मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ४ बिहीबार
  • Thursday, 19 December, 2024
श्रवण थापा सर्लाही
२o८o माघ ४ बिहीबार ११:३४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी मेलाको तयारी तीव्र 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o माघ ४ बिहीबार ११:३४:oo

मधेश प्रदेशस्तरीय तीनदिने कृषि प्रदर्शनी मेलाका लागि सर्लाहीको हरिवनमा तयारी तीव्र पारिएको छ। प्रदर्शनी स्थलमा स्टल निर्माणलगायतका कार्य भइरहेका छन्। प्रदेशस्तरकै कार्यक्रम भएकाले प्रचारप्रसारलाई जोड दिइएको आयोजक समितिका संयोजक केशवराज थापाले जानकारी दिए।

सर्लाहीको हरिवन नगरपालिका- ८, स्थित सुर्ती विकास मैदानमा ‘मधेश प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नाराका साथ प्रदर्शनी हुन लागेको हो । प्रदर्शनी ५ देखि ७ माघसम्म आयोजना हुन लागेको हरिवन नगरपालिकाले जनाएको हो। प्रदर्शनीमा डेरी कृषि उत्पादन तथा कृषि औजार राखिने आयोजकले जनाएको छ। 

कृषि अनुसन्धान, उत्पादन तथा औजार प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले जनाएको हो। प्रदर्शनीको मधेश प्रदेश सरकारका कृषि तथा पशु पक्षी विकासमन्त्री वेदुराम भुसालले उद्घाटन गर्ने हरिवन नगरपालिका- ८ का वडाध्यक्ष तथा प्रचारप्रसार समिति संयोजक प्रज्ज्वल ढुंगानाले जानकारी दिए। स्थानीय कृषि उत्पादनको प्रोत्साहन तथा प्रवर्द्धनमा प्रदर्शनी कोसेढुंगा साबित हुने उनले बताए। 

प्रदर्शनीमा फलफूल, दुग्धजन्य उत्पादन, दलहन, तरकारी उत्पादनलगायतका क्षेत्रका उत्कृष्ट किसानलाई पुरस्कृत समेत गरिने भएको छ। यस प्रदर्शनीको पहिलो संस्करण गत वर्ष वैशाखमा सम्पन्न भएको थियो। आयोजकका अनुसार प्रदर्शनीको अनुमानित लागत २५ लाख छ। जसमध्ये  प्रदर्शनीका सहआयोजकहरूबाट करिब २० लाख रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ। 

प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालय, परवानीपुर पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्बेटास नेपाल, इन्दुशंकर चिनी उद्योग र हेफर नेपालसँगको सहकार्यमा प्रदर्शनी गर्न लागिएको हो। यस क्षेत्रमा निर्वाहमुखी खेती प्रणाली मात्र हुने गरेकाले व्यावसायिक खेती आजको आवश्यकता रहेको आयोजक हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले जानकारी दिए। 

व्यावसायिक कृषिमा यान्त्रिकीकरण मुख्य चुनौती रहकाले प्रदर्शनीले टेवा पुर्‍याउने नगरप्रमुख बुढाथोकीले बताए। ‘कृषि औजारको प्रदर्शनीले किसानलाई व्यावसायिक खेतीतर्फ लाग्न उत्प्रेरणा मिल्छ,’ मेयर बुढाथोकीले भने, ‘कृषि औजारको प्रयोगले कम लगानीमै बढी आम्दाली लिन सक्छौँ भन्ने विश्वव्यापी मान्यता स्थानीय किसानमा समेत स्थापित गराउने अपेक्षा लिएका छौँ।’ 

यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेकाले उत्पादन तथा बजारीकरणमा बेलावेलामा समस्या देखिँदै आएको छ। प्रदर्शनी कार्यक्रमबीच किसानसँग कृषि उत्पादन, यान्त्रिकीकरण, बजारीकरणलगायतको विषयमा विशेषज्ञसँग अन्तर्क्रिया गराइने आयोजकले जनाएको हो। प्रदर्शनीलाई सफल बनाउन आवश्यक सहयोग गरिदिन आयोजकले सबैसँग अनुरोधसमेत गरेको छ।