१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ३ बुधबार १५:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वविद्यालयमा अध्ययन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : मन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ३ बुधबार १५:०७:००

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सीधै जोड्न आग्रह गरेकी छिन्। 

सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताइन्। 

सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ। मन्त्री शर्माको उपस्थितिमा  विभागका प्रमुख सरविन सायमी र सोसाइटिका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरे।  

‘विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान र त्यहाँबाट शैक्षिक उपाधि पाएका विद्यार्थी बजारमा तत्काल बिक्दैनन् भन्ने धारणालाई गलत साबित गर्न पनि शैक्षिक कार्यक्रमलाई खपतकर्ता उद्योगको आवश्यकतासँग जोड्नुपर्छ,’ मन्त्री शर्माले भनिन्। 

उनले श्रमबजारमा जाने हरेकलाई सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिसँग अभ्यस्त गराउन तालिम दिइनुपर्नेमा जोड दिइन्। 

आमनागरिकमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न ‘डिजिटल’ नेपाल ‘फ्रेमवर्क’ कार्यान्वयनको तयारीमा सरकार रहेको जानकारी दिँदै मन्त्री शर्माले सबै प्राज्ञिक विषयलाई यथासम्भव सूचना प्रविधिसँग जोड्न आग्रह गरिन्। 

सरकारले आगामी बजेटमा यससम्बन्धी छात्रवृत्तिको व्यवस्था गर्ने जानकारी दिँदै उनले ०८० सालभित्र सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी कानुन जारी गरिने बताइन्। 

आज भएको सम्झौताअनुसार सूचना प्रविधिमा स्नातकोत्तर तह सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीमध्ये प्रतिस्पर्धाका आधारमा छानिएका ३० जनालाई माइक्रोसफ्ट कम्पनीको व्यावसायिक पाठ्यक्रम पढाइनेछ।

यसका लागि माइक्रोसफ्ट अमेरिकास्थित मुख्यालयमा एआई निर्देशकका रूपमा कार्यरत  समीर थापाले सहजीकरण गर्नुभएको जानकारी कार्यक्रममा दिइएको थियो। विभाग प्रमुख सायमीका अनुसार तालिमपछि ती विद्यार्थीले स्वदेश तथा विदेशमा सम्बन्धित विषयमा आकर्षक तलबसहित  रोजगारी पाउनेछन्।  

विश्वविद्यालयका निमित्त उपकुलपति  चोपलाल भुसालले विश्वविद्यालयमा दिइने सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञानको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै माइक्रोसफ्टका एआई निर्देशक थापाले विश्वविद्यालयका प्राज्ञिक कार्यक्रम र सूचना प्रविधि क्षेत्रको आवश्यकताबीच तालमेल नहुँदा स्नातक र स्नातकोत्तर उपाधि लिएर अमेरिका आएका नेपालीले निम्नस्तरको काम गर्न बाध्य भएकाले भविष्यमा अमेरिका आउन चाहनेहरूलाई लक्ष्य गरी त्रिभुवन विश्वविद्यालयसँग सहकार्यको थालनी गरिएको बताए।