
उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको छ।
उक्त क्षेत्रमा काम गर्ने दुई गैरसरकारी संगठन (एनजिओ) ले बुधबार बताएअनुसार काठ जम्मा गर्नेहरू दाउरा संकलन गर्न झाडीतिर जाँदै गर्दा सोमबार उनीहरूले लगेको फ्ल्याट–बेड सवारी पुल्का गाउँबाहिरको राजमार्गमा बोको हराम जिहादीहरूले लगाएको खाडलमा परेको हो।
उत्तरपूर्वी नाइजेरिया एक दशकभन्दा लामो समयदेखि जिहादी विद्रोहको केन्द्रमा छ। यहाँ आतंकवादीहरूलाई द्वन्द्वको चरमोत्कर्षमा नियन्त्रित भूमिको ठूलो हिस्साबाट पछाडि धकेले पनि उनीहरूले अहिले पनि ग्रामीण क्षेत्रहरूलाई निशाना बनाउँछन्।
एक रिपोर्टमा भनिएको छ, ‘बोको हराम हुन सक्ने आशंका गरिएका मानिसहरूले विस्फोटक पदार्थ राखेका थिए र पुल्काबाट ग्वोजा मार्गमा १२ जनाको हत्या गरेका छन्, दुईजना घाइते भएका छन्,’ अर्को रिपोर्टअनुसार मृतकको संख्या समान भएको र अन्य सातजना दाउरे घाइते भएको तथा तीमध्ये तीनको अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि मैदुगुरी लगिएको छ।
नाइजेरियाली सुरक्षा बलले विस्फोटको पुष्टि गर्न अनुरोध गर्दा जवाफ दिएको छैन। हालैका दिनमा सर्वसाधारणलाई निशाना बनाइने बारुदी सुरुङ विस्फोटका घटना बढेका छन्। उक्त विस्फोट जिहादीहरूले गराएको आरोप लगाइएको छ।
बोको हरामले सन् २०१४ मा ग्वोजामाथि कब्जा गर्दै आफ्नो कथित खलिफाको मुख्यालय बनाएको थियो। सन् २०१५ मार्चमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो, तर जिहादीहरूले अहिले पनि क्यामरुनको सिमानाका पहाडहरूमा लुकेका स्थानहरूबाट वरपरका गाउँहरूमा आक्रमण गर्छन्। यस क्षेत्रका बासिन्दाहरू ग्वोजा र नजिकको पुल्कामा भागेका छन्। त्यहाँ उनीहरू सैन्य सुरक्षाअन्तर्गत शिविरहरूमा बस्छन्।
झाडीहरूमा जाने बासिन्दा विशेष गरी बबुलको फल र जलेका काठ संकलन गर्ने महिलाहरूको हत्या वा अपहरण गर्नबाट आतंककारीहरूलाई रोक्न सेनाले यस क्षेत्रमा गस्ती सञ्चालन गर्छन्।
बोको हराम र प्रतिद्वन्द्वी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तमा दाउरे, किसान र गोठालाहरूलाई निशाना बनाउनेका रूपमा परिचित छन्। दुवै आतंककारी समूहले उनीहरूलाई सेना र जिहादी विरोधी मिलिसियाका लागि जासुसी गरेको आरोप लगाउँछन्।
सन् २००९ मा कट्टरपन्थी इस्लामिक समूहले विद्रोह सुरु गरेपछि कम्तीमा ४० हजार मानिस मारिएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन्। विद्रोह छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनमा फैलिएको छ। त्यसैले आतंकवादीहरूसँग लड्नका लागि क्षेत्रीय सैन्य बलको निर्माण भएको छ। (रासस/एएफपी)