जनतासँग माओवादीको विशेष रूपान्तरण अभियान लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि संगठन गठन–पुनर्गठन भएका छन् । कतिपय निष्क्रिय रहेका कमिटी पनि अहिले सक्रिय भएका छन् । संगठन थप सृदृढ भएको छ । पहिला कमिटी नभएका वडामा पनि कमिटी बनेका छन् ।
निष्क्रिय भएर बस्ने, पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । उल्लेख्य मात्रामा अन्य पार्टीबाट नेता तथा कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरेका छन् । कार्यकर्तामा जागृति आएको छ । पार्टी इन्ट्याक भएको छ । पार्टीमा नयाँ आशा, उत्साह पैदा भएको छ । जनतामा आशा जागेको छ । र, यो अभियानलाई फरक रूपमा निरन्तरता दिनुपर्छ भन्ने जनताको माग छ । माओवादी चुनावका वेलामा मात्रै होइन, अरू वेला पनि जनताको घरदैलोमा आउँछन् भन्ने सन्देश प्रवाह भएको छ । समग्रमा अभियानमा ८० प्रतिशत नेता तथा कार्यकर्ता फिल्डमा खटिए । सदस्यता नवीकरण पनि तीव्रतासाथ अगाडि बढ्यो । कतिपय पालिकामा वडा सम्मेलन पनि भइरहेका छन् । जनता हामीतिर फर्किएका छन् ।
अभियानले पार्टीभित्रको अन्तरविरोधलाई पनि सतहमा ल्याएको छ । जनवर्गीय संगठन र मोर्चा संगठनको विवाद पनि सतहमा आएको छ । र, अन्तरविरोध धेरै राम्रो गरी समाधान हुँदै गएका छन् । मूल्यांकनको धेरै राम्रो आधार पनि तयार भएको छ । कसले बढी काम गर्यो । कसले कम काम गर्यो वा कसले काम गरेन भन्ने छर्लंग भएको छ । यसले हामीलाई नयाँ ढंगले अगाडि बढ्ने आधार तयार भएको छ । यसले रूपान्तरणका लागि भव्य आधार खडा गरेको छ । पालिकास्तरमा आ–आफ्नो प्रतिवेदन तयार पार्ने क्रम चलिरहेको छ । निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशस्तरमा पनि प्रतिवेदन तयार पार्ने काम भइरहेको छ । ती प्रतिवेदन केन्द्रमा आइसकेपछि पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बृहत् समीक्षा हुन्छ र संश्लेषण निस्किन्छ ।
जनताका सुझाव : अभियानको क्रममा हामीले सरकारले गरेको काम कारबाहीबारे जानकारी गरायौँ । सुशासनको पक्षमा, भ्रष्टाचारका विरुद्धमा जुन अभियान सरकारले सुरु गरेको छ, त्यसलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउनुपर्छ भन्नेमा जनताले जोड दिएका छन् । जनतामा आशा र गुनासा दुवै छन् । यस अभियानले जनतामा निकै राम्रो छाप छाडेको छ । कुनै न कुनै रूपमा यस्ता अभियानलाई घनीभूत बनाउनुपर्छ भन्ने सुझाव जनताको छ । अहिले वातावरण बनेको छ, यो वातावरणलाई सुस्ताउन नदिई सक्रियतापूर्वक अगाडि बढाउनुपर्छ भन्ने सुझाव छ ।
जनताको प्रश्न के छ भने संस्कार, संस्कृतिप्रति माओवादीको पहिला जुन खालको सुझबुझ थियो, स्पष्ट दृष्टिकोण थियो, त्ययसमा अहिले उदासीन भएको हो कि ? पहिला भ्रष्टाचारविरुद्धको अभियान सशक्त रूपमा अगाडि बढेको थियो, अहिले सुस्ताएको हो कि ? यस्ता अभियानलाई सुरुका दिनमा जस्तै प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ भन्ने सुझाव जनताको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, मिटरब्याजीविरुद्धको कारबाहीबाट जनता उत्साहित छन् । यसलाई घनीभूत बनाउनुपर्छ भन्ने सबैको मत छ ।
रूपान्तरण अभियानले पार्टीभित्रको अन्तरविरोधलाई सतहमा ल्याइदिएको हुनाले त्यस्ता अन्तरविरोध क्रमशः समाधान हुँदै गएका छन् । मूल्यांकनको धेरै राम्रो आधार तयार भएको छ । कसले बढी र कसले कम काम गर्यो वा कसले कामै गरेन भन्ने छर्लंग भएको छ ।
