१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २७ शुक्रबार १४:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सात महिनाअघि बाढीले बगाएको खानेपानी आयोजना अहिलेसम्म बनेन 

दिनभरि गाग्री बोकेर पानी खोज्दै हिँड्छन् स्थानीय  

Read Time : > 1 मिनेट
२०८० पौष २७ शुक्रबार १४:५९:००

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ का मेहेले गाउँ, गौरी गाउँ, पुछार गाउँका बासिन्दा खानेपानी नपाएर काकाकुल बनेका छन्। डोकोमा गाग्री बोकेर खानेपानी खोज्न दिनभरिजसो हिँड्नुपर्ने उनीहरूको बाध्यता बनेको छ। 

गत ४ असार आएको भीषण बाढीपहिरोले पिउनेपानीका सबै मुहान बगाएको थियो। सात महिनाअघि बगाएको पानीको मुहान, पाइप अहिलेसम्म मर्मत नहुँदा स्वानीय पानीको हाहाकार व्यहोरिरहेका हुन्। 

सम्बन्धित वडा कार्यालय, गाउँपालिकाले बेवास्ता गर्दा खानेपानीको अभावमा गाउँ नै उठ्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्। 

सिदिङ्वा गाउँपालिका– ६ साबिक मेहेले गाउँ विकास समितिका वडा नम्बर ८ र ९ मा रहेका उल्लेखित गाउँका ७० परिवार बस्छन्। उनीहरूले विगत सात महिनादेखि खानेपानीको अभाव झेलिरहेका छन्। 

पहिरोका कारण पहिला भेटिने पानीका मुहान पनि हराउँदै गएको स्थानीय राधिका गौतमले गुनासो गरिन्। उनले आधा घन्टाभन्दा बढी हिँडेर पानीको जोहो गर्दै आएको बताइन्। 

उनले भनिन्, ‘मानिस तथा गाई, भैँसी (चौपाया)लाई समेत खुवाउने पानी नभएका कारण एक–दुईजनाले दिनभरि पानी खोज्न हिँड्नुपर्ने अवस्था छ।’
 
अर्की स्थानीय राममाया पाण्डेले पनि आधा घन्टाको बाटो हिँडेर कुवा, खोल्साको पानी ल्याउने गरेको बताइन्।
 
०६० सालदेखि सञ्चालनमा आएको एक मात्र खानेपानी आयोजना बगाएकाे लामाे समयसम्म मर्मत नहुँदा पानीका लागि भौँतारिनुपरेको सो खानेपानी आयोजनाका चौकीदार टेकबहादुर पाण्डेले बताए। उनका अनुसार पूर्वगाउँपालिका अध्यक्ष नरबहादुर कडरियाको घर पनि सोही गाउँमा पर्छ, तर उनी र गाउँपालिकाले यो समस्यालाई बेवास्ता गर्दै आएका छन्। 

गोपाङ खानेपानी आयोजना पुनः सञ्चालनका लागि ४० एमएमको पाइप चार सय मिटर र ५० एमएमको दुई सय मिटर आवश्यक रहेको बताइन्छ। यति पायपसम्म पनि स्थानीय सरकारले उपलब्ध गराउन सकेको छैन। 

यसबारे जिज्ञासा राख्दा पालिका अध्यक्ष मानबहादुर राईले ‘पानी छैन जसले भन्यो त्यसैलाई सोध्नु’ भन्दै फोन काटे। वडा नम्बर ६ मेहेलेका वडाध्यक्ष रत्नकुमार लिङदेनले गाउँपालिकाबाट पाइप खरिद गरी सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको जानकारी दिए। 

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले आवश्यक पाइप गाउँ पठाइसकेको र तत्काल खानेपानीको व्यवस्था गरिने जवाफ दिइन्।