१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १३:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई सातामा ताप्लेजुङका १६ स्थानमा डढेलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:५२:oo

हिमाली जिल्ला ताप्लेजुङका वन क्षेत्रमा डढेलोका घटना बढिरहेका छन्। फागुनको तेस्रो सातादेखि चैत्र १ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरी १६ वटा डढेलोका घटना भएका छन्।

सुक्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलो लागेको हो। डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक वन अधिकृत परमेश्वर पासवानले दुई साताको अवधिमा नौ सामुदायिक र सात राष्ट्रिय वनमा डढेलो लागेको जानकारी दिए।

पासवानका अनुसार यो याममा पहिलोपटक फागुन १४ गते मेरिङ्देन गाउँपालिका– २ सान्थाक्रास्थित मुरुमी चिहानडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो। त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका– ८ दोखुको राष्ट्रिय वनमा र फागुन २४ गते एकै दिन चारवटा वनमा डढेलो लागेको उनले बताए।

उक्त दिन मेरिङ्देन वडा नं ४ लिङ्तेप र वडा नं ५ थुकिमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको थियो। यस्तै, मिक्वाखोला गाउँपालिका– ३ लिवाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा आगो लागेको  डिभिजन वन कार्यालयको तथ्यांक छ। 

तथ्यांकअनुसार फागुन २५ मा मिक्वाखोला–१ खोक्लिङको कार्तिपाखा सामुदायिक वन र वडा नं ४ साँवाको मानाभरा सामुदायिक वनमा, २६ गते मिक्वाखोला–२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा नं ५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ।

२७ गते पाथीभरा याङ्बरक–१ नाङ्खोल्याङको त्रिवेणी सामुदायिक वन, २९ गते नाङ्खोल्याङकै खैरेनी सामुदायिक वन र फक्ताङ्लुङ गाउँपालिका– १ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको वन कार्यालयको तथ्यांकमा उल्लेख छ।

यसैगरी, फागुन ३० गते सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा तथा चैत १ मा सिदिङ्वा–६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ।

बिहीबारसम्म जिल्लाका विभिन्न ठाउँमा गरी करिब ४९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साहले जानकारी दिए। जिल्लाका दर्जनौँ ठाउँमा डढेलो लगाइए पनि कार्यालयले कसले आगो लगायो भन्ने पत्ता लगाउन सकेकोे छैन।

सामुदायिक वन तथा राष्ट्रिय वनमा आगो लगाउनेलाई तीन वर्ष जेल र १ लाख जरिवाना हुने कानुनी प्रावधान छ। तथापि, जिल्लामा बर्सेनि डढेलोबाट ठूलो वन क्षेत्र सखाप हुने गरेको छ।

ad
ad