मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Tuesday, 17 December, 2024
२o८o पौष २० शुक्रबार १४:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार १४:२o:oo

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधेखण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ। 

कालोपत्रका लागि ०७२ माघमा जिम्मा पाएको एमपी/एससिएफ/इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो। 

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। 

सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी–व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ।

सोहीअनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको  मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर पवन सुवेदीले जानकारी दिए। 

काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक भारत पश्चिमबंगालको एमपी सितानी एन्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा, काठमाडौंले संयुक्त रूपमा ठेक्का लिएका थिए । हालसम्म सो सडकको ७४ प्रतिशत प्रगति भएको इन्जिनियर सुवेदीको भनाइ छ। 

०७५ माघमा सक्नुपर्ने सडकको काम पाँचपटकसम्म म्याद थप गरिएको थियो।  ०८० असार ५ गतेसम्म काम नगरेपछि लोकमार्ग कार्यालयले गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको इन्जिनियर सुवेदीले बताए। 

उक्त खण्डमा पाँच किलोमिटर मात्र कालोपत्र गरिएको छ। सात किलोमिटर कालोपत्र गर्न अझै बाँकी रहेको उनको भनाइ छ। 

‘लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँचपटकसम्म म्याद पनि थपियो । काम नगरेपछि कालोसूचीमा राखिएको हो,’ इन्जिनियर सुवेदीले भने, ‘नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ, बजेटको व्यवस्था भएलगत्तै काम सुरु हुन्छ।’  लोकमार्ग कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु र स्थानीय आजित छन्। रासस