अब कार्यान्वयन : माओवादीका नीति, कार्यक्रम र आगामी योजना ठीक छन् । चाहे राजनीतिक कार्यदिशा होस् या विकास निर्माणको सवाल नै किन नहोस् । सामाजिक न्याय, सुशासन र समृद्धिको सवालमा हामी स्पष्ट छौँ । तर, मुख्य चुनौती भनेको कार्यान्वयनकै हो । अब हामीले कार्यान्वयनमा जोड दिनुपर्छ । एक्सनमा उत्रिनुको विकल्प छैन । जनतालाई प्रतिबद्धता र संकल्पको तहसम्म थाहा भयो । अब जनताले भित्रैदेखि अनुभूति गर्ने गरी कार्यान्वयनमा जोड दिन्छौँ ।
कार्यकर्ताले हामी विधान, नियम, पार्टीको कार्यदिशा, कार्यविधिअनुसार चल्नुपर्छ भन्ने माग गरिरहेका छन् । आन्तरिक निर्देशन सबैभन्दा बढी माथिबाट पालना हुनुपर्छ भन्ने कुरा कार्यकर्ताले उठाएका छन् । यसअघि यति व्यवस्थित रूपमा यस्ता अभियान भएका थिएनन् । अभियानको घोषणासँगै हामीले वैचारिक, राजनीतिक विषयमा दिशानिर्देश गर्ने क्रममा अझै तयारी नपुगेको महसुस भएको छ । यद्यपि, विचार संश्लेषणको सवालमा पनि अभियानले ठूलो टेवा पुर्याएको छ ।
समाजवादको स्पष्ट खाका तयार पार्ने सवालमा पनि हामी गृहकार्य गर्दै छौँ । समाजवादमा गाँस, बास, कपासका साथै शिक्षा, स्वास्थ्य, रोजगारी मुख्य कुरा हो । कृषिमा अर्बौंको अनुदान गएको छ । तर, त्यो अनुदान पहुँचवालाको बीचमा मात्रै सीमित छ । जसलाई अनुदान चाहिएको छ, ती वर्गसम्म अनुदान पुगेको छैन । कृषिको माध्यमबाट पनि जीवनस्तर उकास्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा हामी प्रस्ट छौँ ।
हाम्रो शिक्षा नीति के हो ? स्वास्थ्य नीति के हो ? रोजगार नीति के हो ? बजार नीति के हो ? यो विषय स्पष्ट पार्ने मात्रै होइन, योजनामा प्रतिबिम्बित हुनुपर्छ । आगामी वर्ष प्रस्तुत हुने बजेटमा नयाँपन देखिने गरी प्रधानमन्त्री लाग्नुभएको छ । उदाहरणका लागि देशभरि हामी त्यस्ता डाटा कलेक्सन गरौँ । कुनै परिवारको एकजना पनि रोजगारीमा छैन भने त्यो परिवारको एकजना सदस्यलाई तत्काल रोजगारी दिने कामबाट सुरु गर्न सकिन्छ । हाम्रा नीति अझै स्पष्ट हुनुपर्छ । त्यो लागू हुने गरी हुनुपर्छ ।
अब निरन्तरतामा क्रमभंग : एक वर्षमा सरकारले गरेको कामले जनताको स्तरसम्म उत्साह बढाएको छ । सम्माननीय प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा गम्भीर समीक्षा गरेर अब नयाँ ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । अन्ततः आर्थिक विकास नै मुख्य कुरा रहेछ । आर्थिक विकास नभएसम्म, गरिबी नहटेसम्म, जनताको जीवनस्तर नउठेसम्म, सामूहिक प्रगति नभएसम्म जनतालाई अनुभूति हुने कुरा भएन ।
देशका समस्या समाधान गर्नका निम्ति प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्र मात्रै होइन, विपक्षी दलसँग पनि निरन्तर छलफल गर्नुभएको छ । गठबन्धनमा छलफल गर्नुभयो, सर्वदलीय बैठकमा छलफल गर्नुभयो । सरकारी अधिकारीदेखि निजी क्षेत्रसँग पनि गम्भीर छलफल गर्नुभएको छ । त्यसको उद्देश्य भनेको वास्तवमा आर्थिक विकासको मोडल बनाऔँ भन्ने नै हो । अहिले मन्त्रालयमा सिलिङको प्रक्रिया सुरु भएको छ । यहीँबाट नयाँ ढंगले जानुपर्छ, निरन्तरतामा क्रमभंग गर्नुपर्छ । त्यो भनेको रोजगारी सिर्जना गर्ने, गरिबी हट्ने, सीमान्तकृत जनताले राहतको महसुस गर्ने विषय हो ।
