१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । उनले यस प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने काममा सहकार्य गर्न उद्योगी–व्यवसायीसँग आग्रहसमेत गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५७औँ साधारणसभालाई सम्बोधन गर्दै उनले व्यवसायको परम्परागत तरिकालाई परिवर्तन गरेर नयाँ मोडेलमा जान पनि आग्रह गरे ।

मुख्यमन्त्री जम्कट्टेलले सधैँ अर्काले उत्पादन गरेको सामान बेचेर र अर्काले तयार पारेको सामान एसेम्बल गरेर मात्रै उद्योगी–व्यवसायी नभइने भन्दै आफैैँ उत्पादन क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । उनले कृषिमा आधारित उद्योगहरूले नेपाललाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

‘कृषि क्षेत्रमा लगानी बढाऔँ, कृषिमा आधारित उद्योगहरू खोलौँ, त्यसो गरियो भने प्रदेशलाई मात्रै होइन, देशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । म सबै उद्योगी–व्यवसायीलाई यहीँबाट आह्वान गर्छु, आउनुस् हामी मिलेर काम गरौँ । प्रदेश सरकार तपाईंहरूसँग सहकार्य गर्न तयार छ,’ उनले भने ।

मुख्यमन्त्री जम्कटेलले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लाका ८५ भन्दा बढी पालिकालाई उत्पादनको आधारमा पकेट क्षेत्र घोषणा गर्ने तयारी गरेको जानकारी दिँदै कृषिमा आधारित निर्यातमूलक उद्योगमा लगानी गर्न उद्योगी–व्यासायीलाई आग्रह गरे । 

कृषि, पर्यटन र उद्योग भन्ने प्रदेश सरकारको नारा नै भएकाले प्राथमिकताका आधारमा लगानी अभिवृद्धि गर्न पनि उनले उद्योगी–व्यवसायीलाई आग्रह गरे । सरकारहरूले केही गरेनन् भन्नेभन्दा पनि सरकारको प्राथमिकता केमा छ भन्ने कुरामा पनि उद्योगी–व्यवसायीले ध्यान दिनुपर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ थियो । 

देशको वास्तविक आवश्यकता र सरकारहरूले लिएको नीतिको आधारमा उद्योगी–व्यवसायीलाई लगानी गर्न पनि मुख्यमन्त्रीले सुझाव दिए । सरकारले लिएको नीतिअनुसार चल्ने हो भने त्यसको नेतृत्व, लगानीको सुरक्षा र बजारको ग्यारेन्टी प्रदेश सरकारले लिन उनको भनाइ छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, महेश बर्तौला, बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतकाले सरकार र उद्योगी–व्यवसायी मिलेर अगाडि बढे देशले चाँडै आर्थिक उन्नति हासिल गर्न सक्ने बताए ।
 

ad
ad