतिगत व्यवस्था नहुँदा निक्षेपबाहेकको क्षेत्रमा लगानी गर्न सकिएन । अहिले प्राधिकरणले बाटो खुला गरेसँगै लगानीको दायरा बढाउँदै छौँ । तर, निर्जीवन बिमा कम्पनीहरूले छोटो अवधिको दायित्व लिएका हुन्छन् । तसर्थ, पूर्वाधारजस्ता क्षेत्रमा दीर्घकालीन लगानी गर्दा दाबी भुक्तानीमा चुनौती आउँछ,’ उनले भने, ‘यद्यपि, हामी त्यस्तो समस्या नआउने गरी लगानी बढाउँदै छौँ ।’

बिमाविज्ञ रवीन्द्र घिमिरे भने जोखिमको दृष्टिकोणमा बैंक निक्षेपमा लगानी गर्नु नै उपयुक्त हुने बताउँछन् । ‘बिमा कम्पनीहरू प्रतिफलभन्दा पनि जोखिम व्यवस्थापनमा केन्द्रित हुने हो । त्यसका लागि बैंकको निक्षेपमा लगानी गर्नु नै उचित हो,’ उनले भने, ‘अन्य क्षेत्रमा लगानी बढाउने भए सोही अनुपातमा पुँजी पनि थप्ने नीति ल्याउनुपर्छ ।’ समग्रमा बिमा कम्पनीहरू सुरक्षित लगानीमा केन्द्रित हुनुपर्ने उनले बताए ।

‘पहिला अमेरिकामा लगानीमा खुला गर्दा बिमा कम्पनीहरू डुबेका थिए । पछि पुँजी थप गरेर मात्रै लगानी गर्न पाउने नीति ल्याइएको थियो,’ उनले भने, ‘अहिले बिमा कम्पनीहरूलाई जथाभावी लगानी गर्न दिँदा नेपालमा पनि त्यस्तै समस्या आउन सक्छ । तसर्थ, यसमा धेरै खुला हुनुहुँदैन ।’

बैंकमार्फत नै लगानी भइरहेको छ
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूलाई पूर्वाधारजस्ता क्षेत्रमा लगानी गर्न बाटो खुला गरिएको बताए । साथै, कम्पनीहरूले बिस्तारै पूर्वाधारलगायतका क्षेत्रमा लगानी बढाउँदै गएको उनको भनाइ छ । यद्यपि, बिमा क्षेत्रको यतिको ठूलो पैसा बैंकमार्फत नै उत्पादनशील क्षेत्रमा लगानी भइरहेको हुन सक्ने उनले बताए । 

‘बिमा कम्पनीहरूले गाउँ–गाउँमा गएर आमसर्वसाधारणको सन्दुकमा भएको पैसालाई बिमामार्फत औपचारिक क्षेत्रमा ल्याएका छन्, जुन पैसा निक्षेपका रूपमा वाणिज्य बैंकहरूमा राखिएको छ,’ उनले भने, ‘बिमा कम्पनीहरूले प्रत्यक्ष रूपमा उत्पादनशील क्षेत्रमा लगानी नगरे पनि त्यो पैसा बैंकमार्फत उत्पादनशील क्षेत्रमा लगानी भएको छ ।’