कूटनीतिक सन्तुलन कायम गर्नमा पनि सरकार सफल भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएर नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंसा त्यसै गर्नुभएको होइन । सरकारको कूटनीतिक सफलताका कारण त्यो सम्भव भएको हो । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा दह्रो उपस्थिति जनाउनुभयो । अन्य अन्तर्राष्ट्रिय फोरममा पनि नेपालको गहकिलो उपस्थिति रह्यो । भारत र चीनको भ्रमणमा आर्थिक विकासलाई प्राथमिकतामा राख्नुभयो । त्यसको प्रभाव क्रमशः देखा पर्दै जानेछन् । अन्तर्राष्ट्रिय आर्थिक सूचक सकारात्मक भएका छन् । आन्तरिक अर्थतन्त्रलाई सबल, सुदृढ, मजबुत बनाउने कुरामा अझै मिहिनेत गर्नुपर्नेछ । नीति राम्रो बनाउनुपर्छ । त्योभन्दा पनि मुख्य कुरा, नेपालको चुनौती भनेको कार्यान्वयनको हो । कार्यान्वयनमा ध्यान दिनुपर्छ ।
विधान सम्मेलनमा बहस : फागुनको पहिलो साता विधान सम्मेलन गर्दै छौँ । विधान सम्मेलनको छलफल र बहसका लागि एउटा राम्रो वातावरण यो अभियानले बनाएको छ । विधान सम्मेलनका लागि मस्यौदा समिति बनेको छ । त्यसले केही दिनभित्र आफ्नो प्रतिवेदन बुझाउँछ । त्यो प्रतिवेदन वडा तहसम्मै पुर्याएर राय सल्लाह लिइन्छ । विधान सम्मेलनका लागि बहस थालनी गर्छौँ । विधान सम्मेलनसम्म जाँदा बहस हुन्छ । त्यसपछि विशेष महाधिवेशनतर्फ जान्छौँ ।
युगअनुसारको पार्टी : विधि, प्रक्रिया, पद्धति र मापदण्डलाई मूर्तरूप दिँदै ‘सिस्टम’ बसाल्नुपर्छ । विचारका साथै विधि पनि वैज्ञानिक हुनुपर्छ । तत्कालीन परिस्थितिको पनि राम्रो विश्लेषण गरेर संश्लेषणसहित अगाडि बढ्नुपर्छ । कार्यनीति रूपमा ठोस, मूर्त र रणनीतिको सेवा गर्ने किसिमको हुनुपर्छ । रणनीतिक उद्देश्य र कार्यनीति स्पष्ट हुनुपर्छ । राजनीतिक रूपमा समाजवादको आधार तयार पार्नैपर्छ । किनकि, यो संविधानमै उल्लेख भएको छ । प्रस्तावनामै लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद भनिएको छ । प्रारम्भमा समाजवादउन्मुख राज्य व्यवस्था भनिएको छ । त्यसलाई मूर्तता दिँदै लैजानुपर्छ । सामाजिक न्यायसहितको वैज्ञानिक समाजवाद भन्नु उचित हुन्छ ।
समाजवादमा रोजगारी सिर्जना गर्ने, गरिबी हटाउने, जनताको जीवनस्तर उठाउने, सामूहिक प्रगति गर्ने नै हो । जति नै कुरा गरे पनि आर्थिक विकास नभई जनताले विकासको अनुभूति गर्न पाउँदैनन् । आर्थिक विकासका लागि क्रमभंग गरेर नयाँतिर जानुपर्छ । बजेट निर्माणको ढाँचा पनि बदल्नुपर्छ । आधुनिकीकरण गर्नुपर्छ । त्यसका साथै विकासको मोडल पनि बदल्नुपर्छ । असार लागेपछि खर्बौंको बिल बनाउने संस्कारमा अमूल परिवर्तन गर्नुपर्छ ।
विधान सम्मेलनले वामपन्थी एकीकरणका लागि पनि आधार तयार पार्छ । मुख्यतः समग्र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ । जनताको चाहना पनि त्यही छ । पूर्वमाओवादी घटकबाट एकता प्रक्रिया सुरु गरेर पहिला जोगाउन नसकिएको कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य, अपरिहार्य छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालको हल गर्नका लागि कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प छैन ।
(सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता हुन्)